नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस्

Read Time = 17 mins

✍️ मणि शर्मा

सोभियत संघको संरक्षणमा इन्दिरा गान्धीले पूर्वी पाकिस्तनमा अशान्ति फैलाई सैन्य हस्तक्षेप गरी स्वतन्त्र मुलुक बंगलादेशलाई जन्म दिइन् । भन्दा बंगलादेशी मुक्ति सेनाले बांगलादेशलाई स्वतन्त्र बनाएको भने तापनि यथार्थमा इण्डियन सेनाको हस्तक्षेपले बंगलादेशको जन्म भएको हो । यो युद्धको प्रत्यक्षदर्शी म आफूसमेत भएकोले इण्डियन सेनाको ठाडो हस्तक्षेप र बर्बरता देखेसुनेको साक्षी छु । अमेरिकी लेखक तथा अनुसन्धानकर्ताहरू र इण्डियन नेता जसवन्त सिंह र तत्कालीन इण्डियन सेनाका मेजर जनरल एस.पी.भाटियाद्वारा सम्पादित पुस्तकहरूमा सन् १९७१ को युद्धका् बारेमा लेखिएको छ ।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन इण्डियालाई पाकिस्तानमाथि आक्रमण गर्नबाट रोक्न सक्ने शक्ति चीन हो भनेर बुझेका थिए । राष्ट्रपति निक्सन र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एन लाईसँग निरन्तर सम्पर्कमा रही इण्डियाविरुद्ध आक्रमण गर्न आग्रह गरिरहेका थिए । सोभियत संघले चीनविरुद्ध आक्रमण गरे अमेरिका सोभियत संघविरुद्ध युद्धको चेतावनी दिएको थियो ।

उसले आफ्नो आणविक हतियारसहित पनडुब्बीलगायत नौ जहाज र नवै बमवर्षक विमान थाइल्याण्डबाट पूर्वी पाकिस्तान सीमामा पठाउँन लाग्दा ढाकामा पाकिस्तानी सेनाले इण्डियन सेनासमक्ष आत्मसमर्पण गरिसकेका थिए । यदि पाकिस्तानी सेनाले आत्मसमर्पण न गरेको भए इण्डिया पराजित भएर फर्किनुपर्ने स्थिति आउने थियो र पाकिस्तनको विभाजन हुने थिएन । पछि गएर अमेरिका र सोभियत संघबाट पाकिस्तानलाई हतियार आपूर्ति हुन छाडेपछि ऊ चीनतिर ढल्किन्छ ।

इण्डियाको चाहना नेपालले परराष्ट्र नीति भारतको चाहनानुसार गरोस् भन्ने थियो र आज पनि छ । राजा वीरेन्द्रलाई यो कुरा मन परेको थिएन । त्यसैले उनले इण्डियन प्रभावबाट नेपाललाई मुक्त गर्न शान्ति क्षेत्रको प्रस्ताव आफ्नो राज्याभिषेको दिन प्रस्ताव राखे ।

बांगलादेशमा विजयी भएपछि इन्दिरा गान्धीको गिद्धे दृष्टि सिक्किमतिर गयो । इन्दिरा गान्धीले लेण्डुप दोर्जेलाई रअको रणनीतिमा अगाडि बढाउँछिन् र सन् १९७५ मा कथित लोकतान्त्रिक संसद्लाई प्रयोग गरेर सिक्किमलाई भारतमा विलय गरिन् । यी दुवै घटनामा नेपालको भूमिका तटस्थ थियो तर जब इण्डियाले सोभियत संघसँग बीस वर्षे आणविक सुरक्षा सन्धि गरेपछि राजा महेन्द्र झस्के ।
राजा वीरेन्द्रको राज्याभिषेकमा सरिक नहुन इण्डियाले सिक्किम नरेश चोग्याललाई चेतावनी दिएको बाबजुद चोग्याल राजा वीरेन्द्रको राज्याभिषेकमा भाग लिन काठमाडौं आए । त्यसबेला उनले राजा वीरेन्द्रसँग एक घण्टाभन्दा बढी गोप्य छलफल गरेका थिए । सँगै अमेरिका, चीन, बेलायत र पाकिस्तनका प्रतिनिधिहरूसँग चोग्यालले भेट गरेका थिए । जसबाट इण्डिया झस्क्यो । उनी सिक्किम फर्किन नपाउँदै रअले काजी लेण्डुप दोर्जेलाई चोग्यालविरुद्ध खनिन लगायो । बाँकी इतिहासमै वर्णन छ ।

सोभियत संघसँगको बीस वर्षे आणविक समझौताले गर्दा इण्डियाले आफूलाई बलियो ठान्यो । त्यसबेला चीन र सोभियत संघको सम्बन्ध युद्ध हुने अवस्थामा थियो र अमेरिका चीनको नजिक आएको थियो । शीतयुद्धको समय थियो । सोभियत संघको साथ पाएपछि इन्दिरा गान्धी झन् बलियो भइन् । सिक्किमलाई निलेपछि उनले नेपालको तराई क्षेत्रलाई इण्डियामा विलय गराउने योजना बनाएको कुरा रअका तत्कालीन अधिकारी आर.के.यादवको पुस्तक ‘मिसन रअ’ मा उल्लेख छ । सन् १९५० को सन्धिलाई आधार बनाएर इण्डियाले नेपाल–इण्डियाबीच विशेष सम्बन्ध छ भनेर व्याख्या गर्ने विशेष सम्बन्धको उद्देश्य नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा निर्णय गर्दा इण्डियाको सुझाब अनुसार गरोस् भन्ने हो ।

इण्डियाको चाहना नेपालले परराष्ट्र नीति भारतको चाहना अनुसार गरोस् भन्ने थियो र आज पनि छ । राजा वीरेन्द्रलाई यो कुरा मन परेको थिएन । त्यसैले उनले इण्डियन प्रभावबाट नेपाललाई मुक्त गर्न शान्ति क्षेत्रको प्रस्ताव आफ्नो राज्याभिषेको दिन २०३१ साल फागुन १२ गते रोज २ को भोलिपल्ट विदेशी राष्ट्राध्यक्ष, प्रधानमन्त्री र प्रतिनिधिहरूका बीच शान्तिक्षेत्रको प्रस्ताव राखे जसलाई एक सय सोह्र मुलुकले समर्थन पनि गरे । तर, इण्डियाले आफ्नो कुटिल चाल चल्न यसको समर्थन नगरेकाले शान्ति क्षेत्र प्रस्ताव पारित हुन सकेन । उसले सोभियत संघले दिएको समर्थन पनि फिर्ता गर्न लगायो । आफ्नो राज्याभिषेकको भोलिपल्ट विदेशी पाहुनाहरूको स्वागतमा दिइएको भोजमा राजा वीरेन्द्रले भनेका थिए ‘असंलग्नताको नीति हामीले अँगाल्नुको कारण विश्वशान्तिको सम्भावना देखेर हो ।’

शान्ति क्षेत्रको प्रस्ताव राख्नुअघि उनले भनेका थिए, ‘हामी आफ्नो सुरक्षाका लागि शान्ति चाहन्छौं र आफ्नो स्वतन्त्रता र विकासको निम्ति शान्ति चाहन्छौं, हाम्रा जनता आफ्नो मुलुक, छरछिमेक र विश्वमा जताततै शान्ति चाहने भएकाले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका हौं । शान्तिलाई संस्थागत गर्ने त्यही उत्कट अभिलाषाले प्रेरित भएर नै म मेरो मुलुक नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु ।’

शान्ति क्षेत्रको प्रस्तावको भित्री उद्देश्य नै इण्डियन प्रभावबाट नेपाललाई मुक्त राख्नु राजा वीरेन्द्रको चाहना थियो तर इण्डियाले नेपाललाई आफ्नो प्रभावबाट मुक्त राख्न न हिजो चाहेको थियो न आज चाहन्छ र न भोलि नै चाहनेछ । हिजो राजा वीरेन्द्रले जुन पवित्र उद्देश्यले शान्ति प्रस्ताव राखेका थिए इण्डियाको त्यो कुत्सित योजना हाम्रो लम्पसारवादी शासकवर्गले निरन्तर रूपमा सफल पार्दै गइरहेको छ । राजा देशभक्त हुन्छन् र राजा हुन्जेल उनीहरूको नेपालविरुद्धको कुत्सित योजना सफल नहुने जानेरै नै राजदरबार हत्याकाण्ड रचाइयो र हाल संघीयता जबरदस्ती लादिएको छ ।

