मोफसलकी समर्पित साहित्यकार : कल्पना

हिमालय टाइम्स
Read Time = 24 mins

✍️ विनोद दाहाल वत्स

कल्पना खरेल साहित्यकार हुनुहुन्छ । उहाँ नेपालगञ्जमा बसेर साहित्य सिर्जना गर्नुहुन्छ । प्रकाशनका क्रममा भने राजधानी काठमाडौं आउजाउ गरिरहनुहुन्छ । एक दिन उहाँसँग मेरो भेट भयो काठमाडौंको चाबहिलस्थित ए-वान रेष्टुरेन्टमा । साहित्यकार जीवन सुवेदी, आध्यात्मिक साहित्यकार तिलकप्रसाद लुइँटेल, म र कल्पना खरेल चारजनाले त्यहाँ बसेर कफी खायौँ अनि निकै बेरसम्म साहित्यका बारेमा कुराकानी गर्‍यौँ । जाडो महिनाको पारिलो घामसँगै जीवन सरले किनेर ल्याउनुभएका सुन्तला पनि खायौँ । गत मंसिर महिनाको बीचतिरको कुरा हो यो । कल्पना खरेलसँगको यो मेरो पहिलो भेट हो ।

अनि त्यसको केही दिनपछि उहाँको सिनामङ्गलस्थित कोठामा गएर मैले उहाँसँग केही कुराकानी गरेँ । तातोपानी, चिया, मकै भटमास खाँदै त्यहाँ गरेको कुराकानीबाट मोफसलका साहित्यकारहरू पनि साहित्यमै संलग्न भएर मरिमेटेर लागेका छन् भन्ने जानकारी पाइयो । यस्ता साहित्यकारहरूको संख्या धेरै छ र त्यसमध्येमै पर्नु हुन्छ खरेल पनि । कल्पना खरेल २०३० साल मंसिर २० गते पिता होमप्रसाद खरेल र माता अम्बिका खरेलकी सुपुत्रीका रूपमा चितवनको टाँडीमा जन्मिनु भएको हो । उहाँका दाजु केशव खरेल, भाइहरू किशोर खरेल र अशोक खरेल तथा दिदीहरू विमला केसी र कमला रिजाल हुनुहुन्छ ।

शङ्कर व्यापार-व्यवसायमा संलग्न हुनुहुन्थ्यो । उहाँहरूको वैवाहिक जीवन सुखमय थियो । उहाँहरूका दुईजना छोरीहरू भए तर उहाँका श्रीमान् शङ्कर मैनालीको दुर्घटनामा परेर असामयिक निधन भयो । उहाँका दुई छोरीहरू हुनुहुन्छ कामना मैनाली र करिश्मा मैनाली ।

मानिस घुमन्ते प्राणी त हो नै । विभिन्न अवसरको खोजी, बाध्यता वा चाहना जे भए पनि एक ठाउँबाट अर्कै ठाउँमा सरीसरी बस्ने गर्छ मानिस । त्यसैले त काभ्रेपलाञ्चोक पुख्र्यौली भएकी कल्पना चितवन हुँदै बर्दिया पुग्नुभयो । पञ्चायत कालमा उहाँका काका भैरब खरेल प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँहरू बसेको बस्ती डुबानमा प¥यो । सरकारले सट्टा जमिन दिएर बर्दिया पठायो र उहाँको परिवार बस्तीका अरू सबै परिवारसहित बर्दियाको मुनाल बस्ती पुग्यो । त्यसपछि पनि उहाँहरू नेपालगञ्ज र गुलरिया दुवै ठाउँमा बस्तै आइरहनु भएको छ ।

