भोजपुरका दर्ता बिना संचालित दुई क्रसर बन्द

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सरकारी मापदण्ड विपरीत सञ्चालनमा रहेका भोजपुरका दुई वटा क्रसर उद्योग बन्द गरिएको छ । दर्ता नभएका तथा नवीकरण नगरिएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिएको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई दर्ता र नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिए पछि जिल्लामा सञ्चालनमा रहेका क्रसर बन्द हुन थालेका हुन । मापदण्ड विपरितका भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर ६, लेगुवा र भोजपुर नगरपालिका वडा नम्वर १२ पिखुवाखोला टक्सारमा रहेको क्रसर बन्द गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताउनुभयो ।

जिल्लामा ढुङ्गा, गिटी र बालुवा उत्खनन् विक्री तथा व्यवस्थापन दर्ता नभई संचालन गर्दै आएका थिए । क्रसर उद्योगको अनुगनम समेत गरेको स्थानीय प्रशासनले मापदण्ड पुरा भएपछि मात्र संचालनमा रहेका उद्योगहरु संचालनमा आउने दिने जनाएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित निकायले क्रसर उद्योगमा अनुगमन समेत गरेको छ । गृह मन्त्रालयले परिपत्र गर्दै जिल्ला भित्र प्रचलित कानुन विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई तत्काल बन्द गरी त्यसको विवरण गृहमा पठाउन निर्देशन भएकाले त्यसै बमोजिम उद्योग बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला भित्र संचालनमा रहेका योजनाहरुको निर्माणका लागि स्थापना गरिएका क्रसर उद्योगहरु बन्द हुदाँ निर्माण कार्य प्रभावित हुने देखिएको छ । क्रसर उद्योगहरु बन्द हुदाँ तोकिएको समयमा योजनाहरुको पुरा गर्न नसकिने भएकाले यस तर्फ पनि उचित निर्णय आउनु जरुरी रहेको निर्माण ब्यवसायीहरुको भनाई रहेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?