‘नेपाल स्वास्थ्य क्षेत्रको हब बन्न सक्छ’

Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान, सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर यस्तो आग्रह गरेको हो । भेटमा अध्यक्ष डा. केसीले नेपालमैत्री स्वास्थ्य नीति तर्जुमा गर्न स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञलाई एकै स्थानमा ल्याउन जरुरी भएको बताउनुभयो ।

नेपालबाट अर्बौं रुपैयाँ स्वास्थ्य सेवा तथा सामग्रीका लागि बाहिरिने गरेकाले नेपालमै अत्याधुनिक स्वास्थ्य संयन्त्र, सेवा र प्रविधि स्थापित गरी विदेशबाट समेत नेपालमा उपचारका लागि आउन सक्ने वातावरण निर्माण गरेर नेपाललाई स्वास्थ्य हब बनाउन सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ । सो अवसरमा उहाँले एनआरएनएले विश्वभर फैलिएको कोरोना महामारीबीच कोरोना प्रभावित नेपालीको तथ्यांक संकलन एवं ५२ देशका तीन लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष सहयोग गर्नुका साथै नेपालमा स्वास्थ्य सामग्री र अक्सिजन सिलिण्डर, कन्सन्टेटर उपलब्ध गराएको जानकारी गराउनुभयो ।

एनआरएनएकै पहल र स्वास्थ्य सेवा विभागको समन्वयमा हाल भरतपुर अस्पताल, सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना कार्य अन्तिम चरणमा रहेको छ । त्यसैगरी स्थानीय सरकारसँगको सहकार्यमा एक प्रदेश, एक मोबाइल ब्लड बसको अवधारणा ल्याएकोमा हालसम्म बागमती र सुदूरपश्चिम प्रदेशमा दुईवटा बस हस्तान्तरण गरिसकिएको पनि एनआरएनएले जनाएको छ । तर, यस्ता कार्यमा जग्गा प्राप्ति, स्थानीयको सहकार्यसमेत आवश्यक हुने भन्दै सहजीकरण गरिदिन अध्यक्ष केसीले आग्रह गर्नुभएको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य क्षेत्रमा रहेको ठूलो अभाव पुर्न गैरआवासीय नेपालीले अवसर खोजिरहेको भन्दै स्वास्थ्य क्षेत्रमा लगानी गरी नेपाललाई स्वास्थ्य हब बनाउन सकिने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई प्राथमिकताका साथ नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रको बृहत् विकासका लागि सरकार तपाईंहरूसँग सहकार्य गर्न तयार छ, विशेषतः विकट क्षेत्रका विपन्न जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि एनआरएनएको भूमिका अझ अहं हुनसक्छ, यस विषयमा हामी निरन्तर छलफलमा रहनेछौँ र पक्कै हातेमालो गर्नेछौँ ।’

सो अवसरमा एनआरएनएका पूर्वउपाध्याक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गोविन्द गौतम, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रामेश्वर गौतम(रसिया), राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का पूर्वअध्यक्ष दिनानाथ राजभण्डारीलगायतको उपस्थिति रहेको एनआरएनएले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?