कल्पनाको २०४५ साल असारमा बर्दियाका शङ्कर मैनालीसँग विवाह भयो । उहाँको श्रीमान् शङ्कर मैनाली पनि काभ्रेपलाञ्चोक जिल्लाको कानपुर पुख्र्यौली थलो भएका व्यक्ति हुनुहुन्थ्यो । कानपुरमा अझैसम्म पनि मैनालीहरूकै संख्या अधिक छ । नेपालका प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली जो आदर्शोन्मुख यथार्थवादी सामाजिक कथाकार मानिनुहुन्छ उहाँ पिन त्यही कानपुरको हुनुहुन्थ्यो । त्यही ठाउँ हो कल्पनाका श्रीमान् मैनालीको पुख्र्यौली थलो पनि । कल्पन र शङ्करको पुख्र्यौली जिल्ला एउटै र घरवास भएको जिल्ला पनि एउटै थियो । कल्पनाको पितापुर्खाको थलो काभ्रेको कोशीपारि नै हो, जहाँका खरेलहरू राष्ट्रका विभिन्न उच्च तह र तप्कामा पुगेका छन् । उहाँका अग्रजहरू त्यहीँबाट मधेस झरेका हुन् भन्नु हुन्छ कल्पना ।

शङ्कर व्यापार-व्यवसायमा संलग्न हुनुहुन्थ्यो । उहाँहरूको वैवाहिक जीवन सुखमय थियो । उहाँहरूका दुईजना छोरीहरू भए तर उहाँका श्रीमान् शङ्कर मैनालीको दुर्घटनामा परेर असामयिक निधन भयो । उहाँका दुई छोरीहरू हुनुहुन्छ कामना र करिश्मा मैनाली । श्रीमान् शङ्करको निधन हुँदा ठूली छोरी कामना पाँच वर्षकी र सानी छोरी करिश्मा दुई वर्षका थिए । उहाँको निधन भएको धेरै वर्ष बितिसकेको छ । श्रीमान्को निधनपछि कल्पनाले धेरै दुःख गरेर छोरीहरूलाई हुर्काउनु, बढाउनु र पढाउनुभयो । आफैंले केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भई उहाँ वैदेशिक रोजगारीका क्रममा देशबाहिर पनि जानुभयो ।

यही क्रममा उहाँले इजरायलमा रहेर काम गर्नु भयो । बेलायत, बहराइन र भारतलगायत देशहरूको भ्रमण उहाँले गर्नुभएको छ । उहाँले नेपालका पनि ४० जिल्ला जतिको भ्रमण गर्नुभएको छ । उहाँले विद्यालय स्तरको शिक्षा कालिका मावि र कण्ठपुर विद्याज्योति मावि बर्दियाबाट र उच्च शिक्षा, बबई क्याम्पस बर्दियाबाट मानविकी संकायतर्फ पूरा गर्नुभएको हो । अंग्रेजी, नेपाली, हिब्रू र हिन्दी भाषामा अभिव्यक्ति दिन उहाँ सक्नुहुन्छ ।

उहाँका अबका योजनाहरू लेखन, मनन, साधना र समाजसेवालगायत रहेका छन् । उहाँ यिनै काममा तल्लीन हुन रुचाउनुहुन्छ । उहाँलाई लेखनका लागि घरायसी वातारण बाधक बनेन, घरायसी वावतावरण सहयोगी बनेकै कारण आधा दर्जन जति कृति सार्वजनिक गर्न सक्नुभएको छ ।

मध्यम परिवारको माइतीघरकी चेली कल्पनाको घरतर्फ पनि माइतीतर्फकै समान आर्थिक हैसियत थियो । केही व्यापार–व्यवसाय गर्नुभयो उहाँले जागिर खानु भएन । तर, वैदेशिक रोजगारीका क्रममा उहाँ १० वर्ष विदेशमा बस्नुभयो । उहाँ आर्थिक, सामाजिक र पारिवारिक कारणले भन्दा पनि द्वन्द्वका कारण स्वदेशमा बस्न अप्ठ्यारो भएर विदेशिनु भएको थियो । उहाँका हालका दिन पठनपाठन र लेखनमै बितिरहेका छन् । उहाँका हालसम्म तीनवटा उपन्यास ‘समलिंगी सम्बन्ध’, ‘लभ इन जेरुसलेम’ र ‘रानीतलाउ’ प्रकाशित छन् । उहाँको ‘क्षितिजपारिका शब्दहरू’ गीतिसंग्रह हो भने ‘रागिनी’ कथासंग्रह हो । यसरी साहित्यकार कल्पना खरेलका तीनवटा उपन्यास एउटा कथासंग्रह, एउटा गीति एल्बम र १०० जतिका संख्यामा फुटकर रचना प्रकाशित भएका छन् । उहाँको एउटा उपन्यास प्रकाशनका क्रममा छ ।

