नियात्रा :  पोखरादेखि रूपसेसम्म

हिमालय टाइम्स
Read Time = 21 mins
A A- A+

✍️ ताराबहादुर बुढाथोकी

१४ गते
अब भने मेरो लागि यात्रा सुरु भयो है । पोखारासम्म त पहिले पत्नीसँग, छोरासँग, दुई पटक आइसकेको थिएँ । पोखराबाट कागबेनी पुग्नु थियो । उज्यालो भूइँमा खस्दै गर्दा सुवास नाम गरेको नयाँ बस हामीलाई बोक्न आइसकेको थियो । धरानबाट जाने बस हामी नफर्किउन्जेलसम्म पोखरामै आराम गर्ने भयो । सुत्ने सिट भएको बस छाडेर बस्ने सिट भएको बस आएको देखेपछि नै हामीलाई लाग्यो कि अब बाटो सहज छैन । आफ्नै आवाजमा इन्जिन कराउन थाल्यो । बस उत्तराभिमुख भएर गुड्न सुरु ग¥यो । पानीको विपरीत दिशामा बगिरहेको बसको झ्यालबाट सामुन्नेमा हिमाल देखिन थाल्यो । भाइरल सेल्फी रोड पुगेपछि त चाँदीको डल्लाहरू शृंखलाबद्ध भएर बाटो अगाडि उपस्थित भए लहरै ।

होइन सडक किनारा, सडकभरि हिमाल पोखिएपछि पोल्टामा अटेसम्म त बटुल्नुपर्छ । तीन दिन भोकाएको सन्तानलाई आमाले थालभरि दहीचिउरा दिएजस्तै भयो लालायित आँखाहरूसामु उभिएको हिमालय । दैनिक डेढ हजार विद्यार्थीर्का अगाडि उभिएर परिपक्वता सिकाउने तीन दर्जन गुरुलाई हिमालले चञ्चल, चपल र बालसुलभ बनाइदियो । सडकका बीचमा गुडिरहेका गाडीहरूसँग कुनै पर्वाह नगरी क्यामेराका लेन्सभित्र आफ्ना छायाँछवि कैद गर्नमा व्यस्त देखिन्थ्यौँ । प्रकृति आमा हुन् नि त, आमाको अगाडि कुन सन्तानमा वात्सल्य आउँदैन र ! हाम्रो लापरवाही मातृस्नेहबाट गद्गद् हुँदै हिमाल हाँसिरहृयो । केहीबेरपछि लुम्ले पुगेर चियाको लागि रोकियो । अण्डा पनि खाने कि भनेर सोध्दै थिएँ, मुक्तिनाथको दर्शन नगरी नखाने निर्णय सुनाएँ ।

पोखरामा एउटा झोला छोडेर लुम्ले पुगेका हामीलाई अलि साथमा भएको सातु कम हुने हो कि भन्ने हल्का चिन्ता त भयो, यद्यपि यात्रा जोखिमको अर्को नाम पनि त हो । फूर्तिसाथ बस अगाडि बढ्यो ।

लुम्लेमा चियाको चुस्कीसँगै समुहमा झुरुम्म भएर केही साथीहरू छलफलमा व्यस्त देखिनुभयो । केहीबेरमा अपर मुस्ताङ पनि जाने बरू देवघाट र सौराहा क्यान्सिल गर्ने प्रस्ताव आयो । हिमालपारिको आश्चर्यजनक भूगोल हेर्ने प्रस्ताव सबैबाट स्वीकृत भयो नै । भरत कुलुङ सरले यो प्रस्ताव अगाडि बढाउनुभएको रहेछ । कम्पनीसँग फोन पनि गर्नुभयो र थप दुई हजार ५ सय थप्नुपर्ने भयो । स्वर्गको टुक्रालाई आँखाभित्र अटाउन पाइन्छ भने दुई हजार ५ सय किन नतिर्ने ? आठ दिनका लागि तय भएको यात्रा अवधि पनि त लम्बिएन ।

