राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटनको कामसमेत सुस्त

फाईल फाेटाे

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्राक खुलेको नौँ वर्ष बितिसक्यो । तर स्तरोन्नतीको काम भने हुन सकेको छैन । सडक स्तरोन्नतीका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गरे पनि बागलुङ खण्डमा काम हुन सकेको छैन । सडकको धेरै स्थानमा साँघुरो हुँदा गाडी ओहोरदोहोर गर्न समस्या छ ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकले पहाडी जिल्लालाई तराईसँग जोडेको छ । तर सडकको दुरावस्था हुँदा बागलुङका नागरिक यो सडकमा सहज रुपमा बाह्रै महिना यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो हुँदा यात्रा गर्न समस्या भएको निसीखोला गाउँपालिका–७ का तिलक खत्रीले बताउनुभयो । उहाँले सडक निकै अप्ठ्यारो हुँदा वर्षौँ बित्दा पनि यातायातका साधान सहज रुपमा संचालन हुन नसकेको बताउनुहुन्छ ।

“यो सडक खुलेको धेरै वर्ष भयो, अहिलेसम्म गाडीहरु सररर चल्न पाएका छैनन्, कतै साँघुरो छ, कतै अप्ठ्यारो छ, यतिका वर्षसम्म काम नहुनु सरकारको कमजोरी हो की, ठेकेदारको कमजोरी ?” खत्रीले भन्नुभयो– “यस्तो सडकमा कसरी यात्रा गर्नु ?, ज्यान जोखिममा राखेर कोही पनि यात्रा गर्न मान्दैनन्, साँघुरो सडकमा गाडी पनि कसरी गुडोस् र ?”

हिउँदमा साना गाडीहरु जसोतसो चल्ने गरे पनि बर्खाको समयमा ठप्प हुने गरेको उहाँको भनाई छ । खत्रीले साँघुरो सडक हुँदा बेला बेलामा दुर्घटनासमेत हुँने गरेको भन्दै यस तर्फ सरोकारवालाको ध्यान नपुगेको गुनासो पोख्नुभयो । घर अगाडी सडक भएपनि आफूहरुलाई पैदल यात्रा गर्नु पर्ने र सामान बोकेरै ढुवानी गर्नुपर्ने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ– “सडक छ भनेर के गर्ने समस्या परेको बेला गाडी भल्दैन, कोही बिरामी परे पनि बोकेरै अस्पताल पु¥याउनु पर्ने अवस्था छ, बर्खा लाग्यो कि सडकमा हिलो मात्रै हुन्छ, गाडी देखिन्नन्, बाटो ल्याउँदा लाखौँको जग्गा दिर्यौँ, अहिले बाटो भएर पनि गाडी भल्दैनन् ।”
ढोरपाटन नगरपालिका–९ का कुलबहादुर सुनारले सडकले सहज बनाए पनि हिउँदमा धुलो र बर्खामा हिलोले आजित बनाएको बताउनुभयो । उहाँले सडक छेउँमा रहेका घरहरु अहिले सबै धूलोले ढाकिएको बताउनुहुन्छ । सुनारले वर्षौँ अगाडि सडकले गाउँ जोडिए पनि स्तरोन्नती नहुँदा यात्रा जोखिम हुने गरेको बताउनुभयो ।

“गाउँमा सडक आउँदा निकै खुसी लागेको थियो, अहिलेसम्म पिच हुन सकेको छैन, अहिले पनि धेरै ठाउँमा सडक साँघुरो छ, ठूला गाडीहरु चल्न सक्दैनन्, दुर्घटनाको जोखिम पनि निकै छ,” सुनारले भन्नुभयो– “सडकले सहज त बनायो, तर बर्खाको बेला चल्दैन, बुर्तिबाङदेखि गाउँसम्म आउन पनि धेरै समय लाग्छ ।”

वि.सं. २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि गत वर्ष ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको १३ महिना बित्दा २३ प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर शरद आचार्यले जानकारी दिनुभयो ।

बुर्तिबाङदेखि फल्लेघरसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष कार्तिकमा स्वच्छन्द÷ओम बुद्ध जेभीसँग ३० महिनामा सक्ने गरि २५ करोडको सम्झौता भएको आचार्यले बताउनुभयो । स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिइसकेको उहाँको भनाई छ ।
“सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा ग्राभेलिङका लागि गत वर्ष निर्माण कम्पनीसँग सम्झौता भएको थियो, अझण्डै आधा समय अवधी सकिन थाल्यो तर, काम २३ प्रतिशत मात्रै भएको छ, निर्माण कम्पनीले ढिलाई गर्दा समस्या परेको छ,” इन्जिनियर आचार्यले भन्नुभयो– “अझै आधा अवधी बाँकी रहेको हुँदा हामीहरुले काम गर्न ताकेता गरिरहेका छौँ ।”

उहाँले गङ्गरेदेखि बुर्तिबाङसम्म पनि साना–साना ठेक्का पट्टा गरि काम भइ रहेको बताउनुहुन्छ । यस खण्डमा कच्ची नाली निर्माण गर्ने, साना खोलाहरुमा हिमपाइप हाल्ने काम भइरहेको आचार्यको भनाई छ । बाह्रै महिना सडक संचालनका लागि यो खण्डमा काम भएको उहाँ बताउनुहुन्छ ।

“अहिले बुर्तिबाङ–ढोरपाटन खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, गङ्गरेदेखि बुर्तिबाङसम्मको सडकमा पनि काम नभएको होइन, सानो–सानो बजेट छुट्याएर काम हुँदै छ,” उहाँले भन्नुभयो– “राजकुट, देवीस्थानसम्मको सडकलाई केही फराकिलो बनाउने र बर्खामा पनि गाडीहरु संचालन हुने गरि सडक निर्माण भइरहेको छ ।”

वि.सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्राक खुलेको थियो । यो सडक बागलुङ जिल्लामा ६१ किलो मिटर सडक पर्छ भने सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । अहिलेसम्म २२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?