कल्पना र स्वर्गीय शङ्करका दुवै छोरीहरूको हाल विवाह भइसकेको छ । ठूली छोरी कामना मैनालीको सुनील द्विवेदीसँग विवाह भएको छ भने सानी छोरी करिश्मा मैनालीको डा.पारसमणि भट्टसँग विवाह भएको छ । उहाँहरूका दुवै छोरीहरू र कान्छो ज्वाइँ डा.पारसमणि भट्ट स्वास्थ्य क्षेत्रमा सेवारत हुनुहुन्छ भने जेठो ज्वाइँ सुनील द्विवेदी व्यवसायमा क्रियाशील रहँदै आउनुभएको छ । ठूली छोरी बिएन गरेर भेरी अस्पतालमा काम गर्दै हुनुहुन्छ भने सानी छोरी पब्लिक हेल्थमा मास्टर्स गर्दै हुनुहुन्छ । राजधानी काठमाडौंमा बसेर पढिरहेकी छोरीका लागि सहयोग गर्न कल्पना काठमाडौंमै रहेका बेला उहाँसँग भेटघाट गरी कुराकानी गर्ने मौका मिलेको हुनाले यो आलेख तयार भएको हो ।

आफ्ना अनुभव र अनुभूतिलाई समाजसमक्ष पुर्‍याउन आफूले लेख्ने गरेकी हुँ भन्नुहुन्छ उहाँ । आत्मसन्तुष्टि र अनुभव आदानप्रदानका लागि लेख्ने गरेको उहाँ बताउनु हुन्छ । उहाँ लेखनबाट आफ्नो परिचय व्यापक भएको र देशाटन गर्ने अवसर मिलेको बताउनुहुन्छ । साहित्यक कार्यक्रममा संलग्न हुनकै लागि उहाँ नेपालदेखि बेलायतसम्म पुग्नुभएको छ । कल्पना खरेल लेखेर आफूले केही गुमाउनुपरेको छैन बरू सामाजिक स्नेह वृद्धि भएको छ भन्नुहुन्छ । यही कारणले हालका दिनहरूमा उहाँ लेखनमै संलग्न भइहरहनु भएको छ ।

उहाँ आफ्नो लेखनमा मनोविज्ञानलाई पनि समावेश गर्नुहुन्छ । यसतर्फ उहाँ कसरी आकर्षित हुनुभयो त ? उहाँ भन्नुहुन्छ, ‘प्रत्येक व्यक्ति मनबाटै निर्देशित हुन्छ । मनका भावना एक अर्कासँग मिलेर साझा रूपमा देखाइएका पाटाहरूले नै पाठकहरूको मन जित्छ । त्यसैले पाठकका मनसम्म संप्रेषण हुनेगरी लेख्नुपर्छ र यस्ता रचना सिर्जना गर्दा तिनको भावनासँग मेल खानेगरी लेख्न सक्नुपर्छ । यसै विचारनुसार लेख्दै जाँदा मनोवैज्ञानिक क्षेत्रका कृति तयार भएका हुन् । मनोविज्ञानबाहेक साहित्यमा अन्य धेरै कुरालाई लेखनको विषय बनाउन सकिन्छ ।

यौन, प्रेम, प्रगतिशीलता, प्रकृति चित्रण, परिष्कार, स्वच्छन्दता जस्ता कुराहरू साहित्यमा आवश्यक छन् कि छैनन् त ? यसरी प्रश्न गरेपछि उहाँले यस्तो जवाफ दिनुभयो, ‘जीवन नै प्रेमको पर्याय हो । सबै प्राणीहरूले प्रेमलाई रुचाएका हुन्छन् । मानिसको जीवन यौन भावनाकै प्रवाहसँग गतिशील छ । यौनकै सेरोफेरोमा सुन्दर जीवन लथालिंग हुनसक्छ र लथालिंग भएको जीवन सुध्रिन पनि सक्छ । मनोविज्ञानले जीवनलाई सबल बनाउँछ । मनोविज्ञानले नै मानिसलाई मनोबल दिने वा समाप्त पार्ने गर्छ । मनोविज्ञानकै आडमा भएको प्रस्तुतिले कालोलाई सेतो र सेतोलाई कालो पार्छ ।

