कांग्रेसमा फेरि अन्तरविरोध सुरु

प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको शेखर समूहको निष्कर्ष, पार्टी नेतृत्वसँग जवाफ माग्ने

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर केन्द्रीय सदस्य डा.शेखर कोइराला समूहले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आइतबार काठमाडौंमा बसेको इतर समूहको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी सांसदहरूले नेतृत्वले त्यसबारे गलत निर्णय गरेको भन्दै सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन माग गरेका छन् ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनीहरूले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै पार्टी सभापतिको कार्यशैलीको आलोचना गरेका हुन् । बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठक लगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ : कोइराला
बैठकमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको भन्दै पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको बताउनुभएको छ । डा.कोइरालाले आफूले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘हामीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती ग¥यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिमा राखेको थिए, त्यसको सुनुवाइ भएन । पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा बाध्यतामा पार्नुभयो । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता भयो । विश्वासको मत दिन हुन्थेन ।’

बैठकमा उपसभामुखकी उम्मेदवार सांसद मुक्ताकुमारी यादवले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘जोसँग भइरहेको सहकार्य तोडियो, तत्काल सहकार्यको सम्भावना पनि छैन, उसलाई विश्वासको मत दिनुको अर्थ के हो ? हामी सत्तापक्ष नरहेपछि विश्वासको मत दिनुको के अर्थ ? तत्कालै विश्वासको मत फिर्ता लिइनुपर्छ ।’

कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । पुस १० मा दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गर्नुभएको थियो । सोही दिन उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएका दाहालले कांग्रेसको पनि विश्वासको मत पाउनुभएको थियो । कांग्रेसले समर्थन गरेसँगै दाहालको विपक्षमा जम्मा दुई मत परेको थियो । प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका थिए । देउवाले पार्टीबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुभएको थियो । प्रचण्डलाई विश्वासको मत दिँदा केही नेताहरूले असन्तुष्टिसमेत राखेका थिए । कांग्रेसले विश्वासको मत दिएपछि उसको स्थान सत्तापक्षमा हो कि प्रतिपक्षमा भन्ने प्रश्न उठेको छ ।

कांग्रेसभित्र स्पष्ट दृष्टिकोणको खाँचो : भण्डारी
नेपाली कांग्रेसको शेखर कोइराला समूहले सरकारलाई विश्वासको मत दिनु नै थियो भने प्रचण्डलाई प्रधानमन्त्री नदिएर किन गठबन्धन टुटाएको ? भनेर सभापति शेरबहादुर देउवालाई प्रश्न गर्ने तयारी गरेको छ । आइतबार बिहान काठमाडौंको बत्तीसपुतलीमा बसेको उक्त समूहको बैठकमा नेताहरूले निर्वाचनअघि जनतासँग गरेको वाचाअनुसार गठबन्धन टिक्न नसक्नुको कारणबारे नेतृत्वसँग जवाफ माग्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी इतर समूहका नेता चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन बनाए पनि सरकार बन्ने बेला गठबन्धन टुटेको विषयमा समीक्षा हुनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘सरकारलाई किन विश्वासको मत दियौँ ? कांग्रेस किन कन्फ्युजनमा ? स्पष्ट दृष्टिकोण किन हुन सकेन ? अब कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने वा राष्ट्रपति पाउँछ कि पाउँदैन भनेर हिँड्ने ? यसबारे पार्टीको लाइन प्रष्ट हुनुपर्छ भन्ने मत आएको छ ।’

नेतृत्वकै कारण पार्टी लथालिंग भयो : केसी
कांग्रेस संस्थापनइतर समूहका नेता जगदीश्वर नरसिंह केसीले पार्टी नेतृत्वकै कारण कांग्रेस लथालिंग र अस्तव्यस्त अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । आइतबार बिहान बसेको इतर समूहको बैठकमा धारणा राख्दै नेता केसीले देशको एक नम्बर राष्ट्रिय शक्तिको रूपमा स्थापित पार्टी नेतृत्वकै कारणले लथालिंग र अस्तव्यस्त अवस्थामा पुगेको आरोप लगाउँदै भन्नुभयो, ‘आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदावाजीले नेपाली कांग्रेसलाई स्खलित, कमजोर र रुग्ण बनाइएको छ । जनताले कांग्रेसलाई संसद्को सर्वाधिक ठूलो पार्टी बनाइदिएका छन् । तर, नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दूरावस्था छ ।’

