जनकपुरका दुई युवाको भारतमा हत्या

२० लाखमा फिरौती ‘डिल’, पैसा बुझाउन जाँदा अपहरणकारीकै ‘मोबाइल अफ’

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । दुई साताअघि जनकपुरधाम उपमहानगर-१३ का २१ वर्षीय रोहित र २२ वर्षीय विष्णु साह भारतको सितामगढीस्थित बेला परिहार पुग्नुभयो । जहाँ उहाँहरूका नातेदार बस्थे । रोहित र विष्णु दाजुभाइ हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुई साताअघि उहाँहरू आफन्तकोमा भारत जानुभएको थियो । भारत गएको दुई दिनपछि नै उहाँहरू सम्पर्कविहीन हुनुभयो । १३ दिनअघि सम्पर्कविहीन बन्नुभएका साहद्वय अपहरणकारीको पञ्जामा पर्नुभएछ । साह दाजुभाइलाई नियन्त्रणमा लिने अपहरणकारीले आफन्तलाई सम्पर्क गरी फिरौतीसमेत मागे । त्यो क्रम गत सोमबारसम्म जारी रह्यो । फिरौती रकममा ‘बार्गेनिङ’समेत भयो । धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सुरुमा ५० लाख मागेका अपहरणकारीले विष्णुको आवाजसमेत रेकर्ड गरेर सुनाएका थिए ।

आफन्तका अनुसार ‘रेकर्डेट’ आवाजमा विष्णुले, ‘यिनीहरू जेजे माग्छन् दिनू । नत्र मलाई मार्छन् भन्नुभएको थियो ।’ आफन्तले ५० लाख दिन नसक्ने बताएपछि उनीहरूले फिरौती रकम घटाए । फिरौती रकम ५० बाट घटेर ३० हुँदै २० लाख पुग्यो । रोहित र विष्णुलाई बचाउनु थियो । आफन्तले फिरौती रकम दिने वचन दिए । उनीहरूले फिरौती रकमसहित सर्लाहीको मलंगवा नाकामा आउन आफन्तलाई अह्राए । सोमबार बिदा भएकाले मंगलबार पैसा लिएर आउने कुरा भयो । फिरौती दिन तयार भएका आफन्तले घटनाबारे प्रहरीलाई पनि जानकारी गराइसकेका थिए ।

प्रहरीलाई घटनाबारे जानकारी गराएसँगै मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । सम्पर्क हुन छोडेपछि आफन्तले पुनः प्रहरीलाई जानकारी गराए । प्रहरीले खोजी सुरु गर्‍यो । घटनामा संलग्नहरूको लोकेसन भारतमा देखिएको थियो । पछि मोबाइल बन्द भयो । प्रहरीको पनि केही लागेन । अपहरणकारी फिरौती रकम लिनसमेत नआएपछि आफन्तसमेत निराश बने ।

आइतबार बिहानै भारतबाट दुःखद खबर आयो । साह दाजुभाइको हत्या भइसके छ । भारतीय प्रहरीले आफन्तलाई दुई जनाको शव भेटिएको खबर सुनाए । उहाँहरूले सनाखतका लागि बोलाएपछि आफन्त छाँगाबाट खसेजस्तै भए । अहिले पूरा गाउँ शोकमा डुबेको छ । १३ दिनअघि घुम्न निस्किनुभएका दाजुभाइको शव नेपाल आउने भयो । भारतीय प्रहरीले उहाँहरू आफन्तकोमा गएकै क्षेत्रमा दुईवटा शव फेला पारेको थियो । विष्णुका श्रीमती र एक छोरी हुनुहुन्छ । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ स्थित एकैठाँउ बस्दै आएका थिए । अंशबण्डापछि उहाँहरू अलगअलग हुनुभएको थियो ।

तीन भारतीयसहित पाँचजना पक्राउ
दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छौँ : प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्री
साह दाजभाइको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार नेपालबाट घटनामा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उता, भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा थप तीन जनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । ‘शंकास्पद दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,’ उहाँले भन्नुभयो, ‘भारतीय प्रहरीले पनि तीनजना नियन्त्रणमा लिएको छ । दुवैतर्फको टोलीले अनुसन्धान गरिरहेका छाँै ।’ घटनामा अन्य चार जनाको पनि संलग्नता खुलेको छ । तर, उनीहरू फरार रहेको प्रहरीको भनाइ छ । घटनामा नेपाल र भारत दुवैतिरका मानिसको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको कारण भने खुलिनसकेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?