असान्दर्भिक कम्युनिष्ट विचारधारा निरसिलो कांग्रेस

Read Time = 15 mins

✍️ इन्द्रबहादुर बराल

नेपाली राजनीतिमा जति-जति समय बित्दैछ त्यति-त्यति नयाँ र अनौठो लाग्ने अभ्यास हुँदै गएका छन् । मूलतः राजनीति सैद्धान्तिक र वैचारिक दृष्टिकोणबाट चल्ने चलाउने विषय हो । त्यसैले कम्युनिष्टहरू माक्र्सवादका ठूला-ठूला दर्शनका ठेली पढ्ने र त्यसको प्रयोग गर्ने तयारीमा २००६ सालदेखि नै लागेको इतिहास ताजै छ । त्यही क्रममा नेपालका कम्युनिष्टहरू हिंसात्मक र शान्तिपूर्ण आन्दोलनमा संगठित रूपमा कम्युनिष्ट व्यवस्था स्थापनार्थ सक्रिय भएको पाइन्छ । उता प्रजातन्त्रवादीहरूले पनि २०१७ सालमा अपहरित प्रजातन्त्रको पुनथ्र्थापनाको आन्दोलनमा सशस्त्र क्रान्तिको समेत सूक्ष्म प्रयास भए पनि अन्ततः शान्तिपूर्ण बाटो नै समाते ।

राजा महेन्द्रले आफ्नै माटो सुहाउँदो निर्दलीय व्यवस्था लागू गर्दै जनताका आधारभूत मौलिक अधिकारलाई कुण्ठित गरे । त्यसपछिका दिनहरू प्रजातन्त्रवादी र कम्युनिष्टहरूका लागि अत्यन्त कठिन समयहरूको सामना गर्न बाध्य हुनुपर्ने खालका भए । उनीहरूको सामु दुईवटा विकल्प थिए कि त पञ्चायत व्यवस्थालाई स्वीकार्दै आत्मसमर्पण गर्नु कि त्यो व्यवस्थाको विरुद्ध विद्रोह । राजा महेन्द्रको सैनिक ‘कू’ को कदमपछि पार्टीहरूमा ठूलो अन्यौल, सन्नाटा र अनिश्चितताको स्थिति सिर्जना भयो । राजनीतिक सुझबुझ गतिशील नेतृत्वहरू नजरबन्दमा परेपछि प्रजातान्त्रिक शक्ति र पार्टीहरू किं कर्तव्य विमुढ हुन पुगे ।

अहिलेको राजनीतिक परिदृश्यलाई सूक्ष्मरूपमा केलाएर हेर्दा देशको राजनीतिको मूल प्रवाहको नेतृत्व गरेका दुई मुख्य पार्टी कांग्र्रेस र कम्युनिष्टहरू बहुमतमा भए पनि व्यवहारमा प्रतिरक्षात्मक स्थितिमा छन् । उनीहरू प्रमुख राजनीतिक शक्तिमा देखिनु त प्राविधिक कुरामात्रै हो भन्दा अन्यथा मान्नु पर्दैन ।

यद्यपि नजरबन्दबाट जोगिएका नेताहरू विद्रोहको धिपधिप बत्ती जेनतेन जोगाइराखे पनि प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनले खासै गति समात्न सकेको थिएन । कम्युनिष्ट र कांग्रेसभित्र पनि विद्रोहको स्वरूप बारे एकरूपकता थिएन । बडो अलमलका बीच समय गुज्रिराखेको थियो । कांग्रेसका संस्थापक नेता बीपी कोइराला आफ्ना सहकर्मी गणेशमानका साथ भारतको निर्वासित जीवन परित्याग गरी स्वदेश फर्केपछि अलिकति राजनीतिक गतिविधि चल्न-चल्बलाउन थाल्यो । नेता र कार्यकर्तामा आशाको त्यान्द्रो पलाउन थालेको महसुस हुँदै गएको थियो ।

बीपीको स्वदेश आगमनले पूरै मुलुकमा सनसनीपूर्ण ढंगले कौतुहलता फैलिरहेको थियो । कारण बीपीमाथि देशद्रोहका सात–सातवटा मुद्दा अदालतमा थिए । तत्कालको कानुन अनुसार कुनै एउटा मुद्दा हार्दा उनलाई मृत्युदण्ड हुन सक्ने स्थिति थियो । त्यसैले पनि खुला रूपमा बहस, छलफल तथा चर्चा नभए पनि भित्रभित्रै राजनीतिक बृत्तमा निकै उत्सुकता, चिन्ता र चासोको विषय बनेको थियो । अझै भन्ने हो भने राजतन्त्रका लागि कांग्रेसभन्दा कम्युनिष्ट झनै प्रमुख दुश्मनका रूपमा देखापरेका थिए । तथापि राजाका लागि संवैधानिक राजतन्त्र मान्ने कांग्र्रेस कम्युनिष्टभन्दा पनि खतरा हो कि जस्तो व्यवहार गरिरहेको अवस्था थियो जुन बुझिनसक्नु रहस्य थियो । त्यो इतिहासलाई संक्षिप्त चर्चा नगरी वर्तमानलाई हामीले ठीक ढंगले समीक्षा गर्न सक्तैनौँ । तसर्थ अप्रासंगिक जस्तै भए पनि विगतलाई कोट्याएर कांग्र्रेस र कम्युनिष्टलाई केलाउने बेला आएको छ ।

