बाह्रौँ पुष्पलाल स्मृति ब्याडमिन्टन विराटनगरमा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा १२औँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा हुने भएको छ । फागुन २ देखि ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सह-आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामग्री उत्पादन संस्था लिनिङ रहेको छ । लिनिङको प्रायोजनपश्चात् प्रतियोगिताको नाम ‘लिनिङ १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ रहनेछ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शीर्ष १६ वरीयतामा रहेका पुरुष एकल, शीर्ष १२ वरीयतामा रहेका महिला एकल, शीर्ष १६ वरीयताबाहेकका पुरुष एकल, शीर्ष १२ वरीयताबाहेकका महिला एकल, पुरुष र महिला युगल, यू-१७ छात्र र छात्रा एकल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथि गरी १० विधामा करिब ३०० खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।

करिब २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार राशि पाँच लाख ९८ हजार रहेको छ । जसअन्तर्गत शर्ष १६ वरीयता पुरुष र शीर्ष १२ वरीयता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । यस विधामा खेल्ने खेलाडीहरूले खेलमा सहभागिता जनाउनेबित्तिकै नगद एक हजार ५०० प्राप्त गर्नेछन् । यसैगरी लिग चरणमा प्रत्येक जितबापत थप एक हजार ५०० प्राप्त गर्नेछन् ।

क्वाटरफाइनल जित्ने खेलाडीले थप आठ हजार प्राप्त गर्नेछन् । सेमिफाइनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप पाँच हजार प्राप्त गर्नेछन् । यस्तै, उच्च वरीयताबाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ वर्ष माथि र ५५ वर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः नगद २० हजार, १० हजार र पाँच हजार तथा यू–१७ छात्र तथा छात्रा एकलतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः १५ हजार, आठ हजार र चार हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका दौरान सहभागी हुने खेलाडीहरूलाई एक छाक खाना तथा बसोबासको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?