प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

उपसभामुखको निर्वाचन माघ ७ मा

अनिल क्षेत्री
Read Time = 21 mins

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित हुनुभएको हो । घिमिरेको प्रस्तावकमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो । न्यौपानेको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो । प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत प¥यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्‍यो ।

घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी चार सांसद उभिएका थिए ।

नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादी १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार र राष्ट्रिय जनमोर्चाका एक सांसद उभिएका थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १३८ मत कटेकाले प्रतिनिधिसभाको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नुभएको हो । ‘हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ ।’ सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गर्नुभएको थियो ।

घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नुहुनेछ । नवनिर्वाचित घिमिरे नेकपा एमालेको तर्फबाट झापा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

घिमिरे नवौँ सभामुख
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौँ सभामुख बन्नुभएको छ । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख हुनुभएको थियो । २०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रूपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख हुनुभएको थियो ।

नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनुभएको थियो । एमाले स्थायी कमिटीका सदस्यसमेत रहनुभएका घिमिरे प्रतिनिधिसभा सदस्य निर्वाचन लडेको पहिलो पटकमै सफलता हात पार्नुभएको थियो भने पहिलो पटकमै सभामुख बन्न सफल हुनुभयो ।

सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछु : सभामुख घिमिरे
नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भूमिकामा आफू कार्यसम्पादनमा लाग्ने दाबी गर्नुभएको हो । विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएका घिमिरेले भन्नुभयो, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरूको कामबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाउन लाग्नेछु ।’

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ । सभामुख पदमा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिनुभएको हो ।

राष्ट्रपतिमा समझदारी बनाउने कोसिस जारी रहन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिबारे सामझदारीको कोसिस भइरहेको बताउनुभएको छ । बिहीबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरू एकै ठाउँमा उभिएको बताउँदै भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’ राष्ट्रपतिमा चाहिँ के हुन्छ भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौँ ।’

प्रणालीमा बाँधिनुलाई पिँजडा ठान्नु अशुभको संकेत : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिँजडा ठान्नु अशुभको संकेत भएको टिप्पणी गर्नुभएको छ । बिहीबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने तर कांग्रेसले सरकारको समर्थन गर्ने र सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको टिप्पणी गर्दै भन्नुभयो, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्नु नै अशुभको संकेत हो ।’ संसद् बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिँजडामा राखेको आरोप लगाउनुभएको थियो । अध्यक्ष ओलीले भने संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउनेसमेत जानकारी दिनुभयो । सत्ता साझेदार दलहरूबीच भएको सहमति पनि त्यही भएको जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्न खोजेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाउनुभएको थियो । महामन्त्री शर्माले भन्नुभयो, ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाऊँ भन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’

सांसद राउतको प्रश्न : मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?
जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको टिप्पणी गर्नुभएको हो । मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै राउतले भन्नुभयो, ‘कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरू एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’ अध्यक्ष राउतले मधेश आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा संसद्मा मौन धारणसमेत गराउनुभएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीलाई किन दुःख लाग्यो ? निधि
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताउनुभएको छ । सभामुखको निर्वाचनका क्रममा भएको छलफलमा भाग लिँदै कांग्रेस पूर्वउपसभापतिसमेत रहनुभएका निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्पष्ट पार्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बयलगाढामा चढेर अमेरिका पुगिँदैन, संघीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै निधिले भन्नुभयो, ‘संघीयता, गणतन्त्र त खतरामा पर्ने होइन ? त्यस्तो नहोस् भनेर आफूहरूले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लाग्यो । आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नुपर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’

चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्वीर असाध्यै डरलाग्दो देखिएको समेत केसीको टिप्पणी छ । अध्यक्ष केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भन्नुभयो, ‘सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ? सत्ताका लागि इमानजमानको कुरा पनि नहुने, जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने ?’

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न सुवालको माग
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो पार्टी आफ्नो दल भएको जिकिर गर्दै भन्नुभयो, ‘कानुनी व्यवस्थाअनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिम शैलीको संसदीय व्यवस्था समाप्त भयो, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी छ ।’

गृहमन्त्रीलाई कांग्रेस सांसद खतिवडाको सवाल
हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीतर्फ लक्षित गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाउनुभएको छ । बिहीबारको प्रतिनिधिसभामा सभामुखको निर्वाचन प्रक्रिया सुरु हुनुअघि कोइरीले मतदानमा भाग लिन पाउने वा नपाउने निर्णय गर्न गृहमन्त्रीलाई आग्रह गर्दै सांसद खतिवडाले भन्नुभयो, ‘सभामुखको निर्वाचन हुने बेलामा यस संसद्मा हत्याको अभियोग लागेका संसदहरू पनि भित्र छन् भन्ने सुनिन आएको छ । म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु, हामी चिन्दैनौँ उहाँलाई, यहाँ हुनुहुन्छ कि हुनुहुन्न । यदि हुनुहुन्छ भने उहाँको मतदान प्रक्रियामा भाग लिन पाउने नपाउने त्यो निर्णय गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छौँ ।’

कोइरीलाई पक्राउ गर्न यसअघि नै गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएको समाचार सार्वजनिक भए पनि सांसद कोइरी प्रक्राउ परेका छैनन् ।

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ : विधि र पद्धतिभन्दा बाहिर जादैनौँ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निक्र्योल गरेर मात्र बैठक चलाउन माग गर्नुभएको थियो । सभामुखले यसबारे कुनै रुलिङ नगरे पनि सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रूपमा संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘विधि र पद्धतिभन्दा गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने विश्वास लिएको छु ।’

विमान दुर्घटनाको विषय संसद्को कार्यसूचीमा नपरेको प्रति कांग्रेसको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे संसद् बैठकको कार्यसूचीमा उल्लेख नगरिएको भन्दै आपत्ति जनाएको छ । विमान दुर्घटनापछि बसेको पहिलो बैठकमा आधिकारिक रूपमा कुनै जानकारी गराउने कार्यसूची उल्लेख नगरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । प्रतिनिधिसभा बैठकमा विशेष समय माग्दै कांग्रेस सांसद रमेश लेखकले सरकार पीडित परिवारप्रति उदासीन र निरपेक्ष हुन नसक्ने भन्दै लेखकले भन्नुभयो, ‘तर,आधिकारिक थलो भएको कारणले संसद्मा जानकारी होला भन्ने मैले सोचेको थिएँ । आजको कार्यसूचीमा यो छैन । आजका कार्यसूचीलाई स्थगन गरेर भए पनि यो बारेमा सरकारले सदनलाई जानकारी गराउनपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?