भगवान् रामको मुर्ति बनाउन अयोध्या लैजाने तयारीमा कालीगण्डकीको शिला

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 14 mins

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको छ ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला आज (बुधवार) क्रेनमार्फत शिला निकाली गाडीमा राखेर गलेश्वर लगिएको छ ।

बिहीवार (भोलि) श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापुजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।

हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताउनु भयो । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्” उहाँले भन्नुभयो ।

बेनी नगरपालिकाका नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरी टिपरमा राखेर अयोध्या पठाउन लागिएको बताउनु भयो ।

“अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,” उहाँले भन्नुभयो ।
बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण जनकपुर पुर्याएर हस्तान्तरण गर्ने छ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधीले बताउनु भयाे ।

सूर्यवंशी राजा र भारतीय राजनीतिको केन्द्र हो अयोध्या

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आखी झ्याल बनेको छ ।

नील नदीको किनारमा पिरामिडको अस्तित्व नहुदै, युरोपीय सभ्यताको केन्द्रबिन्दु मानिने युनान र रोममा सभ्य संस्कृति स्थापित नभइसकेको अवस्थामा भारतीय सभ्यतालाई विश्वमा चिनाउन सफल भएको साकेत नगरी अयोध्या पछिल्लो समय भारतीय राजनीतिको प्रमख केन्द्रसमेत बनेको थियो ।
नेपाल भारतको सिमानामा पर्ने सुनौलीबाट लगभग दुई शय किलोमिटर टाढा पश्चिममा पर्दछ अयोध्या । सभ्यताको पहिलो किरण सर्वप्रथम अयोध्याबाट नै युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको यहाका सन्त महात्माहरुको भनाइरहेको छ ।

हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । यहा करिव पौने छ लाख जनसंख्या रहेको छ । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम अयोध्याजी कायम गरेको छ । यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र वबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ‘सरयु’  बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो ।

अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता । यो नगर साकेत, कोशल या अवध कहलिने ठूलो भूभाग ओगट्ने राज्यको राजधानी थियो । यो पवित्र प्राचीन सप्तपुरीमध्य पर्दछ । अयोध्या, अवन्ती या उज्जैन, काँची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ ।

अयोध्याको उत्तरतोताद्रीमठस्थित श्री निवास रामानुज संस्कृत महाविद्यालयका प्रध्यापक बालगोपाल मिश्रका अनुसार जुन बखत असभ्य र बर्वर युरोपियनहरु वन वन घुमेर जीवन निर्वाह गर्दथे सोभन्दा धेरै पहिले अयोध्या सभ्यताको शिखरमा थियो ।

मिश्रका अनुसार अयोध्याले मानव जातिलाई मर्यादा, अनुशासन, सदाचार र सत्यनिष्ठाको पाठ सिकाएको छ । अयोध्याले प्राचीन कालदेखि नै चिन्तित र शोकग्रस्त मानवलाई शान्ति र मानसिक स्थिरता प्रदान गर्दै आएको छ । सहनशीलता र शालीनता नै अयोध्याका जग हुन । अहिले पनि शोकले जर्जर, दुखी र मानसिक विसादमा परेका व्यक्तिहरु अयोध्या जान्छन र जीवनको अर्थ थाहा पाउने प्रयास गर्दछन ।
भगवान श्रीरामको जन्मभूमी,शिद्ध महात्माहरुको तपोभूमी र ज्ञानको महासागर मानिने अयोध्या श्रीरामको परमधाम भएपछि उजाड भएको र पछि राजा विक्रमादित्यले अयोध्यालाई पुनः पुर्नजीवित बनाएको इतिहास रहेको छ ।

राजा विक्रमादित्यले नै वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको जिर्णोद्धार गरे । उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए, र बिक्रम सम्बतको सुरुवात गरे । त्यसपछिका केही शताव्दिमा अयोध्याको महत्व झन् बढ्दै गयो र यसको नव निर्माण हुदै रह्यो ।
तर लगभग आठौ शतादिदेखि विदेशी आक्रमणकारीहरुको शिकार हुँदै गयो अयोध्या । शाह फिरोज, मुहम्मद तुगलक, सिकन्दर लोदी, बावर र औरंगजेव आदिले पटक पटक कठोर आक्रमण गर्दा पनि अयोध्याले आफ्नो गरिमालाई जोगाई राख्नु अत्यन्तै आश्चर्यको कुरा हो । भौतिक संरचना तहसनहस होलान, तर जनताका आस्थाका किल्लाहरू जति शक्तिशाली बादशाहले पनि भत्काउन सक्दा रहेनछन । अटल आस्था अजेय हुन्छ भन्ने उदाहरणको रुपमा आफ्नो शिर ठाडो पारेर झन् जीवन्त रुपमा खडा भइरह्यो अयोध्या ।

अयोध्या आश्चर्यजनक ठाउँ हो । अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन्, ती सवै सन्त महात्माका देन हुन । कुनै संरचनामा पनि सरकारको योगदान छैन । मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ भक्तजनले चढाएको दश, बीस, शय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्दछन् ।

सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो । यो भारतको उत्तर प्रदेशको फैजावाद जिल्लामा पर्दछ ।
मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।

सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु–याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए । मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो ।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ । मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ । ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भैरहेको छ ।

सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताउनु भयो । उहाँका अनुसार मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुष समेत राखिनेछ ।

जुन धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ । यसबाट नेपाल भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ । यतिमात्र होइन, राममन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको अयोध्यामा धनुष र कालिगण्डकीको शिलाबाट रामको मुर्ति बनाउने अभियानमा संलग्न पत्रकार रामजी दाहालले बताउनु भयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?