त्रिविका आन्तरिक टर्मिनल प्रमुख चुडाल अख्तियारको नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुडाललाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । झापाको बाह्रदशी गाउँपालिका-६ रूप्चनवाडी घर भई चुडाल हाल काठमाडौंको सिनामंगलमा बस्दै आएका थिए । घूस रिसवत लिएको विषयमा उनलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई विमानस्थलभित्र प्रवेश गर्न पास बनाइदिन भन्दै डेढ लाख रुपैयाँ लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रति महिना १० हजारका दरले २०७८ कात्तिकदेखि हालसम्म १५ महिनाको एकमुष्ट एक लाख ५० हजार रुपैयाँ घुस लिएका थिए । उनलाई आयोगको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

नोटका नम्बरहरू आयोगले पहिल्यै नोट गरेको थियो । यस्तै आयोगले उनको कार्यकक्षबाट आठ लाख रुपैयाँ पनि बरामद गरेको छ । चुडालले त्यो रकमको स्रोत खुलाएका छैनन् । यस्तै उनको कार्यकक्षबाट विभिन्न ब्रान्डका नौ बोतल रक्सी र सिल प्याक नयाँ चार थान मोबाइल पनि फेला परेको छ । आयोगको टोलीले उक्त सामान पनि जफत गरेको छ । चुडाल यसअघि नागरिक उड्डयन कार्यालय, चन्द्रगढी झापाबाट सरुवा भएर काठमाडौं आएका थिए । चुँडाल नवौं तहका कर्मचारी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?