दश महिनादेखि पाटन-धनगढी हवाई सेवा बन्द

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको पाटन विमानस्थलमा झन्डै एक बर्षदेखी उडान हुन सकेको छैन । गत चैत दोस्रो साता समिट एयरले पाटन–धनगढी उडान भरेको थियो । त्यस यता कुनै पनि उडान भएको छैन । यात्रु अभावले चैत १० गतेपछि कुनै पनि उडान हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधी कृष्णदत्त भट्टले जानकारी दिनुभयो । यात्रुहरु नहुँदा पाटन धनगढी उडान हुन नसकेको भट्टले बताउनुभयो । ‘यता यात्रु नहुँदा एयरलाईन्सले विमानलाई पुर्व सिफ्ट गरेको थियो’ उहाँले भन्नुभयो, ‘धनगढी–पाटन उडान कहिलेबाट हुने भनेर अझै टुङ्गो छैन्।’ लुक्ला र जोमसोममा पर्यटकहरु बढेको भन्दै एयरलाइन्सले विमानलाई पुर्व सिफ्ट गरेको थियो । यसबर्ष पनि पर्यटकको सङख्या बढे उतै उडान भर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

समिट एयरले प्रत्येक बिहीबार पाटन–धनगढी , धनगढी–पाटन उडान भर्ने गरेको थियो सरकारले करोडौ रकम खर्च गरेर निमार्ण गरेको विमानस्थल प्रयोग बिहीन बनेको छ । नागरिकहरुको सजहताका लागि विमानस्थल निमार्ण गरिएको भएपनि १० महिनादेखि हवाई सेवा बन्द रहनु दुखद रहेका पाटन नगरपालिका ४ का स्थानीय भागरथी भट्टले बताउनुभयो । नियमित विमान आउँदै अर्काेतर्फ भाडा पनि महँगो रहेको उहाँको भनाइ छ । ‘पाटनदेखि धनगढी पुग्न १७ मिनेट लाग्छ । भाडा पाँच हजार छ ’उहाँले भन्नुभयो ‘सबैको आर्थिक अवस्थाले भ्याउँदैन , भाडा महँगो भयो  ।'
द्धन्दका बेला विमानस्थलका संरचना ध्वस्त भएपछि २०५२ साल यता पूर्ण रुपमा विमानस्थल बन्द थियो । २६ बर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो । नियमित रुपमा यात्रुहरुले नपाउँदा एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो । एयरलाइन्सहरुले शेड्युलमा राख्ने गरेको भएपनि यात्रु नपाएको भन्दै उडान नभर्ने गरेको उहाँले जानकारी दिनुभयो । ‘निजी एयरलाइन्स कम्पनिहरु जहाँ यात्रुहरु त्यही जान्छन्’ ,उहाँले भन्नुभयो ‘शेड्युलमा राख्ने गरेको भएपनि प्यासेन्जर छैन भनेर एयरलाइन्सले फ्लाइट गरीराख्या छैन् । ’

बैतडीको पाटन विमानस्थल संगै डोटीको दिपायल र बझाङको देवल विमान स्थलको एकै दिन तत्कालिन सस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उद्घाटन गरेका थिए । बझाङको देवल विमानस्थल मात्रै अहिले उडान भैरहेको छ । पाटन विमानस्थलमा चैत १० देखि र डोटीको दिपायल विमान स्थलमा भदौ ६ गतेपछि उडान हुन सकेको छैन ।

बैतडीको पाटन विमानस्थल ११ करोडको लागतमा २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावनमार्ग सहित अन्य भौतिक संरचना पुर्ननिर्माण गरिएको थियो । यस्तै पाटन विमानस्थलमा निमार्ण हुन लागेको टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ । यसै बर्ष भित्र सक्ने काम गरी भैरहेको आयोजनाका इन्जिनियर कविन्द्र बर्जाचार्यले जानकारी दिनुभयो । भवन निमार्णको काम सकिएको छ । झ्याल र अगाडी पट्टीको ढोका लगाउन मात्रै बाँकी रहेको छ बर्जाचार्यले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?