पोखरामा एउटा झोला छोडेर लुम्ले पुगेका हामीलाई अलि साथमा भएको सातु कम हुने हो कि भन्ने हल्का चिन्ता त भयो, यद्यपि यात्रा जोखिमको अर्को नाम पनि त हो । फूर्तिसाथ बसअगाडि बढ्यो । अल्छी गरेर पनि कहाँ पार लाथ्यो र हामीले स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी काटेर मुस्ताङको कागबेनीमा बासबस्नु थियो । बीचमा रहेको बाग्लुङ कालिका मन्दिर, पर्वत जोड्ने पुल दर्शन गरेर खाना पकाएर खानु थियो । रूपसे झर्ना अवलोकनको मजा नलिई भएकै थिएन । पहिरोले संकटापन्न बनाएको बाटोमा ठाउँठाउँ पैदल यात्रा गरेर बसलाई सघाउनुपर्छ भन्ने पनि सुनियो ।

पाल्पाबाट गण्डकी पुल तरेर बाग्लुङ जिल्लामा पुग्ने बित्तिकै पहिलो घुम्तीमा बाग्लुङ कालिका मन्दिरको गेट देखियो । ओर्लिएर आङ तान्दै दायाँपट्टि हेरे को त लोकदोहोरी कलाकार श्याम राना पूजा सामानको विज्ञापन गर्दै रहेछन् । दर्शनार्थीहरू उनीसँग सेल्फी हानन, टिकटक बनाउन र भिडियो खिच्न उद्यत् देखिए । हामीले पनि श्याम रानाजी पो भनेर फोटो खिचायौँ । उनले सुनले बाँधेका दाँत देखाएर फोटो पोज दिए । सेलिब्रेटीसँग फोटो खिच्ने कसको रहर हुन्न र प्रअज्यूलगायत नारायन श्रेष्ठ सर र साथीहरूले पनि क्लिक पा¥यौँ । अब हामीलाई बाग्लुङ कालिकाले तानेर मन्दिरको गेटबाट भित्र लगिन् ।

जति हिन्दै गयो उति मोहनीले तान्दै लग्यो । भक्तिभावले हृदय भरिएर आयो । आस्था र विश्वासको अन्नपूर्ण मनभरि चुलिएर आयो । शान्त वाटिका, मूर्तिहरूको ओठबाट फुस्किएका मुस्कानको आलोक र घण्टीका आवाजहरूको मेगाहर्जले ब्युँझाएको मन, नसानसामा भक्तिभावले दिएको अनुकम्पाबाट उचालिएका पाइलाहरू । मन्दिरको परिसमा छमछम हिँड्न थालेपछि न्युटन, डार्बिन, आइन्साटाइन र स्वयं कार्लमाक्र्स पनि अध्यात्मको सत्चितानन्दमा रम्ने कुरामा शंका छैन । तिनले बाग्लुङ कालिका मन्दिर देखेका भए धर्मलाई अफिमसँग तुलना गर्ने थिएनन् होला । असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय भन्ने थिए ।

मन्दिरको बनावट, परिसरको सरसफाइ, भीडभाड र मान्छेहरूको तन्मयता देखेर मनमा भएको पदार्थवादको भूत निस्क्यो । चिन्मय सत्चितानन्द प्रवेश भयो आँखाका नानीहरूमा । ६ महिनाको उमेरमा आमा मरेपछि टुहुरिएको म त कालीको भक्त नै हुँ । १३ वर्षको उमेरदेखि महाकालीलाई आमाको रूपमा मान्दै आएको म । चण्डी कवच पढेर तीनपटक परिक्रमा गरेँ । आमाको चरणकमलमा साष्टांग दण्डवत गरेर शिर राख्दा आँखाभरि भक्तिजल डब्डबाए । मैले नसोचेको चिन्मय सुखानुभूति गरेँ । म आमाको पूजा, आराधना, ध्यान जप सबै गर्छु । माग्दा भने विल्कुल सबैलाई शक्ति माग्छु ।
सर्वमाङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्य त्र्यम्बके गौरि नारायणि नमोद्रस्तुते ।
(अर्थात् सबैको मङ्गल होस्, सबैको कल्याण होस्, सबैले सोचेको पुगोस् ।) सनातन धर्म त्यसमा पनि मातृशक्तिको पूजन गर्नेहरू कहिल्यै स्वार्थी भएर अरूको कुभलो सोच्दैनन् । सोचिहाले पनि माता कालीले अरूको कुभलो हुने कुरा ठाडै अस्विकार गर्छिन् ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ भनिएको पनि छ । आठ दिने भ्रमणको केन्द्रीय र हार्दिक आनन्द यसैलाई माने मैले चाहिँ । आत्मिक सुखभन्दा उपल्लो सुख के नै हुन्छ र !

पश्चिम नेपालको बाग्लुङ जिल्लाको दक्षिण पूर्वमा अवस्थित बाग्लुङ कालिका भगवतीको मन्दिर सनातानीहरूको आरध्य तीर्थस्थल रहेछ । मन्दिरको प्रांगणमा चारवटा प्रवेशद्वार छन् । परिसरमा शिव, राधाकृष्ण, लक्ष्मी-नारायणलगायत देवदेवीमा समर्पित फराकिलो संग्रहालय समाविष्ट छ । पर्वत जिल्लाका राजा प्रतापनारायण सिंह मल्लले राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाइजोमा कालिकाको मूर्ति पाएका थिए । विवाह समारेह समापन पछि घर फर्कने क्रममा दुलाहा दुलहीले जंगलमा शरण लिएका थिए ।

भेलिपल्ट एक व्यक्तिल मूर्तिलाई उचाल्न, सार्न सकेन । सबै मिलेर पनि मूर्तिलाई हलचल नगरेपछि राजाले मन्दिर बनाएर मूर्ति स्थापित गरे भन्ने किबदन्ती पनि रहेको पाइयो । यहाँको माननीय को हो ? भनेर मनोज सरले प्रश्न गर्नुभयो । डोलनाथ नेपाल सरले फ्याट्ट चित्रबहादुर केसीको नाम लिनुभयो । केसी ‘बा’ नेपालमा संघीयताविरोधी भनौँ वा राष्ट्रिय अखण्डताको उग्र पक्षधर चिन्तनको पर्याय बनेका छन् ।

एक घण्टामा डुलिसकियो तर भात पाकेकै थिएन । हेर्ने ठाउँ पनि मैझारो भएको थिएन । सिधै केही सय मिट छड्किएर अघि बडेपछि एशियाको आश्चर्य देखियो । गण्डकी नदीको सतहदेखि १२२ मिटरमाथि यो पुल बनेको रहेछ । एसियाकै सर्वाधिक लामो यो झोलुङ्गे पुलका लम्बाइ ५६७ मि.छ । पर्वत जिल्लाको कुश्मा नगरपालिकको अदुवाबाारीमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा-१ बाङ्गेचौरसँग जोड्छ । एकपटक तर्न भनी संसारका अनेक देशहरूबाट मानिसहरू आउँदा रहेछन् । पुल तर्दै गर्दा न्यूजील्याण्डका दुईजना र पाँचजना भारतीय नागरिकहरू भेटेँ । पुलमाथि एक युवतीले भनिन्- ‘भाइया, क्या आप हमार गु्रप फोटो लेलेङ्गे ?’

मैले जी हाँ भनेर क्यामेरा त समातेँ तर पुलबाट चुहिएको दृष्टि गण्डकीतिर खस्दा कामेका थिए हातगोडा । तर पनि बहादुर नेपाली बनेर दुईखेप फोटो क्लिक पारेर क्यामेरा बुझाएँ । ‘शुक्रियाँ’ क्यामेरा समात्नेले भन्यो । म मात्र कामेको होइन रहेछु सबैलाई यस्तै भएछ । नडराई अलिअलिमात्र काम्दै पारि पुग्ने साथीहरूको हिम्मतलाई सलाम गरेँ । नाम भन्न मिलेन, हाम्री सुशीला दिदी वारि नै रमाउनु भएछ । यसो उँधो हेरेको गण्डकीमाथिको मोटरेबल पुल र पाखाका रूखका टुप्पाहरू त कता हो कता तल, एक सय मिटरभन्दा तल, ठीक झोलुङ्गे पुलमुनि ।

