काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको १९औँ संस्करण आगामी फागुन २३ गते हुने भएको छ । सोमबार मञ्चले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पल्सर स्पोर्ट्स अवार्ड आगामी फागुन २३ गते हुने घोषणा गरेको हो । वि.सं. २०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।
२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्फत् सम्मान गरिनेछ । सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकका रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ । मञ्चको उक्त कम्पनीसँग १४औँ वर्षको सहकार्य हो ।
सम्झौतामा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पुर्याएका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताउनुभयो । यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा कुल नौ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिनुभयो ।
यसअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् ।
वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हृयाम्पर पाउनेछन् ।
अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताउनुभयो । यसका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष सुवेदीले अर्थतन्त्र नै शिथिल अवस्थामा रहेको समय हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको सहकार्य निरन्तर हुनु समग्र खेलकर्मीकै लागि सुखद पक्ष रहेको बताउनुभयो । मञ्चका पूर्वअध्यक्ष एवं एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले यो अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाउँमा उभ्याउने माध्यम बनिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच