मौरी पार्टी कि सलह वा धमिरा पार्टी ?

Read Time = 16 mins

✍️ चन्द्रमणि गौतम

सत्ताले राज्यको संविधान, कानुन, नैतिक परम्पराहरू सर्वप्रथम पालन गर्नुपर्छ र जनतालाई पालन गराउनुपर्छ । सरकारको वा सत्तारुढ पार्टीको ‘आफ्नो मान्छे’ भनेर न्यायाललयले दण्ड-सजायको भागी अपराधी भन्ने ठहर गरेको दोषीलाई उन्मुक्ति दिनु नहुने दृढता नै कानुनी राज, सुशासनको आधारभूत विशेषता हो । तर वर्तमान सरकारमा आफ्नो अनिवार्य उत्तरदायित्व, जिम्मेवारीप्रति संवेदनशीलता देखा परेन । नयाँ हुन् वा पुराना पार्टी, सदाचारको बारेमा जतिसुकै कुर्लिए पनि चरित्र र क्रियाकलापमा नयाँ-पुरानाको सीमारेखा कोर्न वा भेद छुट्याउन सकिएन ।

गृह मन्त्रालयले आफ्नै मातहतको सुरक्षा अंग अटेर भएको भनी भर्खरै विरोध-विज्ञप्ति जारी गरेर अनौठो कार्यशैली र सत्ता-तामासा देखायो । कर्तव्य पालनमा खटिएको प्रहरी जवानलाई मारेको ‘दोष’ लागेका, सत्तारुढ नेकपा (एमाले)का फरार भनिएका एक सांसदलाई पक्राउ गर्ने विषयले सत्तावृत्तमा कोलाहल मच्चिएको छ । सत्तारुढ एमालेका अध्यक्षले उक्त ‘माननीय’लाई ‘जबसम्म हामी सुरक्षित छौँ तपाई पनि सुरक्षित हुनुहुन्छ....’ भन्दै आश्वस्त बनाए भन्ने अपुष्ट समाचार सुनियो । नेपाल प्रहरी आफ्नो मर्यादामा रहेकै देखिन्छ र कर्तव्य पालनामा यसअघिको अवस्थाभन्दा धेरै सुध्रिएको बताउँछन् अवकाश प्राप्त प्रहरी अधिकृतहरू ।

लोकतन्त्र पार्टीतन्त्रबाट दमित भयो भने त्यहीँबाट तानाशाहको उत्थान हुन्छ । सातदलीय गठबन्धनले हालै लागू गरेको २१ बुँदे र अनेकानेक उपबुँदा भएको न्यूनतम साझा कार्यक्रमले संविधानलाई लत्याउँदै अराजकतालाई शासनको आधार बनाएको यसका कतिपय बुँदाबाट पुष्टि हुन्छ ।

राष्ट्रिय राजनीति आज अत्यन्त अराजक र अस्थिर बन्दै पतनोन्मुख छ । राज्य सञ्चालनमा सीमा, मर्यादाका बार भाँच्ने हर्कत सत्तारुढ पार्टीहरूबाटै भइरहेको छ । पछिल्लो जनआन्दोलन यताको राजनीति झन् अराजक बन्दैगएको र असफलोन्मुख राज्य हुनथालेको खतराजन्य बास्तविकता विभिन्न परिसूचकबाट प्रमाणित भइरहेको सत्ताधारीलाई राम्रैसँग थाहा छ । उकुच पल्टेर कहिल्यै निको नहुने घाइतेको जस्तो यो परिस्थिति लोकतन्त्रप्रति आस्था र प्रतिबद्धता नभएको पक्षसँग ‘लोकतान्त्रिक अभ्यास’ गर्नुको देनभन्दा अरू के हुनसक्छ ! राजनीतिक दलहरूको चरित्र र विशेषता हातका औँलाजस्तो भयो । ‘गाँस टिप्ने बेला’ मा हातका औंलाहरू जसरी एकै ठाउँ हुन्छन्, सोही किसिमले लामा-छोटा-मोटा औंलाको बेमेललाई राजनीतिक दलका संरचना र आचरणको बिम्ब मान्न सकिन्छ, स्वार्थपूर्ति हुने भयो भने एकजुट हुने । यी अघिपछि आपसमा स्वयं नमिल्ने, भोक, स्वार्थपूर्तिको कारणले मात्र मिल्ने, जब खाने अवसर आउँछ । वर्तमान सत्ता संरचना यस्तै अराजक र स्वार्थपूर्ण जमघट हुनपुगेको छ ।