त्यसैले मानिसको सूक्ष्म भावनाको अन्वेषण मनोविज्ञानकै सेरोफोरोमा भएको हुन्छ । प्रगतिशीलता मानिसको स्वभाव हो । प्रकृतिले जीवनचक्रलाई कुन रूपमा अघि लैजाने भन्ने निश्चित गर्छ । परिष्कारविना केही हुँदैन । जीवनचर्या, खानपान, रहनसहन जसरी नै भावनाले कलाका रूपमा प्रस्तुत हुनका लागि परिष्कार हुनु आवश्यक छ ।’

उहाँका अबका योजनाहरू लेखन, मनन, साधना र समाजसेवा लगायत रहेका छन् । उहाँ यिनै काममा तल्लीन हुन रुचाउनुहुन्छ । उहाँलाई लेखनका लागि घरायसी वातारण बाधक बनेन, घरायसी वावतावरण सहयोगी बनेकै कारण आधादर्जन जति कृति सार्वजनिक गर्न सक्नुभएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्न कत्तिको अप्ठ्यारो छ त ? उहाँ भन्नुहुन्छ, ‘लेखन कार्य जहाँ पनि हुन्छ, लेख्न जहाँ बसेर पनि सकिन्छ तर प्रकाशन र यसको उत्थान प्रवद्र्धनमा भने बाहिर राजधानीमा जति सजिलो छैन ।’ मोफसललाई केन्द्रको डोमिनेसन चाहिँ छ कि छैनभन्दा सहयोग र उत्थान नभए पनि खास असहयोग पनि छैन उहाँ भन्नुहुन्छ ।

त्यसो त परिवारबाट अहिले पनि राम्ररी सहयोग पाइरहनु भएको छ र उहाँले परिवार नै सर्वस्व हो भन्ने भावना राख्नुभएको छ । उहाँले आफू महिला भएका कारण नै सिर्जनामा असहज महसुस गर्नु भएको छैन । आफू सक्रिय रहनुपर्छ र निरन्तर सिर्जना गरिरहनुपर्छ । त्यसो भएपछि महिला र पुरुष भन्ने कुरै आउँदैन भन्ने कल्पनालाई लाग्ने गर्छ । अविष्मरणीय घटनाहरू मानिसको जीवनमा भई नै हाल्छन् तर कल्पनाका जीवनमा भने त्यस्ता क्षण अलिक बढी छन् । विधाताको चाहना र उसको इच्छानुसारको नियति सबैले भोग्नै पर्छ । एकजनाको भोगाइ अर्काले व्यहोर्न पनि मिल्दैन । यस्ता अनेक कारणले कल्पनालाई भावुक बनाउँछ ।

त्यसैले साहित्यतर्फको उहाँको यात्रा अघि बढेको हो कि भन्ने देखिन्छ । उहाँको श्रीमान् शङ्कर मैनालीको दुर्घटना परी भएको निधन नै उहाँको भोगाइको सबैभन्दा दुःखद् र नियतिको क्रूर प्रहार थियो । यसको न कुनै क्षतिपूर्ति हुन सक्छ न त्यसलाई मेटाउन नै सकिन्छ । त्यतिमात्र होइन उहाँ आफैं पनि पानीमा पटक-पटक गरी तीनपटक डुब्नुभयो तर बाँच्न सफल हुनुभयो । यतिमात्रै होइन उहाँलाई हृदयाघात पनि भयो । त्यसबाट उहाँ जोगिन सक्नुभयो । यस अर्थमा भावीले लेखेको कुरा कसैले मेट्न सक्दैन भन्ने कुरामा उहाँलाई विश्वास लागेको छ ।

