कांग्रेसको चार महिनामा चार गल्ती : ‘विनाशकाले विपरीत बुद्धिः’

Read Time = 11 mins

✍️ प्रा.पुरुषोत्तम दाहाल

नेपाली कांग्रेसले चार महिनामा चारओटा अत्यन्त गलत र सिद्धान्तहीन निर्णय लिएको छ । अर्थात् यी निर्णयहरूले कांग्रेस नेतृत्वमा बस्ने पदाधिकारीसहित तथाकथित प्रभावशालीहरू ‘सबैको धोती कट्टु’समेत खोलिदिएको छ र निर्वस्त्र ती सबैलाई सडकमा पुर्‍याएको छ । अर्थात् ‘विनाशकाले विपरीत बुद्धि’ आजको कांंग्रेस नेतृत्वको आचरण, व्यवहार र रणनीति सिद्ध भएको छ । कांग्रेसको नेतृत्वमा पुगेकाहरू सबै आफूलाई शिवजी समान स्वयम्भू, सर्वज्ञाता ब्रम्हाजी र तारणहारण विष्णुको अवतार ठानिरहेका छन् । दुर्भाग्यवश कांग्रेस पार्टीको कुनै अर्को लोकतान्त्रिक विकल्पको अभावमा नेतृत्वमा पुगेकाहरूको अहंकार, अयोग्यता र असफलतालाई झेल्न लाखौँ सदस्यहरू र मतदाताहरू विवश छन् । तर, अब यो बाध्यता चिर्न कांग्रेसभित्रै रहेका समर्थ व्यक्तिहरूको प्रयत्न अनिवार्य भएको छ ।

(१) पहिलो गल्ती : संयुक्त चुनावी गठबन्धन
अवसरवादी लिस्नु हुने निश्चित हुँदाहुँदै पनि नेपाली कांग्रेसका नयाँ र पुराना सबै अनुहारहरूको लक्ष्य अन्तिम सत्य सत्ता नै भयो । कम्युनिष्ट पार्टीहरूको रुचि संसदीय पद्धतिलाई सशक्त, सबल बनाउनुमा छैन भन्ने सत्यबोध कांग्रेसले गर्न नै सकेन । उसले सिद्धान्तविरोधी अवसरवादी गठबन्धन गर्न पुग्यो । यसमा एकजना मात्रै होइन प्रत्यक्षतर्फ प्रदेश र संघमा उम्मेदार हुने सबै नै विजयको सपनामा चुर्लुम्म भए । परिणामस्वरूप कांग्रेसले संघीय संसद्का ७६ स्थान रिक्त राख्यो र समानुपातिकसमेत घटायो । अरू कारणहरू पनि छन् तीमाथि यसअघि धेरैपटक चर्चा भइसकेको छ । अवसरवादी गठबन्धनले जुन रूपमा पनि सत्ता पाउनुपर्ने सन्देश दिएको हुनाले माओवादी पार्टीले गठबन्धन परिवर्तन गर्‍यो जसलाई राजनीतक बेइमानी मानिए पनि अनुचित भन्न सकिँदैन । एमालेका लागि माओवादी कांग्रेस गठबन्धन तोड्नु अनिवार्य थियो । उसले प्रतिगमनको आरोपदेखि अनेक अराजक काण्डहरू र संसद्को विघटनलाई सही थिए भनेर प्रमाणित गर्न गठबन्धन नतोडी भएको थिएन । यस अर्थमा एमाले सही छ । अर्थात् पछिल्लो चरणमा भएको एमाले र माओवादी गठबन्धन रणनीतिक रूपमा सफल छ । एमाले माआवादीे गठबन्धनले राजावादी, मधेशवादी, जातिवादी, सबैलाई आफ्नो अंंकपासमा आबद्ध गर्नु रणनीतिक सफलताको उत्कर्ष नै हो । उनीहरूको रणनीतिक सफलता नेपाली कांग्रेसको चरम असफलता सिद्ध भएको छ । यसरी हेर्दा वर्तमान नेतृत्वले नेपाली कांग्रेसलाई रणनीतिक विसर्जन र विघटनमा पुर्‍याउन अन्तिम कसरत गरिरहेको स्पष्ट छ ।

