राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने नेताहरुको प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताउनुभएको छ ।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताउनु भयो ।

उहाँले समस्याको समाधान हुने स्पष्ट पार्नुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताउनु भयो । गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो । अब अहिले जो बनेको गठबन्धन छ, गठबन्धनमा होलान्, केही मतभिन्नताहरु हुन सक्छन् । समस्याहरु हुन सक्छन् । ति समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरमा छन् । समाधान हुन्छन् । बोल्ने कुरामा शब्दमा टिपेर कटाक्ष भएको भन्न मिल्दैन किनभने गठबन्धन छ । नीति, कार्यक्रम उहाँहरुले मिलेर बनाउनुभएको छ । त्यही कुरा लागू भएको छ । योजनामा हेर्ने हो नि त । बोल्दाखेरी शब्द कता कता पर्छ त्यो कुरा मुख्य कुरा होइन । मुख्य कुरा उद्देश्यमा केन्द्रित छ कि छैन भन्दा अहिलेको गठबन्धन उद्देश्यमा केन्द्रित छ ।’

त्यस्तै माओवादी केन्द्रका अर्का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु नहुने बताउनु भयो । सम्भव भएसम्म सहमतिको प्रयास गर्नु सकारात्मक कुरा भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै कुरामा राष्ट्रिय सहमति आफैँमा राम्रो कुरा हो । सम्भव भएसम्म सहमतिको लागि प्रयत्न गर्नुलाई अन्य धेरै कोणबाट हेर्नु जरुरी छैन । अहिलेको राष्ट्रिय आवश्यकताको कोणबाट सम्भव भएसम्म सहमतिको लागि प्रयास गरिने कुरालाई सकारात्मक रुपमा लिनुप¥यो ।’

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केही समस्या भएमा निर्वाचन आयोगले समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनेपछि त्यो भन्दा बढी जान मिलेन । पाँच वर्षको समयअवधिभित्र राष्ट्रपतिको निर्वाचन गर्ने । निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने हो नेपाल सरकारको राय सल्लाहमा । तोकेको मितिमा नेकपा(एमाले) तयार नै छ । एमालेसँग यसमा विवाद गर्नुपर्ने कुनै विषय पनि छैन । हामी त्यसको विवाद र बहसमा तानिएका पनि छैनौँ । केही समस्या छ भने निर्वाचन आयोगले फुकाओस् र छिटोभन्दा छिटो तोकिएको समयभित्र राष्ट्रपतिको निर्वाचन होस् ।’

उहाँले राष्ट्रपति पदका लागि विपक्षी दलका नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्नु साँघुरो चिन्तन भएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय सहमती एजेण्डा र संवैधानिक प्रक्रियामा गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सहमतिलाई हल्का रुपमा नलिन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो सोधाई के छ भने रामचन्द्र दाईलाई पौष १० गते अगाडी त यो गीत गाउनु भएन उहाँले । यो गित अचानक पौष १० गते पछाडी किन आयो ? राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुहुन्न भन्ने हाम्रो भनाई होइन । तर राष्ट्रिय सहमति भनेको पदको बाँडफाँट होइन । राष्ट्रिय सहमति भनेको एजेण्डामा सहमति हो । संवैधानिक प्रक्रियामा सहमति हो । पदीय बाँडफाँटमा राष्ट्रिय सहमति एकदमै साँघुरो चिन्तन हो । रामचन्द्र दाईजस्तो एउटा वरिष्ठ नेताले त्यो आशयले बोल्नुभएको हो कि होइन मलाई थाहा छैन । तर राष्ट्रिय सहमतिलाई यति हल्का रुपमा नलिऔँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?