लोकतन्त्र पार्टीतन्त्रबाट दमित भयो भने त्यहीँबाट तानाशाहको उत्थान हुन्छ । सातदलीय गठबन्धनले हालै लागू गरेको २१ बुँदे र अनेकानेक उपबुँदा भएको न्यूनतम साझा कार्यक्रमले संविधानलाई लत्याउँदै अराजकतालाई शासनको आधार बनाएको यसका कतिपय बुँदाबाट पुष्टि हुन्छ । तसर्थ जनताका अगाडि आफ्नो दोषी अनुहार ढाकछोप गर्ने खोल बनाइएको होइन भन्न कसरी सकिएला र !

न्यूनतम साझा कार्यक्रम तय गर्दा राज्यका अंगबीच शक्ति पृथकीकरण, क्षेत्राधिकारको सुरक्षा र कार्यपालिकाको परिधि मिचिएको छ । उदाहरण हेरौं, सो कार्यक्रमको ‘नीतिगत र संरचनागत सुधार’ मा लेखिएको छ, ‘अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव, सिफारिश अनुरूप न्यायपालिकामा संरचनागत परिवर्तन, सुधार गर्ने एवं आमनागरिकले सहज, छिटो, निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने ।’ अर्कातिर संविधानको धारा १३६ मा उल्लेख छ, ‘सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुनेछ ।’ यसरी सातदलीय गठबन्धनको साझा कार्यक्रममा न्यायपालिकाको स्वतन्त्रता, अधिकारक्षेत्र र प्रधानन्यायाधीशको ‘अन्तिम जिम्मेवारी’ भित्र ठाडो हस्तक्षेप गर्ने बद्नियत प्रष्ट देखाएको छ ।

सत्ताको अन्धलिप्सा वा लम्पटपना अनियन्त्रित भयो भने पागलपनमा पुग्छ, जुन लोकतन्त्र, सुशासन र विकासको संवाहक हुनुपर्ने पार्टीहरूले गतिछाडा रूपमा प्रदर्शित गरिरहेका छन् । मान्छे प्रेममा पागल हुनसक्छ । सत्ताका लागि हत्ते हाल्ने तर जनउत्तरदायित्व देखाउने त छोडौँ, जिम्मेवारीलाई निर्लज्जताका साथ लत्याएर सत्ताकै लागि एकोहोरो दौड पनि पागलपन हो । मुलुक बर्वाद भए पनि वास्ता नगर्ने, जनताले बोलेको कुरालाई झुलबाहिर लाम्खुट्टे कराएजतिमात्र ठान्ने, आफ्नैमात्र चिन्ता बोकेर हिँड्ने, सामान्य मानसिकताको द्योतक होइन, सत्तालिप्साको मनोरोगी (साइकियाट्रिक) भएको लाक्षणिक विशेषता हो ।

स्याडिस्जम् (परपिडक मनोवृत्ति), डिप्रेसन (अवसाद), महत्वान्माद (मेगालोमेनिया), चोर्ने मनोरोग (क्लेप्टोमेनिया) आदि वर्तमान राजनीतिका विक्षिप्त मनोदशा नै हो । नेपालको इतिहासमा सत्ताको पागलपनले गर्दा ‘कोतपर्व’ को नरसंहार भयो, भीमसेन थापा सेरिए । ‘जेठा मामाको भाङ्ग्राको धोती कान्छामामाको झन् कुन गति’ भनेजस्तो, ठूला पार्टीका ‘दलाध्यक्ष’को यस्तो हालत छ भने साना पार्टीको के हालत होला ! २०६२-०६३को जनआन्दोलन यताको अवस्थाले जनआन्दोलनकारीलाई खाइरहेको उदाहरण अनेकौं छन् ।

