भीर पाखाको सिस्नो शहरियाको भान्छामा मीठो परिकार बन्दै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins
A A- A+

म्याग्दी ।
‘हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा उल्लेख गरे झैंँ सिस्नो भन्ने बित्तिकै गरिबको खाना अर्थात् हेपिएको खाना भनेर बुझिन्थ्यो ।

‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिने गरिन्थ्यो । तर अब त्यो समय रहेन । पछिल्ला दिनमा सिस्नो धनीको भान्छादेखि पाँचतारे होटलको मेनुमा समेत समावेश भएपछि यसको महत्व र माग ह्वात्तै बढेको छ ।

म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलमा सम्म पुग्न थालेको छ ।

सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ ।
बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् ।

कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने सिस्नोलगायतका ग्रामीण उत्पादनहरु अहिले सहरबजारका धनीमानीको रोजाइँमा पर्न थालेका छन् ।

आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन् । उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् । गाउँमा उत्पादन भएको सिस्नोको पाउडर,सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, च्याउ, टुसा, मकैको आटो लगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको कालीपुलमा आग्र्यानिक उत्पादनको पसल संचालन गर्नुभएकी कमला पौडेलले बताउनु भयाे ।

गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन् ।

म्याग्दीका उद्यमीहरूले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडाै, पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ । सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीहरूको भनाइ छ ।

यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ । जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार ३०० किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो ।

साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो । बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडौं लगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले जानकारी दिनुभयाे ।
जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ । एक किलोग्राम पाउडरको मूल्य न्यूनतम रु ४ सय पर्छ ।
करेसाबासी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताउनु भयाे ।

वनस्पति विज्ञ चन्द्रमणी सापकोटाका अनुसार सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ । अंग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ । मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ ।

आर्युवैदिक चिकित्सक डा. जीवन शर्माका अनुसार सिस्नोमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ रहेका हुन्छन् । सिस्नोमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ । त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन मानिन्छ ।

नेपालका पाँचतारे होटेलका मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ । यसलाई संसारकै अति स्वस्थकर खानाको सूचीमा समेत राखिएको छ । देश बाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी हुने आर्युवेदिक चिकित्सकहरुको भनाइ छ ।

कसरी खाने सिस्नो?

सामान्यतयाः सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ ।

विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नो पकाइन्छ। यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।

सिस्नुको चिया पनि त्यत्तिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रिन–टीकै तरिकाले सेवन गरिन्छ । र, जुसको रुपमा पनि पिउन सकिन्छ ।

सिस्नोको फूलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण बोकेको सिस्नो

सिस्नोमा प्रशस्तै औषधीय गुण रहेको आर्युवेदिक चिकित्सकहरुको भनाइ छ । सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्नुका साथै मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुने चिकित्सक शर्माले बताउनु भयाे ।

उहाँका अनुसार उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पु¥याउँछ । प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्ने उहाँले बताउनु भयाे ।

त्यसैगरी छाला र कपालका लागि पनि सिस्नो निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पु¥याउँने र कपाल सिल्की बनाउन सहयोग गर्नुका साथै कपाल झर्नबाट रोक्ने गर्दछ । पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुनुका साथै शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि नियमित सिस्नोको सेवन गनु उपयुक्त हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?