राष्ट्रपतिको निर्वाचनमा गठबन्धन भत्काउने कांग्रेसको रणनीति कमजोर बन्दै, असमञ्जसमा माओवादी

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख पाइसकेपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पनि धेरैको चासो सुरु भएको छ । संविधानतः यही माघको २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ मा समापन हुँदैछ । कार्यकाल सकिनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा राष्ट्रिय सहमतिबाट अघि बढ्नुपर्ने बताउनुभएको थियो । तर, सभामुख र उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भएकाले सहमतिमै राष्ट्रपति चयन गर्ने बताउँदै आउनुभएको थियो । तर सभामुख र उपसभामुख निर्वाचनमा देखिएको दृश्यले सहमतिको संभावना क्षीण हुँदै गएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रपति एमालेलाई दिने सहमति भइसकेको छ । अहिले सत्ता गठबन्धनमा रहेका दलहरू एक ठाउँमा रहँदा राष्ट्रपतिमा सहज बहुमत पुग्छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहने राष्ट्रपति निर्वाचनमा मुलुकको तेस्रो र सत्तारुढ दल माओवादीको मत निर्णायक हुने देखिन्छ ।

वर्तमान सत्ता गठबन्धन तोड्ने मिसनमा रहेको कांग्रेसले आफ्ना सम्पूर्ण रणनीति राष्ट्रपति निर्वाचनका लागि केन्द्रित गरेको छ । सत्ताबाट बाहिर रहेका दललाई एकजुट बनाउँदै अगाडि बढेको कांग्रेसले सत्ता गठबन्धनबाट माओवादीको भोट तान्न सके राष्ट्रपति चुनाव जित्ने र गठबन्धन पनि टुट्ने आशा राखेको छ ।

ओली कांग्रेसप्रति आक्रामक हुनुभएको छ । उहाँले केही पाउने आशामा ढोक्सा नथाप्न संसद्बाटै चेतावनी दिइसक्नुभएको छ । सभामुखको निर्वाचनअघि प्रचण्डले ३ माघमा बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा त ओलीले मुखै फोरेर कांग्रेसले अनावश्यक खेल्न खोज्दा प्रतिपक्षका लागि पनि लायक नभएको टिप्पणी गर्नुभएको थियो । जसका कारण कांग्रेस नेता रमेश लेखकसँग विवाद नै भएको थियो ।

ओलीले राष्ट्रपतिको उम्मेदवार एमालेले उठाउने र त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने टिप्पणी गरिरहनुभएको छ । उता माओवादी केन्द्र भने एमालेलाई सभामुख र राष्ट्रपतिजस्ता महत्वपूर्ण र शक्तिशाली पदहरू दिँदा काम गर्न अप्ठ्यारो हुने भन्दै सकेसम्म राष्ट्रपति एमालेबाहिरबाट बनाउन खोजेको मनस्थितिमा छ । तर, त्यसो गर्दा भर्खर बनेको समीकरण भत्किँने डरले माओवादी पनि त्यस विकल्पमा जान असहज देखिएको छ ।

प्रधानमन्त्रीको परीक्षण राष्ट्रपतिको निर्वाचनमा हुन्छ : महत
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताउनुभएको छ । शनिबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद् विघटनलाई प्रमुखताका साथ उठाएको र उनकै संयोजनमा सभामुखलगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उहाँको दाबी छ । त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उहाँको तर्क छ । कांग्रेस प्रवक्ता डा. महत भने सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तीर्ण हुन नसकेको बताउनुभयो । ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ?,’ उहाँले भन्नुभएको छ, ‘सभामुख-उपसभामुखको परीक्षणमा उहाँहरू उत्तीर्ण हुनुभएको छैन । अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा परीक्षणको घडी छ ।’

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुन्छ : शर्मा

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिको निर्वाचनमा प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताउनुभएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता पक्षसँग स्पष्ट बहुमत भए पनि प्रतिपक्षसहितको सहमति भए राम्रो हुने बताउनुभएको हो । ‘सरकार र जुन गठबन्धन बनेको छ, त्यसको बीचमा एउटा छलफल, सहमति भएर प्रतिपक्षसहित पनि सहमति हुन्छ भने त्यो राम्रो हो,’ उहाँले भन्नुभयो, ‘भएन भने गठबन्धन दलभित्र नै सहमति बन्छ । किनभने गठबन्धनमा अहिले बहुमत छ । निर्वाचित बहुमतले गर्ने हो । सरकारमा भएका दलहरूले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनुहुन्छ ।’ उहाँले गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने र कांग्रेसको अपेक्षाबारे आफूलाई थाहा नभएको बताउनुभयो ।

‘अब केही दिनपछि एजेन्डा राष्ट्रपतिमा प्रवेश गर्छ । पार्टीहरूमा छलफल हुन्छ । सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ । छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ,’ उहाँले भन्नुभयोे, ‘गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने स्वतः स्पष्ट छ । कांग्रेसको अपेक्षाको कुरा मलाई थाहा छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?