पार्टी हुनु आफैंमा सबै कुरा होइन । पार्टी वा संगठन जसको पनि हुनसक्छ । तानशाहको पनि पार्टी हुन्छ । आतंककारी सञ्जाल, अन्डरवल्र्ड वा डाकाको संगठन हुन्छ । मौरी, कमिला आदि समूहमा बस्ने प्राणी हुन् भने सलह, धमिरा, अरिँगाल, बाँदरहरू पनि समूहवादी प्राणी हुन् । धमिरा वा मौरीको संगठनात्मक आचरण वा गतिविधिमा आकाश-जमिनको फरक छ । त्यस कारण पार्टी हुनका लागि संगठन हुनुपर्छ भन्दैमा त्यसको नैतिकता, जनउत्तरदायित्व, सामाजिकता, मानवीयता, इमानदारी र स्वाभिमानजस्ता संंस्कारगत र गुणात्मक पक्षलाई उपेक्षा गर्न सकिँदैन । कम्युनिष्टको पार्टी हुन्छ भने लोकतन्त्रवादीको पनि पार्टी हुन्छ । लोकतन्त्र भनेर सुनाउने होइन, गरेर देखाउने चरित्रको नाम पनि हो । कुन पार्टीको जनतासापेक्ष नियत कस्तो छ, उसका क्रियाकलापद्वारा मात्र सो पार्टीको प्रयोजन, जनप्रियता, टिक्ने वा बिक्ने सम्भावनाबारे भन्न सकिन्छ । मौरी पार्टी कि सलह वा धमिरा पार्टी हुने ? चारित्रिक विशेषताको प्रश्न आज एकदमै बलियो भएको छ । जनताको स्वाभाविक निरासाको मौका छोपेर स्वार्थपूर्ति गर्न रातारात खुलेका तर इमानदारी नखुलेका पार्टीहरूको यतिबेला अग्निपरीक्षा भइरहेको छ ।

कांग्रेसबारे जनतामा सकारात्मक चासो र आकर्षण, धरातलीय यथार्थ हो । तर, यसको वर्तमान शीर्षनेतृत्व सत्तामा बसेर वा सत्ता वरिपरि भन्किएर लोकतन्त्रविपरीत, दुर्बुद्धि र जगहँसाइका हर्कत गरिरहेको छ । संसदमा प्रधानमन्त्रीको लागि प्रतिस्पर्धा गर्नुपर्नेमा बहुमत पुर्‍याइसकेको अर्कै पार्टीको व्यक्तिलाई विश्वासको मत थपिदिएर आफ्नो संवैधानिक प्रतिपक्षको हैसियतमा जुवा खेल्छ । सर्वसम्मत सभामुखको चयन हुनुपर्ने अवस्थामा सभामुखका लागि हार्ने प्रतिस्पर्धा गर्छ । यस्तै खेलमा एकलौटी निर्णय गरेर कांग्रेसका सभापति नै आफ्नो पार्टीको बर्वादीको निम्ति पर्याप्त भएका छन् ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा डा.शेखर कोइराला कसैले पनि यो पार्टी बनाएका होइनन् । जनभावनलाई संस्थागत रूपले समेट्ने, जनताका मनसँग खेल्ने नेतृत्व–कला देखाउन सक्नु त कता हो कता, विगतमा यिनले जति दुःखकष्ट झेलेका थिए, त्यसको चक्रबृद्धि व्याजसहित साँवा र सातपुस्तालाई पुग्ने लाभ उठाइसके । तथापि कांग्रेसप्रतिको जनआकर्षण र जागरणबारे नेतृत्वमा बसेका यी कसैले आत्मसात गर्ने इच्छाशक्ति देखाएनन् न त उमेरको स्वाभाविक नियम र कांग्रेसका संस्थापक राजनेताहरूले बसालेको शान्तिपूर्ण नेतृत्व हस्तान्तरणको संस्कारलाई यिनीहरूले निरन्तरता दिए । चुनावमात्र आवधिक भयो, नेतृत्वका अनुहार पुरानै छन् । बासी विचार, नसुध्रेको मनोवृत्ति र यसका सिद्धान्त तथा मान्यतासँग किमार्थ नमिल्ने चरित्र बोकेर पार्टी हाँक्न खोज्ने चेष्टा नै कांग्रेसको महासमस्या हुनगयो । लोकतन्त्र पार्टीतन्त्रबाट दमित भयो भने त्यही फोहोरबाट तानाशाहको उत्थान हुन्छ । कांग्रेसको गर्भबाट जन्मेको नेतृत्वलाई तानाशाह हुने रहर यसै यथार्थको सर्वाधिक दुःखद् परिणाम हो ।

आजको नेपाली कांग्रेस बीपी तथा समकालीन राजनेताहरूका मार्गदर्शनबाट च्यूत भएको छ । पार्टीका स्थापित परिपाटी र संस्कारलाई पनि कांग्रेसले सत्ताको खेलमा तोडेको छ । त्यही कारण हो, पछिल्लो जनआन्दोलन यताको राजनीतिमा कांग्रेसले लगातार अभूतपूर्व धक्का र क्षयीकरण व्यहोर्नु परिरहेको छ ।

कांग्रेसले यसपालिको चुनावमा पाएको सबभन्दा ठूलो पार्टीको हैसियतमा यसका शीर्षनेतालाई नै विश्वास थिएन, न त उनीहरूको पौरखको परिणामस्वरूप यो नतिजा हासिल भएको होस् । यो त जनतामा आएको स्वः स्पूmर्त लहरको परिणाम हो । नेताहरूले चुनावी लहर ल्याएको र निर्वाचनको सुव्यवस्थापन गरेको तब पुष्टि हुन्थ्यो, जब यसका नेताहरूले गठबन्धनको नाममा अन्य पार्टीलाई लंगाडाको बैसाखी वा सहारा मानेर उम्मेदवारी र जनाधारमा खण्डित र खुम्चिएको हैसियत एवं हतास र आत्मनाश मनोदशा नदेखाएको भए ।

आजको नेपाली कांग्रेस बीपी तथा समकालीन राजनेताहरूका मार्गदर्शनबाट च्यूत भएको छ । पार्टीका स्थापित परिपाटी र संस्कारलाई पनि कांग्रेसले सत्ताको खेलमा तोडेको छ । त्यही कारण हो, पछिल्लो जनआन्दोलन यताको राजनीतिमा कांग्रेसले लगातार अभूतपूर्व धक्का र क्षयीकरण व्यहोर्नु परिरहेको छ, जसको क्षतिपूर्ति हुन यस पार्टीले अर्को बीपी कोइराला नै जन्माउनुपर्छ ।

कांग्रेसले अगाडिको बाटोमा सार्थक र सफल यात्रा गर्ने हो भने उसले लम्पसारवादी र लाचारवादी देउवाशैलीलाई त्याग्न सक्नुपर्छ । त्यो भनेको कुनै पार्टी विशेषप्रति आशक्ति होइन, जनताको शक्ति बोक्नुपर्छ । जनादेशले अन्य पार्टीलाई जुन हैसियत र थान्कोमा राखेको छ, कांग्रेसले त्यही हैसियतमा नै उनीहरूसँग लोकतान्त्रिक व्यवहार गर्न सक्नुपर्छ । बीपीले देखाएका बाटामा कांग्रेसले आफूलाई फर्काउन सक्यो भने त्यो नै वर्तमान युगको लागि लोकतान्त्रिक न्याय र बरदान हुनेछ । cmgktm@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?