हाम्रो नेपाली समाजमा परम्परादेखि नै नारीहरूलाई घरव्यवहारको कामको जिम्मा लगाइएको छ । शहरी समाजमा केही मात्रामा यो विस्थापित बन्दै गएको त छ तर अझै पूर्णरूपमा हटेको छैन । त्यसैले घरव्यवहार र लेखनमा कसरी सन्तुलन मिलाउनु हुन्छ त उहाँ ? दिनचर्या अति व्यस्त बनेर बित्ने गरेका छन् । पढ्ने विद्यार्थी र जागिरेहरू भएको परिवारमा सबैको समय ख्याल राखेर तयार रहनु पर्दा लेखनको काम प्रायः राति सुत्ने समय कटौती गरेरमात्रै सम्भव हुनेगरेको छ भन्नुहुन्छ कल्पना । लेखनलाई पेशा वा व्यवसाय मान्नुहुन्न उहाँ लेखन त आत्मसन्तुष्टि र रुचि हो, स्वान्त सुखाय लेख्ने हो भन्नुहुन्छ ।

उहाँलाई प्रसंग अर्कैतिर मोडेर तपाईं कुनै राजनीतिकवादको समर्थन पनि गर्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले आपूmले कुनै पनि राजनीतिकवादको समर्थन गर्ने गरेको छैन र तटस्थ रहँदै आएको बताउनुभयो तर जुनसुकै सिद्धान्तका व्यक्तिहरूबाट भए पनि असल कम हुन्छन् भने चाहिँ त्यस्ता कामको समर्थन गर्ने धारणा अघि सार्नुभयो । उहाँ हाल आफू कुनै राजनीतिक, साहित्यिक तथा समाजसेवी संघसंस्थाहरूमा संलग्न नभई अलग्गै रहेर सिर्जनामै व्यस्त रहेको बताउनुहुन्छ । वर्तमान सहित्यिक प्रवृत्तिका बारेमा उहाँ साहित्यको गम्भीरता कम र तत्काल लोकप्रिय बन्ने रुचि र प्रवृत्ति बढिरहेको छ भन्नुहुन्छ ।

अध्ययन चिन्तन र अन्वेषणबाट साहित्यमा रहेका नकारात्मक प्रवृत्ति, कमजोरीलाई हटाउन सकिन्छ भन्नुहुन्छ खरेल । लेखनका माध्यमबाट उहाँ सालाखाला महिलाहरूभन्दा माथि उठ्नु भएको छ कि छैन त ? उहाँ भन्नुहुन्छ त्यस्तो अवसर जुटाउँदै छु र सम्भावनालाई उपयोग गरिरहेकी छु । यसमा उहाँलाई गौरव भने लागेको छ । किन त ? राजनीतिभन्दा साहित्य निकै माथि छ र सम्मानित छ । साहित्य भनेको भोजनालय हो भन्ने एकजना विद्वानको मतमा उहाँ विश्वास गर्नुहुन्छ । साहित्यले विभिन्न मानिससँग भेटघाट गराउँछ, सिक्ने र ज्ञान आर्जन गर्ने मौका जुटाउँछ ।

अहिले स्रष्टाहरू धेरै छन् तर खारिएका र निखारता पाएर अगाडि आएका साहित्यिक कृतिहरू कम छन् । सिर्जनाको बाढी आइरहेको छ तर त्यस्ता बाढीबाट माझिएका कृतिहरू कमै मात्र नेपाली साहित्यले पाइरहेको छ ।

त्यसैले उहाँलाई आफ्नो साहित्यिक यात्रा तथा प्रगतिले विभिन्न सम्भावनाका ढोका खोलिदिएका कारण गौरवको अनुभूति भएको हो । आफ्नो जीवनको ४९ वर्षे यात्रामा पछाडि फर्केर हेर्दा आफू कहाँ आइपुगेको जस्तो लाग्छ भनेर सोध्दा उहाँ धेरै प्रगति गरेको र निकै नै अगाडि आइपुगेको जस्तो लाग्छ भन्नुहुन्छ । वर्तमान समयमा साहित्यमा गुणात्मकता कम र संख्यात्मकता बढी भइरहेको जस्तो उहाँ ठान्नुहुन्छ । यसमा वास्तविकता पनि छ । अहिले स्रष्टा धेरै छन् तर खारिएका र निखारता पाएर अगाडि आएका साहित्यिक कृति कम छन् । सिर्जनाको बाढी आइरहेको छ तर त्यस्ता बाढीबाट माझिएका कृति कमै मात्र नेपाली साहित्यले पाइरहेको छ ।

