व्यवसायीद्वारा चार लेन सडक मर्मत

विवेक खड्का दाङ, संवाददाता
Read Time = 8 mins

दाङ । दाङको तुलसीपुरमा व्यवसायीहरूले उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको काम सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा आफ्नै लगानीमा उनीहरूले सडक किनारा एवं बीच-बीचमा परेका खाडलहरू पुर्न थालेका हुन् । तुलसीपुर-घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरूले पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन् । काम थाल्नुअघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए । खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्यांकन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका अभियन्ता पवनकुमार योगीले बताउनुभयो । यस क्षेत्रका कम्तीमा डेढ दर्जन बढी व्यवसायीले पाँच थान टिपर, एक थान रोलर र दुईवटा भ्याकुहोलोडर प्रयोग गरेर खाडल पुरिरहेका छन् ।

‘दैनिक यात्रा निकै कष्टकर भएकाले सामाजिक अभियानअन्तर्गत यो काम थालेका हौँ, सडक पूरै स्तरोन्नति नभएपछि यो मर्मतले केही महिनाका लागि यातायात सेवा केही सहज हुनेछ र दुर्घटना न्यूनीकरणमा पनि हाम्रो अभियानले सहयोग पुर्‍याउनेछ,’ अर्का युवा अभियन्ता कृष्ण खड्काले भन्नुभयो । उनीहरूले ग्राभेलबाहेकका सबै काम आफैंले आर्थिक व्यवस्थापन गरेर गरिरहेको बताएका छन् । उनीहरूले खाडल र फाटेका किनाराहरूमा ग्राभेलसँगै आवश्यकताअनुसार माटो र पानी हालेर रोलरले दबाउँदै सडकमा खाडल पुर्न थालेका छन् । बिहीबार तुलसीपुरको हात्तीखौवादेखि काम सुरु भएको छ । ती युवाहरूले तुलसीपुर उपमहानगरपालिकाको मज्गैसम्मका खाडलहरू पुर्ने योजना बनाएका छन् । त्यसका लागि कम्तीमा एक साता लाग्न सक्ने भन्दै सोही अवधिको ग्राभेल बोक्ने चलान पुर्जीको समेत अनुमति सम्बन्धित तहहरूबाट लिएका छन् ।

यसअघि जिल्ला समन्वय समितिको समन्वयमा बसेको बैठकमा चार लेन परियोजनाको निर्माण कम्पनीले पनि आफ्नो स्रोतसाधन लगाएर खाडल पुरे पनि अविरल वर्षाका कारण एक महिना पनि टिक्न सकेन । त्यो बेला पनि घोराही र तुलसीपुर उपमहानगरपालिकाले आ-आफ्नो पायक पर्ने क्षेत्रबाट नदीजन्य पदार्थ उठाउन अनुमति दिएका थिए ।

निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा कम्तीमा सात मिटर कालोपत्रे सडक पनि अहिले रहन सकेन । दुवै किनाराबाट फाट्दै अहिले मुस्किलले तीन मिटरमा खुम्चिएको छ । झरीमा पानी ओत लाग्ने सडक किनाराका प्रतीक्षालयहरू भत्काइएका छन् । गर्मीमा बस कुर्दा शीतल लिने रूखहरू काटिएका छन् । सडक किनाराका धरापमा परेका विद्युत्का पोलहरू ढल्ने प्रतीक्षामा छन् तर चार लेन सडक निर्माणको जिम्मा लिएको भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पेटी ठेकेदार फेरेको फे¥यै छ । सरकारबाट बिनाशर्त चारपटक म्याद थपिएको पनि छ तर काम गराउने सरकार निर्लज्ज भएर म्याद थप गरेको गर्‍यै छ ।

२८ दशमलब १९ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि नेपाल सरकार सडक विभाग मातहतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट मातहतमा काम हुने गरी घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म कतै चार लेन त कतै दुई लेन बनाउने गरी निर्माण सम्झौता भएको चार वर्ष नाघिसकेको छ । सुरुमा ३३ महिनामा काम सक्ने गरी परियोजनासँग निर्माण सम्झौता भएको होे । सन् २०१९ जनवरी २८ मा सुरुको सम्झौता भएको तर तीनपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा नौ प्रतिशतमात्रै भएको छ ।

तथ्यले सुरुमा यहीँकै अनुप पाण्डे, जनक डाँगी र जीवन रानालाई आधिकारिक प्रतिनिधिका रूपमा खटाएको थियो । उनीहरूबाट काम हुन नसकेपछि तथ्य इञ्जिनियरिङकै प्रबन्ध निर्देशक प्रवीण ब्रहृमदेव पाण्डे दाङमै आएर भिंग्रेली होटलको दक्षिणतर्फको चौरमा त्रिपाल टाँगी मञ्च बनाएरै त्यहीँबाट यी तीनैजनालाई हटाएर नयाँ प्रतिनिधि एकेन्द्र खड्कालाई नियुक्त गरेको पत्र परियोजना कार्यालयमा तथ्यले पठायो । एकेन्द्रबाट पनि काम शून्य प्रायः भएपछि विजय पाठकलाई नियुक्त गरेको उद्घोष गरियो । विजय पाठक प्रतिनिधि भइरहेका बेला नेपाल सरकार परियोजना कार्यालयले ठेक्का रद्दको सूचना निकालेपछि तथ्य इञ्जिनियरिङले श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक रोशन श्रेष्ठलाई प्रतिनिधिका रूपमा नियुक्त गरेको जानकारी दियो ।

स्थानीय सरकारको वशमा छैन
चार लेन स्तरोन्नतिको काम न त स्थानीय सरकारको वशमा छ, न त यहाँको डिभिजन सडक कार्यालयको नै । यही कारण स्थानीय सरकार र प्रदेश सरकारले पनि यो ठेक्काका सन्दर्भमा अर्थपूर्ण अभिव्यक्ति दिएका छैनन् । संघीय मातहतमा रहेको भारतीय सहयोगसँग जोडिएको यो परियोजना सञ्चालनमा ल्याउन संघीय सरकारले नै पहल गर्नुपर्ने स्थानीय सरकारका प्रमुखहरूले बताउँदै आएका छन् ।

‘यति ठूलो परियोजनालाई तोकिएको गुणस्तरमा हामीले आँक्न सक्दैनौँ, हामीले कामचलाउ मर्मत पनि बाध्य भएपछि मात्रै गर्ने हो,’ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भन्नुभयो । यसैगरी घोराही उपमहानगरपालिकाले पनि सडक चाँडै स्तरोन्नति गर्न आफूले प्रदेश र संघीय सरकारसम्मै आग्रह गरे पनि निर्माण कम्पनीले कामै गर्न नसकेको बताएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघीय परियोजनालाई समयमा सम्पन्न गर्न संघीय सरकार र संघीय सांसदहरूको भूमिका अपरिहार्य हुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?