आज सरकार बनाउन होस् वा गिराउन हाम्रा नेताहरू तिनीहरू समु लम्पसार पर्दैआइरहेका छन् । नेपालबाट राजतन्त्र नै समाप्त पारी धर्म निरपेक्ष बनाउँदै संघीयता लादे । आज इण्डियाले नेपाल आइएसआईको एजेन्ट र आतंककारीको आश्रय स्थल भएको आरोप लगाइरहेको छ र यो केही मात्रामा सत्य पनि हो, नेपाल शान्ति क्षेत्र भएको भए उसलाई यिनीहरूको डर हुने थिएन । नेपाल शान्ति क्षेत्र हुनु पनि इण्डियाको लागि शुभसूचक थियो र छ । नेपाल शान्ति क्षेत्र भएमा नेपालमाथिको उसको हैकम गुम्ने डर इण्डियाको छ । एउटा स्वतन्त्र तथा सार्वभौमसम्पन्न मुलुकलाई आफ्नो हैकम तथा प्रभाव क्षेत्रमा राख्ने इण्डियाको नीति कसरी लोकतान्त्रिक हुन सक्छ ?

हाम्रा नेताहरूमा राजाको जस्तो देशभक्तिको भावना छैन । सत्ता प्राप्ति होस् वा सत्ता गिराउन इण्डियाको अगाडि लम्पसार पर्ने बानी लागिसकेको छ । यिनीहरूमा हामी नेपालीले नै नेपालको विकास गर्न सक्र्छौं, नेपाली जनताको सहयोगले राज्यसत्ता चलाउन सक्छौँ भन्ने आत्मविश्वास छैन । सत्ताबाट बाहिर रहनुपर्छ भन्ने भयले यिनीहरू हरहमेशा भयभीत छन् ।

एउटा हरिणको दगुर्ने वेग करिबप्रति घण्टा नब्बे किमी हुन्छ र एउटा सिंहको अन्ठाउन्न किमी । यसको बावजुद हरिण सिंहको सिकार हुन्छ । किनकि हरिणलाई भय हुन्छ कि ऊ सिंहभन्दा दुर्बल छ । ऊ सिंह कहाँसम्म आइपुग्यो भनेर फर्केर हेर्छ । आफ्नो पछिपछि सिंह आइरहेको देखेर उसको हौसला र मनोबल कमजोर भइदिन्छ र ऊ सिंहको सिकार हुन्छ । हाम्रा शासक वर्गको ठूला शक्तिप्रतिको हीनताबोध, आत्मबलको कमी, भयको मनस्थितिले गर्दा जहिले पनि ऊ विश्व शक्तिकेन्द्रको अगाडि लुत्रुक परेर कमजोर हुँदै आत्मसमर्पण गर्छ ।

राष्ट्रपिता पृथ्वीनारायण शाहले साम्रज्यवादी अंग्र्रेज र मुसलमान शासकलाई यो मुलुकबाट लखेटेर पठाएको इतिहास ऊ बिर्सन्छ । आफ्नो इतिहासलाई मेटाउने यी शासकवर्ग देशको शत्रु हुन । शक्ति भएर पनि हरिणको जस्तै दुर्बल मनस्थिति र हौसलाको कमीले सदैव विदेशी शक्तिकेन्द्रको गुलाम भएर बाँच्न मन पराउँछन् । नेपालको स्थिति फेरि शीत युद्ध कालीन अवस्था जस्तो छ । अमेरिकाको सम्बन्ध रूस र चीनसँग बिग्रिँदो छ । इण्डिया र चीनको सम्बन्ध सीमा विवादका कारण द्वन्द्वको अवस्थामा छ । हालसालै इण्डियन सेनाध्यक्ष मनोज पाण्डेले इण्डिया चीन र पाकिस्तानसँग सँगसँगै लड्न सक्षम छ भनेर चेतावनी दिएका छन् ।