शेखरलाई भावी सभापति उम्मेदवार घोषणा गर्न गुरुङको प्रस्ताव
नेपाली कांग्रेसको संस्थापनइतर समूहको नेता डा.शेखर कोइराला कि गगन थापा भन्ने बहस भइरहेको बेला पार्टी उपसभापति धनराज गुरुङले नेताहरूको महŒवाकांक्षालाई बेलैमा लगाम लगाइनुपर्ने सुझाव दिनुभएको छ । आइतबार भएको उक्त समूहको बैठकमा उपसभापति गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने प्रस्ताव राख्नुभएको हो । उपसभापति गुरुङले राखेको प्रस्तावबारे उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘भोलि मेरो पनि महात्वाकांक्षा जाग्ला । गगन थापा अरुको पनि रुचि बढ्ला । त्यसैले अहिले नै कमिटमेन्ट गरौँ, हामी सबैको नेता शेखर कोइराला हो ।

अब हाम्रो समूहबाट सभापतिको उम्मेदवार पनि शेखरलाई घोषणा गरेर जानुपर्छ ।’ इतर समूहले पार्टी महामन्त्री गगन थापा दलको नेतामा उम्मेदवार बनाएपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ । संसदीय दलको नेताको चुनावमा पनि शेखर समूहकै केही जिम्मेवार नेताहरूले समेत गगनलाई भोट नदिएको आरोप लागिरहेको छ । बैठकमा उपसभापति गुरुङले अहिले नै कोइरालालाई अघि सारेर १५औँ महाधिवेशनको तयारी गर्नुपर्ने बताउनुभएको छ । बैठकमा उपसभापति गुरुङले भन्नुभयो, ‘रुपान्तरण र पुस्तान्तरणको मुद्दालाई शेखरले प्राथमिकता दिनुभएको छ । उहाँलाई सभापतिको उम्मेदवार घोषणा गरेर जाऔं ।’ कांग्रेसको १४औँ महाधिवेशनमा नेता कोइराला सभापतिमा देउवासँग पराजित हुनुभएको थियो ।

संसदीय दलमा गगनलाई कम मत खस्नुको कारण खोजी
नेपाली कांग्रेसको संस्थापनइतर समूहभित्र संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खस्नुको कारण खोजी भएको छ । आइतबार बसेको इतर समूहको बैठकमा केही नेताहरूले निर्वाचनमा समूहको मत एकीकृत हुन नसक्नुको कारणबारे कुरा उठाएका हुन् । बैठकमा समूह भनेर लागेपछि त्यसमा आबद्ध सबैको मत आउनुपर्ने अन्यथा समूह भनेर हिँड्न नहुनेसमेत कुरा उठेको जानकारी दिँदै सहभागी एक नेताले भन्नुभयो, ‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन । किन कम आयो, टिम भनेर लागे पछाडि टिममा भोट आउन प¥यो नि कि टिम भनेर हिँड्न भएन ।’ दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा ६४ मतका साथ निर्वाचित हुनुभएको थियो । महामन्त्री थापाले अनुमान गरेभन्दा पनि कम २५ मत मात्रै पाउनुभएको थियो । इतर समूहले आफूहरूको मत ३१ रहेको दाबी गरेको थियो ।

कांग्रेसबाट राष्ट्रपति आए मात्रै बहुरंगी संसद् जोगाउँछ : पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद प्रदीप पौडेलले मुलुकको संविधान जोगाउनका निम्ति कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष र पद गरिमा अनुसारको भूमिका निर्वाह गर्न नसक्दा विगतमा पटक–पटक संविधानमाथि प्रहार भएको जिकिर गर्दै पौडेलले भन्नुभयो, ‘हिजो ओलीजी अनुकूलको राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो । यो गठबन्धनले फेरि सम्झौताअनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढ्यो भने त्यो नेपालको संविधानका लागि खतरा हुन्छ । आज पनि कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसद्लाई समन्वय गर्न सक्छ । समन्वयकारी क्षमता भएको व्यक्ति कांग्रेसको विचार बोकेको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक छ ।’

प्रमुख विपक्षी दलको सुविधा माग्दै संसद्लाई कांग्रेसको पत्र
नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको छ । संघीय संसद् सचिवालयका अधिकारीहरूका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको हो । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ । संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले विशिष्टीकृत सुविधा प्राप्त गर्दछ । प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिकबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधाअन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ । तर, कांग्रेस संसदीय दलको निवेदनउपर निर्णयको विशेषाधिकार सभामुखमा निहित रहेको संसद् सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?