कर्णाली प्रदेश सरकार ढल्न लागे कांग्रेसले जोगाउँछ : जीवनबहादुर शाही

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताउनु भएको छ ।

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ , अहिले तपाइँसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भन्नुभयो, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिनु भएको थियो । मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाउनु भएको थियो । ती योजनाहरु सुन्दा आफू  ‘कन्फ्युज’ भएको नेता शाहीले टिप्पणी गर्नुभयो ।

‘म कन्फ्युज भइरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ,’ शाहीले भन्नुभयो, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विनाविभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान् ?’

आफूलाई विश्वासको मत दिन चाहना भए पनि संसदको बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताउनु यभो । ‘मलाइ विश्वासको मत दिन मन छ । तर, म बस्ने सिट अगाडी विपक्षी दल लेखिएको छ,’ शाहीले भन्नुभयो ।
-हेमन्त केसी 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?