राजनीतिक रूपमा रविको छलाङ

चूडामणि कोइराला
Read Time = 17 mins

म आफैं सोच्छु मान्छेको स्वभाव कस्तो हुन्छ ? सबैमा फरक-फरक । अनि एकाग्रह हुन्छु मनमा के-के खेलिरहेको हुन्छ । बोल्न थाल्छु कुन शैली र कुन लयभाव पत्तै हुन्न । सोच्न थाल्छु आफैं अचम्मित हुन्छु । कहिलेकाहीँ आफू कामविशेषले काम गर्दै गर्दा आफैं चकित । ए...भनेर सोच्दा यही त हो जिन्दगी दुःख, सुख र ढुक्क भएर सोच्छु फेरि उही सोच फरक । आइदिन्छ राप, ताप, विचार अनि परिवार । विगत, वर्तमान र आफ्नो दैकिकी सम्झियो कर्मानुसार फल त लागेकै छ नि ∕ कामलाई सामान्य भए पनि मनोभावले उच्च ठान्दा नै त जीवनलाई जता सोच्यो त्यतै केन्द्रित गर्न सकियो भने ठान्दा पनि ढुक्क । तर, पीडा र व्यथाभित्र त कति-कति जो कसैमा नहुने नै हुँदो रहेनछ ।

कौरव अवतार धारण गरेर देशमा अन्याय, असत्यको राज्य चलाइरहेका र बारम्बार आलोपालो दुर्योधन बन्ने होडबाजीमा रहिरहेका देउवा, प्रचण्ड र ओलीसहितका सयौं भाइ कपटी नेपाली राजनीतिका कौरवहरूका अगाडि गृहमन्त्री बनेका माननीय रविको पनि समग्र राजनीतिक परिस्थिति हेर्दा केही असन्तुलित नै छ ।

म त सामान्य पेशाकर्मी भनुँ वा दैनिक ज्यालादारीको काम गर्ने कुल्ली या मजदुर हुँ । दैनिक गरिखाने एउटा औसत कारिन्दा हुँ । मेरा दुःख साना हुन् । मेरा द्विविधा पनि सामान्य हुन् । राजनीतिका नाममा मैले गर्नुपर्ने त्याग पनि सामान्य हुन् । मेरो जिन्दगी नै एक सामान्यभन्दा सामान्य हो । अनि म सामान्य मान्छेले आफूभन्दा ठूलाको र मान्यजनको आदर गर्न सकिनँ भने म के पेशाकर्मी, म कुल्लीलाई कसले काम दिने ? लु खा.. भनेर त मेरा मातापिताबाहेक अरू कसैले नि दिएको पनि छैन र दिएका पनि छैनन् । श्रीमती अर्धाङ्गिनी भइन् । बालबच्चा बालहठमै छन् । नपरोस् पनि किन, मसँग सबै क्षमता नभए नि गर्नुपर्दछ र खानुपर्दछ भन्ने भाव र ध्येय छ । यही हो मेरो जिन्दगीमा आफैंमा रमेको रमाइलोपन तर म केही बुझ्दो रहेनछु । आँखा पनि देख्छु, कान पनि सुन्छु, शरीरका हेर्दा सबै अंग ठीकै छन्, भित्र धमिरो लागेको भए पनि । सोच अपवाद ।

प्रसंग कौतुहल
को मानिस कसरी राजनीति गर्ने ? केका लागि राजनीतिमा होमिने ? राजनीति असामान्य हुन्छ ? कता, कसरी सजिलो या असजिलो हुन्छ ? राजनीतिले सबैलाई बाठो बनाएको हुन्छ, छ । तर, कसैका गति र मति दुवै सकाएको पनि त छ । राजनीति भनेको खासमा परिवारवाद बाहिर हुनुपर्दछ । तर, विडम्बना यही छ, सबै आफन्त इष्टमित्रको भाग पुर्‍याएपछिको मात्र बाहिर निस्कने राजनीति माटाको घैँटामा राखिएको पानीजस्तै हो ।

जो कसैले राजनीति गर्नुको एउटा खास कामको समयसँग आफू अपडेट हुनु, सही र गतको निर्णय गर्नु हो । कुनै कामको समाजलाई सुसूचित गराउन प्रेरित गर्नु नै राजनीति हो । तर, हाम्रो देश नेताको राजनीति कति पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने भन्नेमै रमाइरहेको छ । राजनीति गर्छु भनेर अग्रपंत्तिमा आउने जित कहिल्यै ननिकाल्नेहरूको जमात पनि हाम्रोमाझ राम्रै छ । हारपछि विरक्तिए हराउने वा विदेश पलायन हुने जमातको त यहाँ कुरै नगरौं । विदेशमा वर्षौं बसेर डलर कमाएर नेपाल फर्किएर राजनीति गर्नेको संख्या पनि अधिकै छ ।

