जुम्लाको तिला गाउँपालिकाले विद्यालयसँग अध्यक्ष कार्यक्रम संचालन गर्दै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले विद्यालयसँग अध्यक्ष कार्यक्रम संचालन गर्ने भएको छ । शिक्षाबाट बञ्चित भएका बालबालिकालाई विद्यालयसम्म ल्याउनदेखी विद्यालयमा चाहिने शैक्षिक र भौतिक संरचनालाई मजबुद गर्ने उद्देश्यले पालिकाका सबै विद्यालयमा सो कार्यक्रम लागु गरिने अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । बार्षिक बजेट तथा कार्यक्रमबाट विद्यालयसँग अध्यक्ष कार्यक्रमका लागि रु ५० लाख बजेट पारित भएको छ ।

अध्यक्ष रोकायाले भन्नुभयो,“ विशेषगरी तिला शिक्षा क्षेत्रमा पछि परेको छ । अझै यहाँका बालबालिका विद्यालय भन्दा बाहिर रहेकाछन् । उनीहरुलाई विद्यालयसम्म पुर्‍याउनका लागि पालिकाका सबै सामुदायिक विद्यालयबाट गाउँ केन्द्रित शिक्षा सम्बन्धि सचेतनाका कार्यक्रम गरिने  छ । विद्यालयका शाैचालय, खानेपानी, फर्निचर र अन्य भौतिक संरचनामा सो बजेट खर्च हुने छ । ”

विद्यालयको शैक्षिक अवस्थालाई ध्यानमा राखेर सामुदायिक विद्यालयका शिक्षकलाई क्षमता अभिवृद्धिका तालिम हिउँदे विदा सकिएपछि संचालन गर्न पालिकाको शिक्षा शाखालाई निर्देशन समेत दिएको उहाँकाे भनाइ छ । सो कार्यक्रबाट बाल विवाह रोकथाम गर्नका लागि विद्यालयमै विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम र विद्यार्थीको क्षमतावृद्धिमा समेत काम गरिने अध्यक्ष रोकायाको भनाइ छ ।

यहाँका धैरे विद्यालयमा खानेपानीको समस्या, शाैचालय र फर्निचरको अभाव, विद्यालयको पर्खाल पुनःनिर्माण जस्ता व्यापक जनगुनासो आएपछि यो आर्थिक बर्षबाट उक्त कार्यक्रमको सूरुवात गरेको तिला गाउँपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि स्थानीय सरकारले कुनै नमुना काम नगरेको भनेर व्यापक विरोध हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?