मापसे गरी सवारी चलाउँदा दुर्घटना, सात जना घाईते

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङमा चालकले मादक पदार्थ सेवन गरी यात्रुबहाक बस चलाउँदा दुर्घटना भएको छ । चालक झापा मेचिनगर नगरपालिका–६ बस्ने ४१ वर्षीय पेमा तामाङले मापसे गरी रात्री बस चलाउँदा दुर्घटना भएको हो ।

मंगलबार झापाको काँकटभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३०८ नम्बरको रात्री बस मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी वहुप्राविधिक शिक्षालय नजिक सडकमा बुधबार बिहान अन्दाजी ८ बजेर १० मिनेटमा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मापसे गरी बस दुर्घटना गराउने चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । काँकडभिट्टाबाट हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको विजुलेसम्म बसलाई अर्का चालक स्ट्रङ राईले चलाएका थिए । त्यहाँबाट चालक तामाङले चलाएर दिक्तेल आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसका चालक झापा मेचिनगर नगरपालिका–७ मेचिनगरका ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी शनिश्चरे नगरपालिका–५ पथरी शनिश्चरेका २९ वर्षीय अमृत पाण्डे, सोही ठाउँका ३५ वर्षीया किशोर लिम्बु, खोटाङ हलेसि तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नर बहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका २५ वर्षीय कुबीर दाहाल, सोही स्थानका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरानराज खतिवडा सामान्य घाईते हुनु भएको छ ।

घाईतेहरुको स्वास्थ्य चौकी नुनथलामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ । बसमा १९ जना सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?