राजनीति यस्तो पनि हो जे हुनुनहुने त्यही हुन्छ । नेपालको राजनीतिमा हर-हमेसा त्यही भइरहेको छ । हामी दर्शकदीर्घामा छौँ । नेपालका राजनीतिज्ञ सबै दलका नेता कार्यकर्ता अनि ‘म बबुरो’ जाबो चूडामणि राजनीतिमा केही नबुझे पनि केही त कौतुहल सोच्ला नि ? अवश्य ! आस्था छ विचार र व्यतिथि कति छ ? दोष कसको मेरो पनि छ । म आफैँ कुनै पार्टीको सच्चा सिपाही थिएँ, हुँ, होला तर जुन आस्था थियो त्यो पार्टीमा त्यो पार्टीले विचार, सिद्धान्तको तिलाञ्जलि दिएको अवस्था । के पार्टी, कसका लागि पार्टी । के त्यही पार्टी नै के सबैको आस्था र भरोसा रहिरहनसक्छ ? सबै परिवर्तन हो राजनीति होइन, जनताका आशा र भरोसामात्र हो । परिवर्तनको सुरुवात जहिले पनि जनताबाट हुन्छ र भइरहेको छ । हिजो जे थियो आज त्यही हुन्छ भन्ने नै छैन र हुनुहुँदैन पनि ।

सञ्चारबाट रवि
राजनीतिको मिठास र महिमा कति फरक छ, कति फरक । नेपालमा केही गर्न सकिँदैन भन्दै विदेशिएका नेपालीहरू विदेशमै तरतरी पसिना बगाइरहेका छन् भने अब नेपालमै केही गर्नुपर्दछ भन्ने भाव भएका केही नेपाली स्वदेश फर्किएका छन् । ताजा उदाहरण हाल राजनीतिमा छलाङ मारेका गृहमन्त्री रवि लामिछाने । अमेरिकाबाट फर्किएर टेलिभिन कार्यक्रम प्रस्तोता बनेका लामिछाने नेपाली जनतामा टेलिभिजनबाटै चिनिएका व्यक्ति हुन् । उनको प्रचार टेलिभिजनबाटै भएको हो । उनको प्रस्तुतिको शैली र जनमानसमा भएका व्यथिति, विसंगति र भ्रष्टाचारविरुद्ध खरोरूपमा प्रस्तुत हुने गर्दथे । यही विषयको विसंगति नेपाली जनताले हेर्दा मन पराएका थिए ।

महाभारत, राजनीति र आज रवि
पाण्डवहरूको गुप्तवास सकिने बेलामा कौरवहरूले गाई लुटेर लगेका बेला पाण्डवहरूले धावा बोले । राजा विराट र सेना सबै अर्कै युद्धमा गएको मौका पारी कौरवहरूले हमला गरे । दरबारमा यो खबर आएपछि राजकुमार उत्तरकुमारलाई निकै आवेगको रिस उठ्यो । राजाको छोरो पुलपुलिएर हुर्केको हुनाले दम्भ प्रष्टै थियो ती युवराजमा, कोही सारथी पाए एक्लै गएर युद्ध गरी कौरव सेनालाई हराइदिने भनेर दरबारमा भएका महिला र नाबालकबीचमा बडो बहादुरीसाथ बालहठ देखाउन सुरु गरे । उनी भीष्म, द्रोण, कर्ण, वीरसहितको दुनियाँ जित्न सक्ने कौरव सेनाको तागतका बारेमा अनविज्ञ नै थिए ।