त्यसैले यहाँ ‘असान्दर्भिक कम्युनिष्ट विचारधारा र निरसिलो कांग्रेस शीर्षक’ मा कलम चलाउने जमर्को गरिएको हो । अहिलेको राजनीतिक परिदृश्यलाई सूक्ष्म रूपमा केलाएर हेर्दा देशको राजनीतिको मूल प्रवाहको नेतृत्व गरेका दुई मुख्य पार्टी कांग्रेस र कम्युनिष्टहरू देख्दा बहुमतमा भए पनि व्यवहारमा प्रतिरक्षात्मक स्थितिमा छन् । उनीहरू प्रमुख राजनीतिक शक्तिमा देखिनु त प्राविधिक कुरामात्रै हो भन्दा साह्रै अन्यथा मान्नु पर्दैन ।

यसो भनिरहँदा कतिलाई यो कुरा पाच्य हुन नसक्ला तर व्यवहारमा प्रष्टसँग देखिएको छ । गणतन्त्र स्थापनार्थ दश वर्षे सशस्त्र युद्ध गरेको नेकपा माओवादी आज यसरी यु टर्न गरेर यसरी राप्रपाको अगाडि घुँडा टेक्न पुगे । त्यसले नेपालमा राजतन्त्रको औचित्य र आवश्यकता रहेछ भन्ने तथ्य पुष्टि गर्दछ । यद्यपि पंक्तिकार आफैं आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिन हरेक पुस २७ गते मनाउँदै आएको व्यक्ति हो । तर, यहाँ प्रसंग कम्युनिष्ट दर्शन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिइएको सार्वजनिक विदाले धेरै शंकाउपशंका जन्माएको छ ।

कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसमा पनि माओवादी सशस्त्र युद्धबाट स्थापित नेताले राजतन्त्रीय व्यवस्थाका सूत्रधार पृथ्वीनारायण शाहको जन्मदिन मनाउन औपचारिक रूपमै सार्वजनिक बिदा दिनु आफैंमा रहस्यपूर्ण छ । यद्यपि सत्यतथ्य इतिहासलाई मेटाउन खोज्नु आफैंमा गलत थियो तर जुन अवस्थामा जसरी सशर्त पृथ्वीजयन्तीलाई कम्युनिष्ट नेतृत्व सरकारले स्वीकार ग¥यो यसलाई सामान्य रूपमा लिन सकिँदैन । प्रसंगबस पृथ्वीजयन्तीको अवसरमा बिदा दिइएको विषय कोट्याइए पनि अब नेपालमा कम्युनिष्ट विचारधाराको सान्दर्भिकता समाप्त भएको हो भन्दा कसैकाप्रति दूराग्रह राखेको भन्न मिल्दैन । कम्युनिष्ट दर्शनको मूल ध्येय थियो देशका उत्पादनका साधनहरू सामाजिकीकरण र राज्य नियन्त्रित अर्थतन्त्र । यी मुख्य दुई तत्व नहुनु भनेको कम्युनिष्ट पार्टी प्राण नभएको जीव जस्तै हो । यद्यपि पहिलो जनआन्दोलन २०४६/०४७ पछि तत्कालीन मालेका महासचिव मदन भण्डारीले आफ्नो पार्टीलाई प्रजातान्त्रीकरण गर्दै जनताको बहुदलीय जनवादमा रूपान्तरित गरेर कम्युनिष्टभित्रको जडसूत्रवादको घेराबाट मुक्त गराएको घटना हालको नेकपा एमालेका लागि अविस्मरणीय क्षण हो । नेकपा एमालेका लागि मात्र नभई सम्पूर्ण प्रजातन्त्रवादीका लागि झन महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने देखिन्छ । किनकि राजनीतिमा सत्ताभन्दा पद्धति ज्यादा महत्वपूर्ण हुन्छ ।

