कार्यविधिको अभावमा एक वर्षदेखि कोहलपुर नगरपालिकाको एम्बुलेन्स प्रयोगविहीन

Read Time = 5 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद गरेकोे एक वर्ष बितिसक्दासमेत अझै सञ्चालन आउन नसकेको छैन ।
एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि निर्माण नहुँदा र चालकको व्यवस्थापन हुन नसक्दा एक वर्षयता एम्बुलेन्स प्रयोगविहीन छ । गत बैशाख महिनामा टेण्डर प्रक्रियामार्फत ४४ लाख ९० हजार रुपैयाँ मूल्यमा एम्बुलेन्स खरिद गरिएको थियो । त्यतिबेला लूटबहादुर रावत नगरप्रमुख हुनुहुन्थयो । उहाँ पाँच वर्षे कार्यकालमा एम्बुलेन्स सेवा समेत सञ्चालन गर्न नसकेको भन्दै आलोचना खेप्दै आउनु भएको थियो । तर, जादाँजादैँ उहाँले एम्बुलेन्स खरिद गरेर विदा हुनुभयो ।

बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत पूर्णप्रसाद आचार्य निर्वाचित भएको पनि दश महिना बितिससकेको छ । युवा नगर प्रमुखका रुपमा जनमैत्री काम गर्ने अपेक्षा गरिएका आचार्यले समेत अत्यावश्यकीय सेवाको रुपमा रहेको एम्बुलेन्स सेवा सञ्चालन गर्न सक्नुभएको छैन । यतिसम्म की कार्यपालिका बैठकले एक जना चालक सिफारिस गर्ने जिम्मा दिएको एक महिना हुँदासमेत उहाँले चालक सिफारिस गर्न सकनुभएको छैन । गत मंसिर २७ गते बसेको कोहलपुर नगरपालिका कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालनका लागि नगर प्रमुखको सिफारिसमा ज्यालादारीमा लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

त्यसैले नगर स्वास्थ्य शाखाको परिसरमा दश महिनायता एम्बुलेन्स पूर्णरुपमा प्रयोगविहीन छ । अहिले कार्यविधि नबनेको त कहिले एम्बुलेन्स सञ्चालन गर्न चालक नभएको बाहनामा नगरपालिकाले एम्बुलेन्स सञ्चालन गर्न बिलम्भ गरिरहेको छ । एम्बुलेन्स सञ्चालनका विषयमा नगर स्वास्थ्य शाखा भने अनविज्ञता प्रकट गर्छ । नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी आफूले लामो समयदेखि शाखाको अगाडी एम्बुलेन्स थन्किएको देखेको तर सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । उहाँका अनुसार अनुसार एम्बुलेन्स सञ्चालनका विषयमा आफूले प्रमुख प्रशासकीय अधिकृतलाई जिज्ञासा राख्दै आएपनि एम्बुलेन्स भने सञ्चालन हुन सकेको छैन । ‘मैले कार्यविधि भनेको छैन भन्ने सुनेको थिएँ । चालक व्यवस्थापन गर्ने काम भइरहेको छ । मैले अगाडी देखेको धेरै भयो । कहिले सञ्चालन हुने हो थाहा छैन ।’ उहाँले भन्नुभयो ।

यता, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अबको एकसातामा कोहलपुरमा नियमित एम्बुलेन्स सेवा सुरु हुने बताउनुभएको छ । उहाँले नगर प्रमुख आचार्यको सिफारिसमा ज्यालादारीमा चालकको व्यवस्थापन भइसकेको बताउनुभएको छ । ढकालका अनुसार कार्यपालिका बैठकले चालक सिफारिस गर्ने जिम्मा नगरप्रमुखलाई दिएको थियो । उहाँको सिफारिस अनुसार नगरपालिकाले एम्बुलेन्स चालक सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । एम्बुलेन्स चालक ज्यालादारीमा दैनिक हाजिरीका आधारमा मासिक रुपमा तलब दिने गरेर व्यवस्थापन भएको उहाँको भनाइ छ । एम्बुलेन्स चालक कोहलपुर नगरपालिकाका स्थानीय नागरिक हुनुहुन्छ ।

‘यो अक्सिजनसहितको एम्बुलेन्स हो । यसले जटिल खालका बिरामी बोक्छ । त्यसैले दैनिक सञ्चालन नहुन पनि सक्छ । विशिष्ट परिस्थितिमा भने जतिबेला पनि सञ्चालन गर्न सकिन्छ । अबको एक हप्तामा नियमित सञ्चालन हुन्छ,’ ढकालले भन्नुभयो । एम्बुलेन्स सेवा सञ्चालन भएमा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनेछन् । यस्तै एम्बुलेन्स प्रयोगमा नगरबासीलाई २५ प्रतिशत छुट समेत दिइने निर्णय गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?