दरबारमा सबै महिला र बालबच्चामात्रै भएकाले उनलाई सम्झाउन सक्ने कोही विद्वान् भएन । आफ्नो एकवर्षे गुप्तवास पूरा गर्न नारी भेषमा दरबारमा नाच सिकाइरहेका अर्जुनले यो कुरा नियालिरहेका थिए । गुप्तवास सकिएको समयमा कौरवसँग बदला लिने मौका छोपेर त्यो बालहठी राजकुमारलाई आफूले रथ हाँकेर सहयोग गर्ने भनेर आग्रह गरे । सुरुमा उत्तरकुमारले सामान्य नपुंसक नारी भनेर इन्कार गरे पनि धेरैले सम्झाएपछि सहमतिमा आएर छद्मभेषी अर्जुनलाई सारथी बनाएर कौरव सेनासँग युद्ध गर्न निस्के । तर, उनलाई पाण्डुपुत्र वीर अर्जुन आफ्नो सारथी हुन् भन्ने कुनै कल्पना पनि थिएन । विचरो १७-१८ वर्षको बालक राजाको छोरो त्यत्रो झकिझकाउ कौरवको सेना देखेर असिनपसिन भयो । अर्जुनले रथ जब नजिक-नजिक पुर्‍याउन थाले ऊ त्यति नै नतमस्तक हुँदै गयो । उसले अर्जुनलाई रथ फर्काउन अनुनय विनय गरे तर अर्जुनले स्वीकार गरी मान्ने चेष्टा देखाएनन् । ऊ रथ नै छोडेर भाग्न खोजेपछि अर्जुनले एकान्तमा लगेर आफ्नो सबै वास्तविकता खोलेर परिचय दिन सुरु गरे । बालक बल्ल ढुक्क भयो । त्यसपछि तिनै राजकुमारलाई सारथी बनाएर पराक्रमी अर्जुनले कौरवहरूको सेनालाई तितरवितर पारेर भगाएका थिए र लुटिएका सबै गाईहरू फिर्ता ल्याएका थिए । यही चरितार्थ हालका गृहमन्त्री लामिछानेसँग जोडिएको छ ।

नेपाली राजनीतिमा रवि पनि त्यही उत्तरकुमार जस्तै हठी पात्र नै हुन् । कौरव अवतार धारण गरेर देशमा अन्याय, असत्यको राज्य चलाइरहेका र बारम्बार आलोपालो दुर्योधन बन्ने होडबाजीमा रहिरहेका देउवा, प्रचण्ड र ओलीसहितका सयौं भाइ कपटी नेपाली राजनीतिका कौरवहरूका अगाडि गृहमन्त्री बनेका माननीय रविको पनि समग्र राजनीतिक परिस्थिति हेर्दा केही असन्तुलित नै छ । बोलेर हुँदैन व्यावहारिक पक्ष फरक छ । सबै कुरा नेपाली राजनीतिमा असत्यमात्रै बन्दै गएका छन् । त्यही राजनीतिबाट मन्त्री बनेका रवि हुन् जो सत्यमा टिक्न सक्लान् ? राजनीतिको भेउ पाएका तर मेसो नपाएका रवि सबै कुरा बुझ्न चाहने उनी महाभारतका दुर्योधनसँग मित्रताको हात फैलाउने वीर कर्ण र रवि उनै पात्र जस्तै बनेका छन् ।

मौकामा चौका हानेर राजनीति दल नै दर्ता गरेर होमिएका उनी आजै त्यति ठूलो पदमा पुगे पनि कसरी हातखुट्टा बाँधेर रविलाई काममा लगाउनुपर्छ नेपालमा कौरवको राजनीति गरिरहेकाहरूलाई राम्रैसँग थाहा छ । हिजो टेलिभिजनमा कार्यक्रम प्रस्तुतिमा कराउँदा बालुवाटारको जग्गाको ‘स्टिम’ अपरेसन गरेर भष्टाचारीलाई तह लगाउँछु भन्ने उनी आज त्यही व्यक्तिसँग क्याबिनेटमा बस्छन् र त्यही मन्त्रालयबाट छुट्याइएको बजेटको सहारा लिँदै दैनिकी चलाउनुपरेको छ । अब बालुवाटारको स्टिम अपरेसन ठीकठाक भयो होइन ? नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज तिनै विष्णु पौडेलसँगसँगै एउटै जुवाको हलमा नारिदिएर छोडिएका छन् । बेला–बेलामा ‘अब बुढा र बा’ को पुस्ताले देश चल्दैन यिनीहरूलाई हटाउनुपर्छ बालाई त विश्राम दिनुपर्दछ भन्दै बडो ठूलो स्वरमा स्वर र लयमा भाका मिलाएर टिभीमा उफ्रे । उनी आज तिनैका पछुवा बनेर आफ्नो दुनो सोझाएका मात्र छैनन्, उनले रविको छवि नै बदलिदिएका छन् ।

चित्रबहादुर केसीको पार्टीले संसद्मा दुई सिटसहित सरकारमा उपप्रधानमन्त्री बन्दा जनमतको अपहेलना भयो, सरकारमा जान बहुमत ल्याउनुपर्छ भन्दै टिभीमा चित्रबहादुर ‘बा’ को खिसीटेउरी गर्ने उनै रवि आज जम्मा २१ सिट जनमत ल्याएर त्यही संसद्को त्यति नै सांसद संख्या हुँदा गृहमन्त्री बनेर देश चलाउन सुहाउँछ ?