यस अर्थमा नेपालको कम्युनिष्टको मुलप्रबाहको नेतृत्व गरिरहेको नेकपा एमालेले वर्तमानमा विकसित राजनीतिक घटनाक्रमलाई अझै गम्भीरतापूर्वक पुनरविचार गर्नुपर्ने देखिन्छ । सत्ता केन्द्रित र प्रतिशोधको राजनीतिले आफ्ना मार्गदर्शन सिद्धान्तबाट च्युत भइन्छ भन्ने तथ्य बिर्सनु हुँदैन । यदि आफूलाई नसच्याउने हो भने निसन्देह कम्युनिष्ट सिद्धान्त, विचार, नीति, निष्ठा, आस्था र आदर्शको सान्दर्भिकता समाप्त भएर जान्छ । अतः सत्ता भन्ने कुरा आउँछ जान्छ एउटा सामान्य प्रक्रिया हो तर आफ्नो सिद्धान्त, नीति, निष्ठा, आस्था, आदर्श सकिएपछि पार्टी त निर्जीव प्राणी नहुने कुरै भएन । यसर्थ असान्दर्भिक कम्युनिष्ट विचारधाराको प्रसंग जोड्न खोजिएको हो जसले घचघच्याएर सही बाटो हिँड्न उत्प्रेरणा मिलोस् ।

आजको ताजा राजनीतिक क्षितिजमा सबैभन्दा बढी आलोचित नेपाली कांग्रेस र त्यस पार्टीका सभापति शेरबहादुर देउवा अग्रपंक्तिमा देखिएका छन् । गत मंसिर ४ मा सम्पन्न संघीय र प्रदेशसभाको निर्वाचन परिणामले सुविधाजनक बहुमत नपाए पनि संसद्मा ठूलो दल बनेको कांग्र्रेसले चलाखीपूर्ण खेल खेल्न नसकेको भनी यत्रतत्र सर्वत्र आलोचना भइरहेको छ । त्यसमा पनि पार्टी सभापति सबैभन्दा बढी तारो बनेका छन् । सत्ता त गयो-गयो प्रतिपक्षी भूमिका पनि रहेन भन्ने व्यापक चर्चा छ । झट्ट हेर्दा त्यो चर्चा स्वाभाविक जस्तो देखिन्छ । संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेकै प्रतिपक्ष हो तर आज सशक्त प्रतिपक्षको अभावमा कतै सरकार निरंकुश बन्ने त होइन भन्ने चिन्ता त्यत्तिकै छ ।

कांग्रेसले आफ्नो नीति, सिद्धान्त, निष्ठा, आस्था र आदर्शलाई जीवन्तता दिने हो भने निर्मम ढंगले आत्मसमीक्षा गर्नै पर्छ । यस विषयमा नेपालका ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले पनि निर्मम आत्मसमीक्षा गर्नै पर्छ ।

नेमकिपा र जनमोर्चाले के प्रमुख प्रतिपक्षको भूमिका निर्बाह गर्न सक्लान त ? भन्ने चर्चा पनि सुनिन थालेको छ । यस अर्थमा नेपाली कांग्रेस पनि आफ्नो कर्तव्यपथबाट विमुख हुँदै गएको अनुभूति हुन थालेको छ । यद्यपि राजनीतिक, सैद्धान्तिक र वैचारिक दृष्टिकोणबाट जतिसुकै खरो सावित भए पनि शासन सत्तामा हुँदा होस् वा प्रतिपक्ष रहँदा नेपाली मनहरू जित्न नसक्नु नेतृत्वको कमजोरी हो । अब कांग्रेस कुनै रस नभएको फल जस्तै निरसिलो हुँदै गएको छ । अर्कातिर विगतमा आफूले गरेका सकारात्मक कामको स्वामित्वसमेत लिन नसकेको अवस्थाबाट गुज्रेको कांग्रेस इतिहासको दोसाँधमा ठिंग उभिएको छ ।

कांग्रेसले आफ्नो नीति, सिद्धान्त, निष्ठा, आस्था र आदर्शलाई जीवन्तता दिने हो भने निर्मम ढंगले आत्मसमीक्षा गर्नै पर्छ । यस विषयमा नेपालका ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीले पनि निर्मम आत्मसमीक्षा गर्नै पर्छ । अन्यथा हिजो प्रतिगामी, यथास्थितिवादी भनेर सरापिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र हालै उदाय भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सामु नतमष्तक भएर बस्नुको विकल्प छैन । समय छ कांग्रे्रेस कम्युनिष्ट सच्चिएर आओ । होइन भने अब कोही पर्खेर बस्ने छैनन् । राप्रपा पनि पुनरोदय भएर आएको छ ।

त्यस्तै रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा छोटो समयमा झन् सशक्त भएर उदाएको छ जहाँ धेरै सुशिक्षित युवाहरूको आकर्षण देखिएको छ । तसर्थ राप्रपाभन्दा पनि रास्वपा अरू चुनौतीको रूपमा देखापरेको तथ्य जगजाहेर छ । यसर्थ समय र परिस्थिति ठीक ढंगले मूल्यांकन गर्न नसके कम्युनिष्ट विचारधारा त यसै पनि असान्दर्भिक भइसकेको छ भने कांग्रेस पनि रसविना फल हुने निश्चित छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?