धनगढी । सरकारले कैलालीबाट हालसम्म ३० हजार क्विन्टल धान खरिद गरेको छ । कैलालीका लागि ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्विन्टल धानमात्र खरिद भएको जनाएको छ । कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको भनाइ छ । ‘यसपटक एक-दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो,’ धनगढीस्थित मोहनपुर धान खरिद केन्द्रका एक कर्मचारीले भन्नुभयो, ‘तर, सोचेभन्दा धेरै कम धान आएको छ, यसको कारण के हो बुझ्न सकिएको छैन ।’
विगतका वर्षमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाइन हुने गरेको भए पनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताउनुभयो । ‘सुरुका एक-दुई दिन धान ल्याउने किसानको अलि चाप रहेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि फाट्टफुट्टमात्रामा मात्रै धान आउने गरेको छ । पछिल्लो समय त दिनमा एक-दुईजना किसानमात्रै आउने गरेका छन् ।’
सरकारले ढिलो गरी धान खरिद गरेका कारण यसपटक सोचे अनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख एन्जिला बस्नेतले बताउनुभयो । तर, बिक्रीका लागि आउने क्रम भने नरोकिएको उहाँले बताउनुभयो । ‘टीकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ केही किसान अझै हामीसँग सम्पर्कमा छन्, धनगढीमा फाट्टफुट्ट धान आइरहेको छ, त्यसैले कोटाअनुसार धान आउनेमा आशावादी छौँ ।’
यसपटक धान खरिद प्रक्रिया अलि ढिलो सुरु भएका कारण पनि पर्याप्त धान नआएको अनुमान गरिएको उहाँले बताउनुभयो । ‘मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका कारण कात्तिकदेखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो,’ उहाँले भन्नुभयो, ‘जसका कारण धान खरिदमा केही ढिलाइ भएको हो ।’
टीकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आहृवान भइसकेको उहाँले बताउनुभयो । ‘धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौँ,’ उहाँले भन्नुभयो, ‘पिसानको ठेक्का लागेपछि टीकापुरको गोदाम खाली हुनेछ, त्यसपछि पुनः टीकापुरबाट पनि धान खरिद सुरु गरिनेछ ।’
यस वर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जसकारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको छ । ‘गहुँका लागि आवश्यक पर्ने मलखाद, बिउ तथा चाडबाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान बेच्नुपर्ने हुन्छ,’ धनगढी–१३ का किसान शिवचरण रानाले भन्नुभयो, ‘त्यतिबेला सरकारले कुनै निर्णय गरेन, जब हामीले सस्तो मूल्यमा व्यापारीलाई धान बेचिसक्छौँ, अनिमात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ ।’
कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महँगोमा बेच्ने गरेको उहाँको भनाइ छ । ‘किसानले व्यापारीलाई बढीमा २० रुपैयाँमा धान बेचेका छन्,’ उहाँले भन्नुभयो, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैयाँमा सरकारलाई बेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले नै ढिलो धान खरिद गर्ने गरेको छ ।’
सरकारले कात्तिक १६ गतेको मोटा धानको न्यूनतम मूल्य दुई हजार ९६७ र मध्यम धानको मूल्य तीन हजार १२८ कायम गरेको थियो । कात्तिकमा मूल्य निर्धारण गरे पनि सरकारले धान खरिद भने मंसिर २७ गतेबाट सुरु गरेको थियो । ‘सरकारले पुसबाट मात्रै धान खरिद गर्न सुरु गर्यो,’ धनगढी-३ का रामदास रानाले भन्नुभयो, ‘त्यतिबेलासम्म अधिकांश किसानले धान बेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको छ ।’
‘दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैयाँ निर्धारण गरेको थियो,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला व्यापारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष वर्षाले भिजेको भन्दै सरकारले धान नै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्यौँ, यस वर्ष सरकारले समयमा खरिद सुरु नगर्दा व्यापारीलाई नै सस्तोमा बेच्नुपर्यो ।’
धान बेचेर हिउँदेबाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैयाँमा धान खरिद गरेका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार ८८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।
गत वर्ष मोटो धानको मूल्य दुई हजार ७५० र मसिनो धानको मूल्य दुई हजार आठ सय निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका चारवटा स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी)बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको