राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई सोमबार नै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । यसअघि पनि डा. श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसक्नु भएका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुभएको थियो ।

डा. श्रेष्ठले साढे चार वर्ष राष्ट्र बैंकको अनुसन्धान विभागमा कार्यकारी निर्देशक र प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेको अनुभव छ । राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । नेपालबाट एमपिए, बेलायतबाट एमबिए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका श्रेष्ठको परिकल्पनामा हरियाली मोडलको कृषि फार्म बेनीमा सञ्चालित छ । बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा आएको यो अवधारणको ‘हरियाली कृषि फार्म’ अहिले यस क्षेत्रकै नमुना बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?