बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प, एकजनाको मृत्यु, आसपासका जिल्लामा दर्जनौँ घरमा क्षति

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 11 mins
A A- A+

कालिकोट । बाजुरामा भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजे बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा जनधनको क्षति पुगेको हो । मंगलबार राति यो समाचार तयार पार्दासम्म भूकम्पको सम्पूर्ण विवरण आइसकेको छैन । प्राप्त विवरणअनुसार बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन् ।

भूकम्पले गौमुल गाउँपालिका वडा न-२ की अन्दाजी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जंगलमा घाँस काटिरहेको बेला मंगलबार दिउँसो एक्कासी भूकम्प जाँदा माथिबाट ढुंगा खस्दा उहाँको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताउनुभएको छ ।

यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । गोठ भत्किँदा उहाँका ४० भेडा पुरिएका छन् । बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार क्षतिको विस्तृत विवरण आउने क्रम बाँकी छ । ठाउँठाउँमा प्रहरी टोली खटाइएको छ । बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ । सदरमुकामका केही सरकारी कार्यालयका भवन पनि चर्किएका छन् । जिल्ला अस्पताल, सशस्त्र प्रहरी बलको क्याम्प, वडा प्रहरी कार्यालय, जिल्ला कारागारलगायत सरकारी कार्यालयका भवन चर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृष्ण जोशी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ । भूकम्पको धक्काले थुप्रै घरहरु चर्किएको स्थानीयहरूले बताएका छन् । मंसिरयता सुदूरपश्चिमका कतिपय स्थानमा थुप्रै पटक भूकम्पको धक्का महसुस हुने गरेको स्थानीयहरूले बताएका छन् । गाउँमा थुप्रै घर चर्किएकाले आरामले भित्र बस्न पनि त्रास फैलिएको स्थानीयहरूको गुनासो छ । बाहिर भने हिउँ परिरहेकाले भाग्न पनि कठिन भएको बताइएको छ । यसअघि कात्तिकको तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । साथै उक्त भूकम्पपछि सयौं परकम्प गएका थिए ।

घरभित्र बसौँ भूकम्पको डर, बाहिरै बसौँ हिमपात !
भूकम्पका कारण हिमाली गाउँपालिकाका स्थानीय हिउँमा कठ्यांग्रिँदै बस्न बाध्य भएका छन् । फेरि पनि भूकम्प जाने हो कि भन्ने डरले घरभित्र बस्न नसकिएको स्थानीयले गुनासो गरेका छन् । हिमाली गाउँपालिकामा मंगलबारदेखि बाक्लो हिमपात भएपछि वृद्धवृद्धा र बालबालिकाको जनजीवन कष्टकर बनेको छ । घरभित्र बस्दा भूकम्पको डर हुने र घरबाहिर बस्दा चिसो र हिमपातका कारण समस्या भएको हो । सो क्षेत्रमा अहिले पनि हिमपात र बर्षा भइरहेको छ । हिमाली गाउँपालिकामै केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण त्रासले अहिलेसम्म त्यहाँका नागरिक घरभित्र पस्न नसकेका हुन् । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीलगायतको संयुक्त टोली पठाइसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा
सुदूरपश्चिम र कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको छ । भूगर्भविद्हरूले सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा रहेको बताएका हुन् । भूगर्भविद् डा. दीपक चौलागाईंले सुदूरपश्चिममा भूकम्पको जोखिममा सबैभन्दा बढी बझाङमा रहेको बताउनुभयो । सुदूूपश्चिममा २०३७ सालमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । यस्तै, बैतडी, अछाम, डडेल्धुरा र कञ्चनपुरका चुरे पहाड पनि त्यत्तिकै मात्रमा भूकम्पको जोखिममा रहेको उहाँले बताउनुभयो । भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपत्कालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिममा रहेका निजी आवासहरूलाई बेलैमा इञ्जिनियरिङ प्रविधि र प्रवलीकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताउनुभयो ।

कर्णाली प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्र भूकम्पीय प्रकोपको उच्च जोखिममा रहेको पाइएको छ । विज्ञहरूले हिमालयको सबैभन्दा सक्रिय दरार पश्चिम नेपाल खण्डमा उत्पत्ति हुने बताएका छन् । डा. चौलागाईंले हिमालयको सबैभन्दा सक्रिय दरारको पश्चिम नेपाल खण्डमा भूकम्प उत्पत्ति हुने र चुरेको अग्रभागसम्म दरार उत्पन्न भई ८.५ म्याग्निच्युडको हुने परिदृश्य रहेको वैज्ञानिक अनुसन्धानले देखाएको बताउनुभयो । चौलागाईंका अनुसार कर्णाली प्रदेशका दैलेख, सल्यान, सुर्खेत र जाजरकोट उच्च भूकम्पीय प्रकोप भएका जिल्लामा पर्छन् । अनुसन्धानअनुसार नेपालमा सबैभन्दा बढी भूकम्पीय जोखिम रहेका जिल्लाहरूमा गुल्मी, बझाङ, प्युठान, बागलुङ, रोल्पा, अछाम, बैतडी, दैलेख, कालीकोट र धादिङ पर्दछन् । नेपालमा भूकम्पहरू प्रायः १० देखि ३० किमी गहिराइमा जाने गरेको छ । पछिल्लोपटक २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले आठ हजार नौ सय ७० जनाको मृत्यु भएको थियो । नेपालमा पछिल्लो २२ दिनमा मात्रै ६ पटक भूकम्प गएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म गरी बागमती र सुदूरपश्चिमका प्रदेशका विभिन्न ठाउँमा ६ पटक भूकम्प गएको हो ।

यता, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार २०३७ साउन १४ गते बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएयता सुदूरपश्चिम पहाडमा पहिलोपटक यति ठूलो भूकम्प गएको हो । मापन भएअनुसार बुधबार राति गएको, त्यो क्षेत्रमा रेकर्ड भएको (६.६ म्याग्निच्युड)को भूकम्प नेपालको पश्चिम (पोखराभन्दा पश्चिम) क्षेत्रमा अहिलेसम्म गएको सबभन्दा ठूलो भूकम्प हो । अधिकारी भन्नुहुन्छ, ‘२०३७ सालको भूकम्प मापन फरक थियो, त्यो भूकम्प अहिलेको भन्दा ठूलो थियो । २०३७ सालको भूकम्पमा १७० जनाको मृत्यु भएको थियो । एक हजारभन्दा धेरै घर भत्केका थिए । त्यसपछि २०५३ पुस २१ गते बैतडीलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको ७.८ म्याग्निच्युडको भूकम्प छुट्टै ‘टेक्टोनिक प्लेट’मा गएको थियो । त्यसकारण पनि पोखराभन्दा पश्चिम, भारतको देहरादूनसम्मको भूभागमा कुनै पनि समय ठूलो भूकम्प जान सक्ने भूकम्पविद्हरू बताउँछन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?