(२) दोस्रो गल्ती : गठबन्धन जोगाउन असफल
सत्ता नै अन्तिम सत्य हो भन्दै सिद्धान्तविहीन गठबन्धन गरेपछि प्राप्त सफलतालाई जोगाउन कांग्रेसले सकेन । ‘मेरै गोरुको बाह्रै टक्का’ जस्तो गरी सहयोगी दलको भूमिकालाई अवमूल्यन गरेपछि गठबन्धन टुटेको हो भन्ने जगजाहेर छ । पहिलो अवधिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री पदमा सहमति गरेको भए कांग्रेसले राष्ट्रपति, सभामुख र कमसेकम चारओटा प्रदेशका मुख्यमन्त्री हात लगाउने थियो । अनेक मन्त्रीहरू हुने थिए र नेतृत्व विकासको अर्को खुड्किलो तयार हुने थियो । तर, ‘गाँठ भी गुमाना वेकुफ भी होना’ भनेझैँ कांग्रेसको अवस्था भयो । अहिले ‘सर्वस्व गुमेको जुवाडे’ जस्तो देखिन्छ कांग्रेसको अवस्था । स्थापित गठबन्धन तोड्न भएभरको बलका साथ रणनीतिक खेलमा सक्रिय एमाले, जसरी पनि सत्ता लिने प्रचण्ड अडान, कांग्रेस विरुद्धको तथाकथित देशभक्त प्रगतिशील गठबन्धका पक्षमा निरन्तर रहेका सानाठूला स्वार्थहरूको सूक्ष्म समीक्षा गर्ने कांग्रेसमा कोही पनि भएन । केहीले दिएका उचित सुझावहरूलाई कांग्रेसका स्वयम्भू पदाधिकारी नामका शीर्षहरूले आफ्नो अकर्मण्य अहंकारको आगोमा यसै भष्मीभूत गराए ।

(३) तेस्रो गल्ती : सरकारलाई विश्वासको मत
बलियो गठबन्धन सरकारका पक्षमा पूर्ण बहुमत पुगेपछि नेपाली कांग्रेसको समर्थन प्रधानमन्त्रीलाई आवश्यक थिएन । यसका विपरीत ‘मान न मान मै तेरा मेहमान’ शैलीमा कांग्रेसले प्रचण्डलाई समर्थन दियो । किन दियो कुनै तर्कपूर्ण आधार देखिँदैन । यद्यपि, विगतका अनेक नजिरहरू छन् र त्यो लोकतन्त्रको मर्यादाअनुकूल हो भनेर सिद्ध गर्न सकिन्छ । तर, अतिरिक्त बोझ जस्तो लाग्ने गरी प्रचण्डलाई समर्थनको भारी बोकाउनुपर्ने कुनै उचित कारण कांग्रेससँग छैन । पार्टीको बैठकमा असहमति जनाउने केही उत्साही तर आफैँ अहंकारको सगरमाथामा बस्नेहरूले पनि बंगालको खाडीमा हामफाले झैँ प्रचण्डका पक्षमा मत दिन पुगेको लाचार दृश्य सबैका आँखासामु यथावत् छ । जबकि सरकारमा सामेल नहुने भएको अवस्थामा विपक्षको स्थानमा रणनीतिक रूपले अडिग रहनुपर्ने कांग्रेसको कार्यनीति हुनुपर्ने थियो । मूर्खताको यो चरम उदाहरण हो र इतिहासमा जसले जुन रूपमा फूलबुट्टा भरे पनि लच्छेदार शब्दहरूको जालोमा कैद गरे पनि पूर्ण बहुमतको सरकारलाई घोसेमुन्टो लगाउँदै मत दिनुले कांग्रेस अवशान निकट छ भन्ने संकेत दिएको छ ।