आहा.. २०७७ मा बनिसकेको यो पुलमा मान्छेहरू वारिपारि त गर्न पाए नै, एकपल्ट तर्नकै लागि मान्छे आउँदा पर्यटनको केन्द्र नै बन्न पुगेको रहेछ । पुलबाट उत्तरतर्फ हेर्दा नीलो गण्डकी नदी, बालुवा टल्किने बगर अनि अलि माथि हिमालयको शृंखला । आहा... स्वर्गको टुकुरा नि भाइ ! अर्जुन पराजलुी दाइ (शेरबहादुर सर) ले भन्नुभयो । सामूहिक तस्वीर, खानापछि ११ बजेर ३० मिनेटमा हाम्रो यात्रा म्यग्दीतिर सोझियो । बाग्लुङभरि त बाटो राम्रो हो, पक्की नै रहेछ । म्याग्दी पुगेपछि गाडीले जर्किङ गर्न थाल्यो । मास्तिरबाट उत्तिससँगै बगेर आएको सिमले ठाउँठाउँमा अवरोध गरेको पाइयो । घुम्ती र मोडहरूको कुरा गर्नै परेन । उकालो भने उत्तिसारो होइन । कालीगण्डकीको किनारबाट हल्का छड्के सतहमा मोटर गुडिरहृयो । घुम्तीबाट मोटरको झ्यालभित्र हाम्रो काखैमा हिमाल आइपुग्थ्यो । लुकारी भनौँ वा चाकाचुली । नदी किनारबाट समेत हिमाल देखिएको देखिएकै गर्नु चानचुने कुरा होइन । १.१० तिर बेनी बजार आयो ।

गलेर हैरान भएर थकाइ मारियो । दुई बजे वेनी कटेर केही पर पुगियो । बसको झ्यालबाटै दायाँपट्टि बाटोमुनि एउटा मन्दिर देखियो । धार्मिक ग्रन्थमा अनादि कालदेखि पवित्र स्थानका रूपमा वर्णन गरिएको गलेश्वर महादेवको मन्दिर रहेछ । सत्ययुगमा ब्रहृमाका पुत्र पुलै ऋषि, त्रेता युगमा ऋषभ देवका छोरा रावण र राजर्षि भरतले हरियो वन बगैँचा, ताजा शुद्ध हावापानी र जंगली फलफूलको बीचमा तपस्या गरेका थिए । यो स्थानमा श्राद्ध वा मृत्यु संस्कार गरेमा मृतकका आत्माले स्वर्गमा बास पाउँछन् भन्ने जनविश्वास रहेको पाइयो ।

तीन बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका आाइपुग्यो । कालिगण्डकी धेरैपल्ट तर्नुपर्ने सामुन्नेमा घरि माछापुच्छ्रे, घरि धौलागिरि, घरि अन्नपूर्ण तँ भन्दा म अग्लो भनेर प्रतिस्पर्धामा नीलो आकाशतिर उचालिएको देखिने । भित्ताबाट झरेको पहिरोले पाइलैपिच्छे मुक्तिनाथ जानेलाई चुनौती दिएको देखियो । तर दुई वटा डोजर ‘म छु नि किन डराउँछौ ?’ भनेर निरन्तर पहिरो पन्छाएर सजिलो पारिरहेको देखियो । पहिरो झरेको, भीर कोपरेको र गण्डकी सिधा तलबाट बगेको हेर्दा त दायाँ-बायाँ त किन हेर्नु र भनेजस्तो । रातोपानी । होटल । चेकपोष्ट । दाना भन्ने सानो बजार, सानो नै राम्रो भने झैँ । दुई पहाडको च्यापबाट गण्डकी तिरैतिर, भीरैभीर ।

