एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको ताकेता

कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न एमाले सांसदको आग्रह

यज्ञराज पाण्डे
Read Time = 9 mins

काठमाडौं । एमालेका सांसद लक्ष्मी महतो कोहरीको खोजीमा आफू संवेदनशील देखिएको कुरा गृह मन्त्रालयले जनाए पनि उनलाई प्रहरीले अझै पक्रिन सकेको छैन । नयाँ सभामुखको निर्वाचन हुँदै गर्दा गतसाता नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ज्यान मुद्दामा दोषी ठहर गरेका व्यक्तिलाई पक्राउ गर्न गृहमन्त्रीलाई कसले रोकेको छ ? भनी प्रश्न गरेपछि यो मुद्दा बल्झिएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति कटाक्ष गर्दै सांसद खतिवडाको प्रश्न थियो ‘यो सभाहलमा अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेका व्यक्ति पनि उपस्थित छन् । उनलाई पक्राउ गर्न गृहमन्त्रीलाई कसले रोकेको छ ?’

सांसद खतिवडाले सभाहलमा उठाएको प्रश्नले गृहमन्त्रीप्रति यति ठूलो नैतिक दबाब सिर्जना भयो, गृह मन्त्रालयले राति नै एउटा विज्ञप्ति सार्वजनिक गर्नुपर्‍यो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिको सार थियो- ‘कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई पत्र लेखिसकेको छ ।’ गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा कोइरीलाई पक्राउ गर्न सर्कुलर जारी गरेको छ ।

कहाँ छन् त कोइरी ?
अहिले यो विषय सबैका लागि चासोको विषय बनेको छ–कहाँ छन् सांसद कोइरी ? पुस ७ गते चुनाव जितेर आएका नयाँ सांसदहरूलाई शपथ गराउँदा कोइरी नयाँ बानेश्वस्थित संसद् भवनमा उपस्थित थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिँदा पनि उनी संसद् भवनमै उपस्थित थिए । प्रतिनिधिसभाको पहिलो बैठक र प्रधानमन्त्रीले विश्वासको मत लिएको बैठकमा सहभागी भएका एमाले सांसद कोइरी त्यसपछि सभामुखको निर्वाचनको समयमा प्रतिनिधिसभामा पुगेका थिए । सभामुखको चुनावका लागि पनि उनी संसद् भवन पुगेका थिए । तर, नेपाली कांग्रेसका सांसद खतिवडाले प्रश्न उठाएपछि उनी एकाएक संसद् भवनबाट गायव भए । सांसद खतिवडाले फरार सांसद र आफूले प्रधानमन्त्रीलाई सँगै विश्वासको मत दिएको भन्दै प्रश्न उठाएपछि गृहमन्त्री लामिछानले पनि संसद्को रोष्ट्रममा उभिएर आफूले विधि र प्रक्रियाभित्र काम गर्ने र कसैको दबाब स्वीकार नगर्ने जवाफ दिनुभएको थियो ।
अहिले उनी कहाँ छन् ? भन्ने विषयमा गृह मन्त्रालय पनि अनभिज्ञ छ । गृहमन्त्रीले छिट्टै कानुनी दायरामा ल्याउने बताउनुभएको छ । उच्च स्रोतका अनुसार संसद् भवनबाट निस्केका कोहरीले नेपाल छोडेर भारत प्रवेश गरेका छन् ।

के थियो कोइरीमाथिको आरोप ?
महोत्तरी–१ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जितेका कोइरीमाथि मधेश आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई पनि जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न भनेको छ । कोइरीमाथि नेपाल प्रहरीका सई थमन विश्वकर्माको हत्या गरेको आरोप छ । सात वर्षअघि मधेश प्रदेशमा आन्दोलन हुँदा महोत्तरीमा विश्वकर्माको हत्या भएको थियो । घाइते भएर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर विश्वकर्माको हत्या गरिएको भन्दै जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो । यसअघि धनुषा जिल्ला अदालतले १० लाख धरौटीमा उनलाई छोडेको थियो ।

फरार सांसदका विषयमा संवेदनशील छौँ- गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले फरार सांसदका विषयमा गृह मन्त्रालय संवेदनशील भएको बताउनुभएको छ । फरार रहेका नेकपा एमालेका सांसद कोइरीमाथि लक्षित गर्दै मंगलबार प्रतिनिधिसभाको बैठकमा फरार सांसदलाई पक्राउ गर्न गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताउनुभएको हो । गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । नतिजामा ढिलाइ किन भइरहेको भने राज्यका संयन्त्रलाई चलाइएको छ । त्यसलाई ट्रयाकभन्दा बाहिर राखिएको छ ।’
त्यसो त यसअघि पनि सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले आफ्नो भनाइ राख्दै फरार सांसदलाई पक्राउ गर्न सर्कुलर जारी गरेको बताउँदै केही समय पर्खिन आग्रह गर्नुभएको थियो । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको थियो, ‘पुराना ‘फरार’ हरू समातिन्छ्न मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाऊन् भन्ने कुराको हेक्का छ ।’ काम गर्न केही समय लाग्ने भएकाले त्यसका लागि केही समय पर्खिन गृहमन्त्री लामिछानेको अनुरोध थियो ।

लक्ष्मी महतोलाई अपराधीका रूपमा चर्चा नगर्न सांसद महासेठको आग्रह
नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले कानुनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाइदिन आग्रह गर्नुभएको हो । उहाँको प्रश्न थियो, ‘के सांसद लक्ष्मी महतो साँच्चिकै अपराधी हुन् त ? संसद्मा केही माननीयज्यूले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय ग¥यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुप¥यो, होइन भने आरोपमा कुनै सत्यता छैन ।’
देशमा अहिले लक्ष्मी महतोको सर्वत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानुनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने महासेठको धारणा छ । उहाँले भन्नुभयो, ‘म सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ तर कानुनले अपराधी भनेर निर्णय गरेको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?