एउटै प्यानलबाट सँगै संसद्मा भोट दिन बहालवाला गृहमन्त्रीसँगै बसेको अपराधीलाई उनी चिन्दैनन्, बल्ल भोलिपल्ट पक्राउ गर्ने आदेशको कञ्जुसी भाषा प्रयोग गर्दछन् । यतिका दिन अपराधी कहाँ छ, अनविज्ञ छ गृह प्रशासन । मधेसका साना दल जो च्याँखे थापी-थापी पटक-पटक मन्त्री हुँदा टिभीमा रविले भनेका थिए राष्ट्रवादी कुराहरू । चित्रबहादुर केसीको पार्टीले संसद्मा दुई सिटसहित सरकारमा उपप्रधानमन्त्री बन्दा जनमतको अपहेलना भयो, सरकारमा जान बहुमत ल्याउनुपर्छ भन्दै टिभीमा चित्रबहादुर ‘बा’ को खिसीटेउरी गर्ने उनै रवि आज जम्मा २१ सिट जनमत ल्याएर त्यही संसद्को त्यति नै सांसद संख्या हुँदा गृहमन्त्री बनेर देश चलाउन सुहाउँछ ? कुरा इज्जत र प्रतिष्ठाको पनि त छ ।

नाकको डाँडी भाँच्ने कुराको त यहाँ प्रसंग नै नजोडौँ होला । भाँच्न सकेछन् भने राम्रो । उनले गृह प्रशासन सम्हालेको नौ दिनको दिन ७७ जिल्ला प्रशासनलाई परिपत्र गर्दै देशभर सञ्चालनमा रहेका अवैध भनिने क्रसर उद्योग बन्द गर्न निर्देशन दिए । हाल ६ सय ४२ उद्योग बन्द छन् । उनको अग्निपरीक्षा हेर्न कुनै अरू आइतबार कुर्नुपर्ने छैन । यदि क्रसर उद्योगहरूलाई परिपालनामा ल्याए र मापदण्ड निर्माण गरी कार्यान्वयनमा आए उनको सफलता ठहरिनेछ ।

अन्त्यमा
देशको नागरिकता र राष्ट्रियतासमेत परित्याग गरेर अमेरिकामा डलर गन्ने डलरवादी भन्ने आरोप खेपिरहेका हालका गृहमन्त्री रवि लामिछाने आज कसरी राष्ट्रवादी बन्न सक्छन् ? अझ देशमा बस्न सुरक्षा खतरा भयो भन्दै शरणार्थी निवेदन दिएको हल्ला पनि सुनिएको थियो । भाँचिएको शरीरको कुनै पनि अंग एकपटक निको भए पनि बारम्बार दुखाइ भने बल्झिरहेको हुने रहेछ । टेलिभिजन प्रस्तोतामा रहँदा रहेको रविको राष्ट्रियता गृहमन्त्री बनेपछि अहिलेको खोक्रो राष्ट्रियता हो कि सत्चरित्र अनुहार हो हेर्न बाँकी छ ।

मन्त्री भएको महिना दिन नबित्दै आफ्नै फाउण्डेसनमा आर्थिक आरोप लागेका उनी पदमा रहुन्जेल चोखा बन्लान् तर पछि समय नै बलवान छ । साँच्चिकै महाभारतको उत्तरकुमारजस्तै पात्र भए भने रविलाई बचाउन न अर्जुन नै आउनेछन् न जनता नै साथमा रहने छन् । यिनले जनताको आँखामा हालेको छारो कहिले निकालेर सान्त्वना दिलाउने हुन् त्यो आशा र भरोसामा तुषारापात नहोस् । जनतामा त्यागको भाव रहिरहोस्, रविको छवि चम्किरहोस् शुभकामना । जय देश, जय नेपाल । (लेखक नेपाल पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखा अध्यक्ष हुनुहुन्छ) ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
indra mani kafle
indra mani kafle
2023-01-24 8:04 pm

ज्ञान मुलक ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?