देशको सार्वभौमसत्ता तथा स्वतन्त्रता जोगाउन पुनः शान्ति क्षेत्रको प्रस्तावलाई नब्युँताए भोलिका दिनमा नेपालको अस्तित्व रहन्छ भन्ने कुनै प्रत्याभूति छैन । त्यसैले अन्तिम विकल्प सरकारले नेपाललाई शान्ति क्षेत्र घोषणा गरी विश्वको समर्थन लिन जरुरी छ ।

मनोज पाण्डेको यो चेतावनीले पनि चीन र भारतको सम्बन्ध कस्तो छ विश्लेषण गर्न सक्छौँ । उता अमेरिका जेलेन्स्कीलाई क्रिमयामाथि आक्रमण गर्न उक्साइरहेको छ, चाहिने हतियार अमेरिकाले दिने भनिसकेको छ । रूस चुप लागेर बस्ने छैन । चीन पनि अहिलेको विश्वशक्ति हो । कतै सानो चूक भयो भने विश्वयुद्ध हाम्रो दैलोमा छ । यहाँ पनि जेलेन्स्कीहरूको कमी छैन । चिनीयाँ प्रभावलाई रोक्न अमेरिकाले इण्डो प्यासिफिक रणनीति ल्याएको छ जसमा हाम्रा शासकवर्गले नेपाललाई त्यो भुँमरीमा हालिसकेका छन् । करिब पाँच दशकभन्दा पनि अगाडि एउटा विदेशी लेखकले काठमाडौं तेस्रो विश्वयुद्धको उद्गम स्थल हुनेछ भनेर लेखेका थिए । हाम्रा शासकवर्गको कार्यशैली र कार्यनीति हेर्दा यो भविष्यवाणीलाई साकार नहोला भन्न सकिँदैन ।

राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्ताव तत्कालीन अवस्थामा चीन र भारतबीच चलेको द्वन्द्वका कारण नेपालको स्वतन्त्रता जोखिममा परेकाले ल्याइएको थियो । तर, अहिले चीन र भारत मात्र होइन अहिले सात समुद्रपारिका युरोप र अमेरिकासमेत यो द्वन्द्वमा एक ठाउँमा आइपुगेको अवस्था छ । महाशक्तिबीचको द्वन्द्वबाट नेपाललाई जोगाउन अहिले पनि शान्ति क्षेत्रको महत्व महत्वपूर्ण छ ।
देशको सार्वभौमसत्ता तथा स्वतन्त्रता जोगाउन पुनः शान्ति क्षेत्रको प्रस्तावलाई नब्युँताए भोलिका दिनमा नेपालको अस्तित्व रहन्छ भन्ने कुनै प्रत्याभूति छैन । त्यसैले अन्तिम विकल्प सरकारले नेपाललाई शान्ति क्षेत्र घोषणा गरी विश्वको समर्थन लिन जरुरी छ र इण्डियालाई जसरी हुन्छ शान्ति क्षेत्र प्रस्तावप्रति सकरात्मक धारणा बनाउने सरकारको जिम्मा हो । इण्डियालाई पनि नेपाल शान्ति क्षेत्र बने घाटा होइन नाफा नै हुनेछ । कट्टर हिन्दूवादी र हिन्दू संविधान बनाउन लागेको इण्डियन सरकारले हाम्रो सनातन मान्यतालाई शिरोधार्य गर्छ भनेमात्र ऊ हिन्दूवादी शासक कहलाउन सक्छ । वेदमा भनिएको छ :
ॐ द्यौः शान्ति रन्तरिक्षः शान्ति पृथ्वीः शान्ति रापः शान्ति रोषधयः शान्तिः । वनस्पत्यः शान्ति विश्वेः देवा शान्तिर्बहृम शान्तिः सर्वे शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?