(४) चौथो गल्ती : सभामुखमा प्रतिस्पर्धा
सरकारको प्रमुखले आफ्नो पार्टीको समेत पक्षपोषण गर्ने भएको हुनाले उसको भूमिका तटस्थ, निष्पक्ष हुँदैन र मानिँदैन पनि । तर, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति जस्ता राजनीतक पदहरू भने निष्पक्ष, तटस्थ भूमिकाका लागि हुनुपर्छ । राजनीतक दलबाट निर्वाचित भए पनि सभामुखको पक्ष रहँदैन । यद्यपि, संसदीय प्रणालीमा सत्ता सरकार पक्षको संसद् विपक्षको भन्ने प्रचलन छ । नेपालको संविधानले पनि यो प्रचलनलाई सम्मान गरेको छ । व्यवहारमा राष्ट्रपतिदेखि सभामुखहरू कति निष्पक्ष हुनसके त्यो अर्को विचारणीय छ । तर, कमसेकम सभामुख वा राष्ट्रपतिमा प्रतिस्पर्धा हुन उचित हुँदैन । त्यस्तो प्रतिस्पर्धाले राष्ट्रपति वा सभामुख समेतलाई विपक्षी दलको वा सत्तारूढ दलको कार्यकर्ता समान बनाउने खतरा रहन्छ । लोकतान्त्रिक संस्कृतिका लागि यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण हुन्छ । कांग्रेसले आफ्नो पक्ष अल्पमतमा र बहुमत विपक्षमा छ भन्ने थाहा पाउँदा पाउँदै किन सभामुखमा प्रतिस्पर्धा गर्‍यो ? यो प्रश्नले कांग्रेसका निर्णायक पदाधिकारीहरूलाई मूर्खहरूको झुण्डमा परिणत गरेको छ ।

प्रतिपक्षमा देखिनुपर्नेमा सत्तालाई समर्थन गर्ने र सर्वसम्मत गर्नुपर्ने स्थानमा विपक्षमा उभिने उल्टो मति कांग्रेसलाई कसले र किन दियो ? आश्चर्यको विषय भएको छ । मलाई यसबेला यौटा नीति वचनको स्मरण भइरहेको छ । यो नीतवचन खास व्यक्तिप्रति लक्ष्यित नभएको हुनाले यसलाई अन्यथा नमानी प्रवृत्ति र प्रसंगका रूपमा बुझिदिनु हुनेछ भन्ने मेरो विश्वास छ ।

दुष्टा भार्या शठम् मित्रम्
भृत्यश्चोत्तरदायकः
ससर्पे च गृहे वासो
मृत्युरेव न शंसय :
अर्थात् : जसको घरमा दुष्ट स्वभावकी गृहिणी छन्, जसका असाध्य मूर्ख साथी छन्, जसको घरका सहयोगी मुखाले, छन् र जसको घरमा सर्पको बास हुन्छ त्यसको मृत्यु निश्चित हुनेछ । यसमा कुनै शंका गरिरहनु पर्दैन । कांग्रेसको नेतृत्वमा सायद यी सबै वा केही लक्षण छन् भन्ने अनुमान गर्न माथिका चारोटा गल्तीहरूले नै प्रमाणित गर्दछन् । तर, यी गल्तीका लागि कांग्रेसको एकजना मात्रै होइन निर्णयमा रहेका सबै पदाधिकारीहरू नै जिम्मेवार छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhattarai Bandhu
Bhattarai Bandhu
2023-01-20 8:40 am

साधुवाद , पुरूजी ।
कंग्रेसकेा बारेमा चिन्तन गर्दा यहाले पर्स्तुत गर्नु भएकेा नीति श्लेाक अक्षरश: सत्य घटित भएकेा लाग्छ । यथास्थितिमा कंग्रेसलाइ राजनीतिक भन्न मिल्ने ठाउ छैन । निर्वस्त्र भएकेा सांगठनिक नेतृत्वले प्रजातंत्रका कुरा गर्नु शेाभनीय हुन सक्दैन । स्वार्थ, शक्ति र पदका लागि निर्लिप्त नेतृत्व कलंक हेा । कंग्रेस गफाडीहरूकेा मञ्च हेाइन भने भेन्टिलेटरमा पुगेकेा संगठनलाइ संजीवनी दिने सशक्त पहल अपरिहार्य देखियेा । युगनायक नेताहरू , लाखैां कार्यकर्ताकेा त्याग वलीदानर समर्पण माथि खेलबाड गर्नु अक्षम्य अपराध हेा । अन्यथा नेका शैलजाले 2051 पछिका गतिविधि देखेर निष्कर्ष निकाले जस्तै ” विसर्जन” देशकेा हितमा हुने लाग्छ । सटिक र यथार्थ टिप्पणीका लागि विद्वान लेखक पुरूजीलाइ सहश्रकेाटी धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?