वैभवशाली हुँदा हुँदै पनि नेपालको राष्ट्रिय संस्कृतिलाई पश्चिमा संस्कृतिले विस्थापित गर्दैछ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताउनुभएको हो । उहाँले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सबै संस्कृतिलाई समान रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयोे, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन् ।

तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरूलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन् । मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

विश्वमा प्रचलित सभ्यताहरूको संगमस्थल नेपाल रहेको दाहालको भनाइ थियो । ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ उहाँले भन्नुभयो, ‘यहाँ बसोबास गर्ने सबै जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।’

ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो रहेको दाहालको भनाइ थियो । उहाँले मानव जातिले कृषिको सुरुवात गरेसँगै यो परम्पराको सुरुवात भएको बबताउनुभयो । ‘यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्रपात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्छन्,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?