लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सरोकारवाला एकजुट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीका सरोकारवाला निकायहरु लागू औषध दुर्व्यसन नियन्त्रणका लागि एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा लागू औषध दुव्र्यसनलाई सबैको सहयोग र समन्वयबाट न्यूनिकरण गर्न सकिनेमा जोड दिएका छन् ।

लागू औषध नियन्त्रणका विषयमा गरिएको छलफलमा सबैभन्दा बढी विद्यालयका बालबालिका यसको लतमा परेको सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । “विद्यार्थीहरूमा लागू औषध दुव्र्यसन बढ्दो हिसाबले गईरहेको छ । यो जोखिमको विषय बनिरहेको छ । विद्यार्थीहरुलाई लागू औषध सेवन गरिरहेको अवस्थामा खोल्सा र होटलसम्म नै फेला पारिएको छ ।” श्रीसले भन्नुभयो,– “नियन्त्रणका लागि विद्यालयतहमा सचेतनात्मक कार्यक्रमहरु गरिएपनि खास नियन्त्रणमा गएको छैन् ।” सबै पक्षबाट निगरानी गर्न सकिए लागू पदार्थ दुव्र्यसन नियन्त्रण गर्न सकिने बताउनुभयो ।

गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल र चेम्बर अर्फ कमर्शका उपाध्यक्ष वीरेन्द्र भुसालले सामाजिक सञ्जाल मार्फत समूह नै बनाएर लागु पदार्थ सेवन गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो । लागू पदार्थ सेवन गर्ने संभावित क्षेत्रमा प्रहरी गस्ती बढाउन आवश्यक रहेको समेत बताउनुभयो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले प्रत्येक होटलमा पुगेर अनुगमन गरिएको बताउँदै मदिराजन्य पर्दाथ नियन्त्रण गर्न आफुहरु लागिपरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले स्कुल नजिकका होटलहरुमा यसको बढि बिक्री वितरण र प्रयोग गर्ने गरिएको पाइएको बताउनुभयो । व्यवस्थित कार्ययोजना बनाएर यसको नियन्त्रणका लागि लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा बैठक बसेको लागू पदार्थ दुव्र्यसन नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको बैठकमा जिल्लाका उद्योगी, व्यवसायी, होटल सञ्चालक, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?