साहित्य सिर्जना गरेका कारण कल्पनाले मान-सम्मान र पुरस्कार पनि पाउनु भएको छ । तर, हालका साहित्यिक फाँटहरूमा कहिलेकाहीँ मान सम्मान, पुरस्कार र अभिनन्दनको आलोचना पनि हुनेगरेको छ । राम्रालाई छनौट गरेर पुरस्कार दिनुपर्नेमा वा मानसम्मान दिनुपर्नेमा हाम्रालाई पुरस्कृत वा सम्मानित गर्ने परम्परा विकसित भएका कारण त्यस्ता मान-सम्मान र पुरस्कारहरूको महत्व घटेको हो कि जस्तो देख्नुहुन्छ खरेल । उहाँले लेखनका लागि कोही निश्चित व्यक्तिबाट प्रेरणा पाएको हो भन्ने छैन तर साहित्यकारहरूकै प्रेरणाबाट आफू साहित्यका क्षेत्रमा आएकी हुँ भन्ने पनि लाग्छ । उहाँ प्रेरित बन्नुभएको साहित्यकारहरू धेरै छन् ।

उहाँ जीवनको एक दशक जतिको समय वैदेशिक रोजगारीमा जानुभयो । यसलाई रहर वा बाध्यता कुन रूपमा हेर्नुहुन्छ त उहाँ ? आमनेपालीहरू जसरी बाध्यताले श्रम बेच्न विदेश जान्छन् आफू पनि त्यसरी नै बाध्यताले विदेश गएकी हुँ भन्नुहुन्छ खरेल । उहाँ आपूm महिला त्यसमाथि पनि विदेशी भूमिमा रोजगारीका लागि जानुभयो । कुनै असजिलो वा अप्ठ्यारो परिस्थितिको सामना पनि गर्नुपर्‍यो कि ? तर, उहाँ त विदेशमा भन्दा यस्ता अप्ठ्याराहरूको सामना त स्वदेशमै बढी गर्नुपर्छ भन्नुहुन्छ । यसबाट हाम्रो मानसिकता स्पष्ट रूपमा झल्किन्छ ।

वर्तमान समयमा सामाजिक सञ्जालले पनि साहित्य प्रभावित भइरहेको छ । जो पनि साहित्यकार र जस्तो लेखन पनि साहित्य बनिरहेको छ । यसलाई चाहिँ कसरी हेर्नुहुन्छ त उहाँ ? सामाजिक सञ्जाल सेल्फमिडिया बनेको छ । हालका दिनमा सबैका हातमा मोबाइल छ र आफ्ना भावना लेखेर त्यही मोबाइलबाट पोष्ट गर्ने गरिन्छ । यसो गर्दा स्तरीय रचनाले समर्थन नपाइरहेको र सामान्यस्तरका रचनाले बढी नै समर्थन पाएको पनि देखिन्छ । तर, विश्वभरि नै एकै छिनमा पुग्ने यस्तो साधनले मानिसका रचनाहरूको व्यापक रूपमा फैलावट भने हुने गरेकै छ ।

यसलाई नराम्रो मान्नु हुँदैन । जुन रचनाको स्तर छ त्यो रहिरहन्छ, गुणस्तर नभएका रचना र रचनाकार आफैँ हराएर जान्छन् । समयले नै कसलाई राख्ने, कसलाई फाल्ने हो त्यो क्रमशः हुँदै जाने हो । अन्त्यमा उहाँ साहित्य क्षेत्रका नयाँ पुस्तालाई इमानदारीका साथ आफ्नो लेखन क्षेत्रमा क्रियाशील रहन सुझाब दिनुहुन्छ । कल्पनालाई साहित्यिक क्षेत्रमा अझै उन्नति प्रगतिका लागि हार्दिक शुभकामना ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?