निकुञ्जमा थप दुई गैँडा मारिए, ६ महिनामा १० वटा मरे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० दुर्लभ एक सिंगे गैँडा मरेका छन् ।

चालू आवको पहिलो ६ महिनामा मरेका १० मध्ये सात गैँडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दईसहित मरेका गैँडाको सङ्ख्या १० पुगेको हो ।

सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु-२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुबै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको थियो। अर्को अन्दाजी चार वर्षको बच्चा गैँडाको भने खाग सुरक्षित रहेको छ ।

तस्करले माउ गैँडालाई थापेको धरापमा परेर बच्चा गैँडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताउनुभयो । खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?