भीरको बाटो । भीर फुटेर बनेको पहिरो । किलो मिटरका किलोमिटर उँभो हेर्दा भीरले शिरमा आएर पलपलमा थिच्छ, उँधो हेर्दा मुटु नै गण्डकीमा खस्छ । संसार सोहोरेर गण्डकीमा मिसाउँछु भनेझैँ आक्रोसित पहिरोले चाहेको भए ...तर दुर्वासाजस्तो यो पहिरोले पनि हामीलाई माया गर्‍यो । अगस्तिजस्ता मुख बाएको भीरमा विशाल धरापे ओडारले पनि हामीलाई माया गरे । हाम्फाल्न खुट्टो उचालिसकेका विशाल पत्थरहरू पनि हाम्रो गाडी गुडेको बेला अनुशासित भएर बसे । मसँग मञ्जिल थिए ।

प्रसिद्ध रूपसे झर्ना । पश्चिम नेपालको म्यग्दी जिल्लाको दाना बजार नजिकै छ । तीन सय मिटर माथिबाट तीनपल्ट उफ्रँदै झरेको छ । झरनामा निकै ठूलो पानी छ, उस्तै परे बगाउँछ राँगाहरू । पानी चिसो ।

बात मारेको मनोज श्रेष्ठ दाइले भने, भगवान सम्झेर ओम् शान्ति भन्नु, शान्तिमा ठूलो शक्ति हुन्छ । भयभीत भएका थिए बसभित्र । कोही निदाएका, कोही आँखा चिम्म गरेका । म भने निरन्तर बसको झ्यालबाट भयानक भित्तोतर्फ निरन्तर हेरिरहेँ । दाँयारोमा बसेकी सीता गौतम भाउजूलाई सोधेँ त्यता कस्तो छ ? फुस्रो अनुहार लागाएर भन्नुभयो, ‘मुटु गण्डकीमा बगिरहेको छ सर ।’ भीरको कापबाट हाम्फाल्दै छहरा, छाँगा र झरना यात्रीहरूलाई भेट्न हतारहतार आउँदै गरेको । नदी पारिबाट पनि वारिबाट पनि । झरनै झरनाहरूको लामबद्ध प्रतिस्पर्धा बीचबाट एउटा भरना माथिबाट तीनपल्ट उफ्रँदै झरेर मोटरको झ्यालभित्रै शीतल बाछिटा छायो । रवि चापागाईं सर र तारानाथ पोख्रेल सरजस्ता युवाहरू पनि आँखा चिम्म गरिरहनु भएको थियो ।

प्रसिद्ध रूपसे झर्ना । पश्चिम नेपालको म्यग्दी जिल्लाको दाना बजार नजिकै छ । तीनसय मिटर माथिबाट तीनपल्ट उफ्रँदै झरेको छ । झरनामा निकै ठूलो पानी छ, उस्तै परे बगाउँछ राँगाहरू । पानी चिसो । कञ्चन त भन्नै परेन हिमालजस्तै देखिन्छ परबाट हेर्दा । मुक्तिनाथ जाने तीर्थयात्रीहरू झरना मुनि गाडी रोक्न लगाएर वारि नै ओर्लन्छन् । झरनाको चञ्चल यौवनसँग जिस्किने, छिल्लिने र सौन्दर्यसँग आफूलाई सेल्पीमा कैद बनाउने उपक्रम चल्छ । बाटो भने झरनाको वारिपारि र ठीकमुनि निकै अप्ठेरो छ ।

सुन्दर युवतीले दिएका चोटहरू युवाहरूले सहेजस्तै सहन्छन् त्यो अप्ठेरोलाई यात्रीहरू । रूपसे त्यसै भनेको होइन रहेछ । हिन्दीमा से विभक्तिले नेपाली ‘ले विभक्तिको काम गर्छ । शायद हिन्दी कवि आउँदा रूपले मोहित बनायो होला । उनले ‘स्वर्गका परी, तुम्हारा रूपसे मै घायल हुवा’ भने होलान् । पछि अरू पदावली हटाएर रूपसे मात्र रहृयो होला । मनमोहक झरनाको आनन्द पानमा २० मिनेट समय त हात्तीको मुखमा जिरा हुन्थ्यो तर गन्तव्य पुग्नका लागि यो पनि बढी भइसकेको थियो । (बुढाथोकी मकालु साहित्य समाजको अध्यक्ष हुनुहुन्छ)

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?