सत्ताको चास्नी र मन्त्रीहरूको बोली

हिमालय टाइम्स
Read Time = 7 mins

सत्ता एउटा त्यस्तो चास्नी हो जसमा नेताहरू आकर्षित भइरहेका हुन्छन् र त्यसबाट निस्कनै सक्दैनन् । यो हाम्रो देशको राजनीतिले देखाइरहेको छ । पदमा नपुग्दा र पदमा पुगिसकेपछि उहाँहरूको बोली र व्यवहारमा देखिने फरकपनले यही कुरालाई पुष्टि गरिरहेको हुन्छ । आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतले बोलेको कुरा कति सान्दर्भिक छ । राष्ट्रपति बन्ने उहाँको रुचिबारे पत्रकारले सोधेको प्रश्नमा उहाँले त्यो मेरा लागि होइन मैले गर्नुपर्ने काम बाहिर धेरै छन् भन्नुभयो । यस्तो आफ्नो विशेषज्ञता र अनुभव कहाँ प्रयोग गर्नुपर्छ भन्ने बुझ्ने मानिस केही दर्जनमात्र हुने हो भने देश निकै अगाडि जानसक्थ्यो । महावीर पुन, कुलमान घिसिङ, डा.रुइत र डा.गोविन्द केसीहरूलाई देशका बारेमा सोच्ने केही सीमित व्यक्तिका रूपमा लिइएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रको ठूलो पुरस्कार पाएरका डा.रुइतमा अलिकति पनि अहंकार देखिएन तर राजनीतिक क्षेत्रको कुरा चाहिँ फरक छ । कुनै मानिसको विशेषज्ञता एउटा क्षेत्रको हुन्छ तर ऊ राजनीति गर्न पुग्छ, डाक्टर, इन्जिनियर, पत्रकार, सामाजिक अभियन्ता सबै नै राजनीतिमा लेपासिने गर्छन् । राजनीति गर्नु थियो भने उनीहरूले सुरुदेखि राजनीतिकै अभ्यास गरेका भए राजनीतिमै निखारता आउनसक्थ्यो । अनि यसै गरेर पार्टी खोलेर दश–बीस थान सांसद जित्न पाएको छैन सरकारमा जानै तिनलाई हतार भइसकेको हुन्छ । विचार र राजनीतिक सिद्धान्त मिलोस् वा नमिलोस् त्यसको मतलब छैन । पद पाउन पाए भएको छ । मन्त्री भनिन पाए भएको छ ।

एकातिरको राजनीतिक पाखो भत्काउन कसैले एक-दुई मन्त्रीको प्रस्ताव गर्ने बित्तिकै फुरुङ्ग परेर त्यसलाई स्वीकारेर जाने गरेका छन् । यो नेपालको परम्परा दुर्भाग्य नै हो जसको स्पष्ट उदाहरण वर्तमान सरकार काफी छ । रवि लामिछानेको हिजोका दिनमा आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्दा जुन प्रकारको लोकप्रियता थियो, पत्रकारिताबाट जुन उचाइ प्राप्त गर्नुभएको थियो, त्यो भोलिका दिनमा कायम रहन उहाँको मुस्किल छ । सरकार बनेको केही दिनमात्र बित्दैछ तर उहाँका आदेशहरूको पालना हुन छोडिएको महसुस हुनथालेको छ । हेर्दाहेर्दै हाजिर गरेर झण्डावाल मोटरमा हिँड्ने र जनतालाई असम्भव आश्वासन दिने राजनीतिको भुँमरीभित्र घुमीघुमी पदको दुरुपयोगको चक्रब्युहभित्र रुमलिने मन्त्रीमा उहाँजस्ता केही गर्छु भन्ने व्यक्तिहरू नपर्नु होला भन्ने छैन ।

राजनीतिभित्र घुसाएर त्यसको सकुनी चक्रभित्र फसाएर उहाँहरू जस्ताको राजनीतिक जीवन समाप्त पार्ने राजनीतिक गिरोह जहिल्यै सक्रिय रहेको हुन्छ । कि त्यसबाट बच्न सक्नुपर्छ कि राजनीतिको मैदान छोडेर पलायन हुनुपर्छ । नत्र त्यहीँभित्र ढुटोमाटो भएर बसिरहनुपर्छ । यसरी हाम्रो देशको राजनीति र राजनीतिज्ञहरूलाई दिग्भ्रमित बनाउने देशी तथा विदेशी गिरोह सक्रिय छन् । त्यसबाट जोगिन नयाँहरूलाई अझै मुस्किल छ । हिजो बनेको मन्त्रिमण्डलका मन्त्रीहरूको स्वर आजै फेरिइसकेको छ । यसको आसय हो उहाँहरूले पदबाहिर छँदा बोलेको कुरा अब पदमा पुगेपछि पूरा गर्न सक्नुहुन्न र पूरा गर्न चाहनु हुन्न । आमाको रगत खानु र भ्रष्टाचार गर्नु एकै हो भन्ने राप्रपामा पनि हाल बनेका मन्त्रीहरूका कारण राजेन्द्र लिङ्देनको निकै आलोचना भइसकेको छ, पार्टीभित्रै चरम असन्तुष्टि पैदा भएको छ ।

रास्वापाका रवि लामिछानेको अवस्था त्यसभन्दा फरक छैन । बोली फेरिन थालेको छ । उहाँको आदेशका कारण निर्मला पन्तको बलात्कारी र हत्यारा फेला पर्न सकेन, फरार सांसदलाई उहाँको आदेशले पक्राउ पक्राउ गर्न सकेन भने हिजोको लोकप्रियता खोज्न कहाँ जाने ? त्यसको सम्भावना छैन भन्ने देखिइसकेको छ । त्यसैले भोलिका दिनमा उहाँहरू मन्त्रीको जागिर खाएर बस्नुहुन्छ कि पद त्याग गरेर हिँड्नुहुन्छ ? यो नै अहम् प्रश्न हो । त्यसैले उहाँहरू सरकारमा जान हतार गर्नुभयो भन्ने हो । अर्को निर्वाचनसम्म प्रतिपक्षमा रहन सक्नुभएको भए पो सिंगापुरका लि क्वान यू बन्न सक्नुहुन्थ्यो कि ! हाम्रामा भने अन्तिम सत्य सत्ता नै हो भन्ने मान्यताले जरा गाडेको छ र त्यहाँ पुग्न सबैले हतार गरिरहेको जस्तो देखिने गरेको छ । सत्ताको सयरमा रम्दा हिजो नागरिक भएर बस्ता कुन अनुभूति प्रकट हुन्थ्यो त्यो जागिरहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?