वालिङ गोल्डकपको उपाधि वालिङ युनाइटेडलाई

हिमालय टाइम्स
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको वालिङमा आइतबार सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा चार-तीनले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो ।

वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत पुस ३० देखि वालिङ-८ स्थित खेलमैदानमा राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको थियो । फाइनल खेलमा ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

उपाधि विजेता वालिङ युनाइटेडले पाँच लाख नगद र ट्रफी हात पारेको छ । उपविजेता एभिनियर फुटबल क्लब क्यामरुनले दुई लाख ५० हजार नगद र ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताउनुभयो ।

वालिङ निलोका गोलरक्षक राजाबाबु थापा फाइनल खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।
सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा, उत्कृष्ट डिफेण्डरमा वालिङ निलोका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डरमा वालिङ निलोकै कमल थापा, उत्कृष्ट फरवार्डमा वालिङ निलोकै टिकाराज गुरुङ, उत्कृष्ट नवप्रतिभा खेलाडीमा वालिङ रातोका रुपेश हमाल, उत्कृष्ट प्रशिक्षकमा वालिङ निलोका दिलीप थापा र सर्वोत्कृष्ट खेलाडीका रूपमा वालिङ निलोका विश्वास श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

अनुशासित टिमको उपाधि लिस्नु फुटबल क्लब रुपन्देहीले प्राप्त गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, सहारा क्लब पोखरा र आयोजक वालिङ युनाइटेड निलो र रातो गरी कुल आठ टिमको सहभागिता थियो ।

प्रतियोगिताका विजयी टोली र विधागत विजेता खेलाडीलाई वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले पुरस्कार प्रदान गर्नुभएको थियो । वालिङमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गरेर सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै उहाँले आगामी वर्ष पनि निरन्तरता दिँदै जानुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?