प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नोे प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहनुभएका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले सोमबार राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो । ‘मैले पार्टीमा जिम्मेवारी दिनुहोस् भनेर आग्रह गरेको थिएँ तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,’ गजुरेलले भन्नुभयो ।

गजुरेल २०७४ मा सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो भने २०७९ को निर्वाचनमा उहाँलाई पार्टीले उम्मेदवार बनाएन । उहाँ संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली-३ बाट निर्वाचित हुनुभएको थियो भने २०७२ मा कृषिमन्त्री हुनुभएको थियो । गत निर्वाचनमा टिकट नपाएपछि गजुरेल प्रचण्डसँग असन्तुष्ट भएका खबर सार्वजनिक भएका थिए । उहाँले पार्टी कार्यालयमा आफ्नो असहमति पत्र पनि बुझाउनुभएको थियो । उहाँ सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहनुहुन्थ्यो तर उहाँको स्थानमा लेखनाथ दाहालले टिकट पाएर विजयी हुनुभयो ।

प्रधानमन्त्री दाहालले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित सात जनालाई नियुक्त गरिसक्नु भएको छ । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गर्नुभएको थियो भने स्वकीय सहसचिवका रूपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गर्नुभएको छ । शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्रीको फोटो पत्रकारमा राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?