त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । त्रिभुवन आर्मी क्लबको महिला टोलीले तेस्रो टाइगर कप भलिबलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको थियो । गत साता काठमाडौंमा सम्पन्न एभिए क्लब च्याम्पियनसिपको सेमिफाइनलमा न्यु डायमण्डसँग तीन-दुईले पराजित आर्मीले यसपटक भने बदला लिएको छ । पहिलो खेल आर्मीले २७-२५, २५-१७, २५-२३ ले जित्दै तीन अंक जोडेको छ ।

न्यु डायमण्ड मुख्य खेलाडी प्रतिभा मालीबिनै मैदान उत्रिएको थियो । प्रतिभा व्यावसायिक भलिबल खेल्नका लागि माल्दिभ्स जानुभएको छ । यस्तै, डायमण्ड सिक्किममा खुला महिला भलिबल प्रतियोगिता खेलेर शनिबार बिहानैमात्रै पोखराको लागि प्रस्थान गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होङवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेश टिमको सहभागिता रहनेछ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ च्याम्पियन टोलीले पाँच-पाँच लाख र उपविजेता टिमले समान नगद दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले दिनुभयो । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक विधाका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई दश-दश हजार रुपैयाँ र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । आइतबार पुरुषतर्फ आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?