‘साना कर्जा असुलीमा पनि समस्या’

Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले साना कर्जाको किस्ता असुलीमा पनि समस्या देखिन थालेको जनाएका छन् । मंगलबार नेपाल बैंकर्स एसोसिएसनद्वारा आयोजित चालु आर्थिक वर्षको छ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तरक्रियामा बैंकरहरूले यस्तो बताएका हुन् । संघका अध्यक्ष सुनिल केसीले सम्भवतः इतिहासमै पहिलोपटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्थासमेत देखिएको भन्दै हाल साना तथा मझौला कर्जाको समेत ऋण असुल नहुने अवस्था आएको बताउनुभयो ।

चालु आर्थिक वर्षको छ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकमध्ये कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएको छ भने खराब कर्जासमेत बढेर ४.८ प्रतिशत पुगेको छ । संसारभर आर्थिक गतिविधिमा सुस्तताका कारण नेपालमा समेत समस्या देखिएको भन्दै सोही कारण वाणिज्य बैंकहरूको औसत खराब कर्जादर बढे पनि अन्य मुलुकको तुलनामा भने कमै रहेको बताउनुभयो ।

संघका उपाध्यक्ष सन्तोष कोइरालाले हाल देखिएको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै रहेको बताउनुभयो । हाल जग्गा, सहकारीलगायत अन्य व्यवसायमा देखिएको मन्दीको प्रणालीगत प्रभाव बैंकमा पनि पर्न सक्ने भए पनि हालसम्म त्यस्तो समस्या नआएको उहाँको दाबी छ । ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको छ भने वाणिज्य बैंकहरूको नाफा गत चार आर्थिक वर्षको भन्दा कम देखिएको छ । बैंकहरूले नाफामात्र कमाएको आरोप लाग्ने गरेको भए पनि यस्तो नभएको बैंकरको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?