पर्यटकलाई हलेसीबारे बुझाउन स्थानीय गाइड

Read Time = 7 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो नगरपालिकाभित्र पर्ने प्रसिद्ध त्रिधार्मिक तपोभूमि हलेसीको महिमा र महत्व बुझाउन स्थानीय गाइड तयार गरेको छ । यसअघिसम्म हलेसी मन्दिरलगायत नगरभित्रका धार्मिकस्थलबारेमा आ-आफ्नै व्याख्या हुँदै आएकोमा अब सत्य-तथ्यमा आधारित महत्व र महिमा बुझाउन स्थानीय गाइड तयार गरेको हो ।

नगरपालिकाले मंसिर ८ गते प्रकाशन गरेको सूचनाका आधारमा ११ वडाबाट ३३ जनाको आवेदन परेकोमा दुईजनाको प्रक्रिया नपुगेपछि ३१ जनालाई पुस २७ गतेदेखि माघ ४ गतेसम्म आठ दिन तालिम दिएर जनशक्ति तयार गरिएको नगरपालिकाले जनाएको छ । तालिम बुधबार हलेसी सूचना केन्द्रमा सम्पन्न भएको हो ।

नगरपालिकाको आयोजनामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं (नाथम)का विज्ञले प्रशिक्षार्थीलाई हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा सैद्धान्तिक र धार्मिक तथा पर्यटकीयस्थलमा लगेर प्रयोगात्मक तालिम प्रदान गरेका थिए ।

प्रशिक्षार्थीलाई नाथमका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संस्कृतविद् डा. लोकनाथ दुलाल, वरिष्ठ प्रशिक्षक सुभम पौडेल, बौद्ध धर्मगुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज राईले प्रशिक्षण दिनुभएको थियो ।

अब हलेसी घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकलाई यहाँका धार्मिक तथा पर्यटकीयस्थलबारे मनगढन्ते कुरा नसुनाई सत्य–तथ्यमात्रै सुनाइने तालिममा सहभागी प्रशिक्षार्थी आशिष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तालिमबाट प्राप्त ज्ञान चलायमान बनाउन सके रोजगारी पक्का छ । तालिमबाट प्राप्त प्रमाणपत्र सिरानीमुनि नराखौँ । यसलाई रोजगारीसँग जोडौँ ।’ सहभागीलाई फिल्डमै लगेर ऐतिहासिक तथ्यसँगै आवश्यक विषयवस्तुमाथि प्रशिक्षण गरिएको नाथमका वरिष्ठ प्रशिक्षक पौडेलले बताउनुभयो । उनीहरूलाई पर्यटकको सुरक्षा, चोटपटकबाट बच्ने उपाय, खानपान, सत्कारलगायत पर्यटकलाई सुरक्षित तरिकाले भ्रमण गराउने उपाय सिकाइएको उहाँको भनाइ छ । तालिमले हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलबारेमा हुने मनगढन्ते व्याख्याको अन्त्य हुने र स्थानीय गाइडबाट सत्य–तथ्य बुझ्दै पर्यटकले मजाले घुम्न र आनन्द लिन पाउने उपमेयर रमेशकुमार राउतले बताउनुभयो ।

तालिम प्राप्त स्थानीय गाइडलाई कार्यविधि निर्माण गरेर परिचालन गरिने मेयर विमला राईले बताउनुभयो । पर्यटकलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलको महत्वका विषयमा विभिन्न ढंगले वर्णन गर्ने गरेको पाइन्थ्यो । जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट नगरभित्रका नागरिकलाई तालिम दिएको मेयर राईको भनाइ छ । तालिममा सहभागी ३१ जनालाई नगरपालिकाले स्थानीय गाइडको कार्ड बनाइदिनेछ र उनीहरूको नाम, नम्बर, ठेगाना नगरपालिका र हलेसी सूचना केन्द्रको वेबसाइटमा राख्नेछ । तालिमले मुख्यतः रोजगारी सिर्जना गर्दै हलेसीको महिमा र महत्व बुझाउन र हलेसीको स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सघाउ पुग्ने मेयर राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पर्यटक आउँछन्, एक रात बस्छन्, हलेसी घुमेर फर्कन्छन् तर हामीसँग ११ वटै वडामा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल छन् । सोबारेमा सत्य-तथ्य बुझाउन सके कम्तीमा पर्यटक तीन÷चार दिन बस्नुहुन्छ । त्यसको फाइदा हामीलाई नै हो, त्यो काम अब तालिम प्राप्त स्थानीय गाइडले गर्नुपर्छ/गर्नुहुनेछ ।’

धार्मिक तथा सांस्कृतिकरूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा शिवलिंग, पापद्वार, कर्मद्वार, जन्मद्वार, धर्मद्वार, पार्वती थान, विष्णुलक्ष्मी, वासुकी नाग, महादेवगुफा, भैरवगुफा, बसाहागुफा, छिमे ताक्तेन छोलिङ गुम्बा, तुवाचुङ-जायजुङ, रक गार्डेन, ककनी मन्दिर, होलेसुङगढी, भुम्जुगढी, ताराखसे, खाम्तेलगढी, घोर्चु मंगलटार, गुप्तेश्वर महादेव, सप्तेश्वर महादेवलगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । हलेसीमा हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीले आ-आफ्नै तरिकाले पूजापाठ तथा आराधना गर्छन् । हिन्दू धर्मावलम्बीले पशुपतिनाथका रूपमा, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनीका रूपमा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा पूजाआजा गर्छन् । हलेसीमा नेपालबाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिकाबाट पर्यटक आउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?