एक वर्षदेखि एम्बुलेन्स प्रयोगविहीन

हिमालय टाइम्स
Read Time = 5 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद गरेको एक वर्ष बितिसक्दासमेत सञ्चालन ल्याउन सकेको छैन । एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि निर्माण नहुँदा र चालकको व्यवस्थापन हुन नसक्दा एक वर्षयता एम्बुलेन्स प्रयोगविहीन छ । नगरपालिकाले गत वैशाखमा टेण्डर प्रक्रियामार्फत ४४ लाख ९० हजार रुपैयाँ मूल्यमा एम्बुलेन्स खरिद गरिएको थियो । त्यतिबेला लुटबहादुर रावत नगर प्रमुख हुनुहुन्थ्यो । उहाँले पाँच वर्षे कार्यकालमा एम्बुलेन्स सेवासमेत सञ्चालन गर्न नसकेको भन्दै आलोचना खेप्दै आउनुभएको थियो । तर, जादाँजाँदै उहाँले एम्बुलेन्स खरिद गरेर बिदा हुनुभयो ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत पूर्णप्रसाद आचार्य निर्वाचित भएको पनि १० महिना बितिससकेको छ । युवा नगर प्रमुखका रूपमा जनमैत्री काम गर्ने अपेक्षा गरिएका आचार्यले समेत अत्यावश्यकीय सेवाको रूपमा रहेको एम्बुलेन्स सेवा सञ्चालन गर्न सक्नुभएको छैन । यतिसम्म कि कार्यपालिका बैठकले एकजना चालक सिफारिस गर्ने जिम्मा दिएको एक महिना हुँदासमेत उहाँले चालक सिफारिस गर्न नसक्नुभएको हो । गत मंसिर २७ गते बसेको कोहलपुर नगरपालिका कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालनका लागि नगर प्रमुखको सिफारिसमा ज्यालादारीमा लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

त्यसैले नगर स्वास्थ्य शाखाको परिसरमा १० महिनायता एम्बुलेन्स पूर्णरूपमा प्रयोगविहीन छ । कहिले कार्यविधि नबनेको त कहिले एम्बुलेन्स सञ्चालन गर्न चालक नभएको वहानामा नगरपालिकाले एम्बुलेन्स सञ्चालन गर्न विलम्ब गरिरहेको छ । एम्बुलेन्स सञ्चालनका विषयमा नगर स्वास्थ्य शाखा भने अनभिज्ञता प्रकट गर्छ । नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी आफूले लामो समयदेखि शाखाको अगाडि एम्बुलेन्स थन्किएको देखेको तर सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । उहाँका अनुसार एम्बुलेन्स सञ्चालनका विषयमा आफूले प्रमुख प्रशासकीय अधिकृतलाई जिज्ञासा राख्दै आए पनि एम्बुलेन्स भने सञ्चालन हुन सकेको छैन । ‘मैले कार्यविधि भनेको छैन भन्ने सुनेको थिएँ । चालक व्यवस्थापन गर्ने काम भइरहेको छ । मैले अगाडि देखेको धेरै भयो । कहिले सञ्चालन हुने हो थाहा छैन’ उहाँले भन्नुभयो ।

यता, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अबको एकसातामा कोहलपुरमा नियमित एम्बुलेन्स सेवा सुरु हुने बताउनुभएको छ । उहाँले नगर प्रमुख आचार्यको सिफारिसमा ज्यालादारीमा चालकको व्यवस्थापन भइसकेको बताउनुभएको छ । ढकालका अनुसार कार्यपालिका बैठकले चालक सिफारिस गर्ने जिम्मा नगर प्रमुखलाई दिएको थियो । उहाँको सिफारिसअनुसार नगरपालिकाले एम्बुलेन्स चालक सिफारिस गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । एम्बुलेन्स चालक ज्यालादारीमा दैनिक हाजिरीका आधारमा मासिक रूपमा तलब दिने गरेर व्यवस्थापन भएको उहाँको भनाइ छ । एम्बुलेन्स चालक कोहलपुर नगरपालिकाका स्थानीय नागरिक हुनुहुन्छ ।

‘यो अक्सिजनसहितको एम्बुलेन्स हो । यसले जटिल खालका बिरामी बोक्छ । त्यसैले दैनिक सञ्चालन नहुन पनि सक्छ । विशिष्ट परिस्थितिमा भने जतिबेला पनि सञ्चालन गर्न सकिन्छ । अबको एक हप्तामा नियमित सञ्चालन हुन्छ,’ ढकालले भन्नुभयो । एम्बुलेन्स सेवा सञ्चालन भएमा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनेछन् । यस्तै, एम्बुलेन्स प्रयोगमा नगरबासीलाई २५ प्रतिशत छुटसमेत दिइने निर्णय गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?