कांग्रेसप्रति ओलीको टिप्पणी- विचारको बहस हुँदैन, सरकार नै लोकतन्त्र र विकास

नयाँ पार्टी बेमौसमी भएको टिप्पणी

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चर्को आलोचना गर्नुभएको छ । कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गर्नुभयो । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागले आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको विकासका लागि कुनै छलफल नहुने गरेको बताउनुभयो । कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको उहाँको टिप्पणी छ । कांग्रेस महाधिवेशनले समेत स्पष्ट विचार तय गर्न नसकेको आरोप लगाउनुभयो । ‘नेपाली कांग्रेसको एउटा मात्रै सूत्र छ- आफू सरकारमा हुनुपर्छ । त्यही हो लोकतन्त्र र विकास,’ उहाँले भन्नुभयो, ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक ठान्दैन । कांग्रेसले महाधिवेशन ग¥यो । कुनै दस्तावेज पेस भएन । देशको अवस्थाको बारेमा चर्चा भएन ।’ ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको विकास गर्न नसक्ने र अर्थतन्त्रसमेत ध्वस्त पारेको बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ उदाएका पार्टीतर्फ संकेत गर्दै उनीहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको टिप्पणी गर्नुभयो । मौसमी कुरा गर्ने र सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरू स्थायी रूपमा रहन नसक्ने भन्दै उनीहरूको राजनीति टिकाउ नहुने ठोकुवा गर्नुभयो । ‘अरू पार्टी केका लागि खुलेका हुन् ? कतिवटा पार्टीलाई केका लागि खुलेका हुन् भन्ने नै थाहा हुँदैन,’ उहाँले भन्नुभयो, ‘समाजमा असन्तुष्टि बढ्यो । त्यसलाई उपयोग गरेर जाने मौसमी खालका कुराहरूबाट ह्वात्त आउँछन् । गन्तव्य हुँदैन । ती स्थायी हुँदैनन् । एउटा भुल्को मात्रै हो । भुल्कोले कुनै गन्तव्यमा पुर्‍याउँदैन ।’ गत निर्वाचनमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी ‘अनपेक्षित रूपमा’ उदाएको थियो । रास्वपा संसद्को चौथो दल बनेको छ । रास्वपासँगै गत निर्वाचनमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि उदाएका थिए ।

‘समृद्ध नेपाल : सुखी नेपाली’को गन्तव्य सफल पार्न केन्द्रित हुन नेता-कार्यकर्तालाई निर्देशन
अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुँडी खाने पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘यो दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँडी खाने, मिलिजुली खाने पार्टी होइन । विचार, उद्देश्यमा संगठित हुने हो,’ उहाँले भन्नुभयो, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ त्यसमा केन्द्रित हुन्छौँ । हाम्रा निम्ति वैयक्तिक प्रश्नहरू गौण हुन्छन् ।’ अध्यक्ष ओलीले सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता-कार्यकर्तालाई सचेत गराउनुभयो ।

कांग्रेस नेता कोइरालाको जवाफ- प्रतिपक्षले जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रतिपक्षीले जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य राख्नुपर्ने बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेल भइरहेको बताइरहेका बेला कांग्रेस नेता कोइरालाले अब सदनमा आफूहरू प्रमुख विपक्षी भएको र सरकार ढाल्न लाग्ने जवाफ दिनुभएको हो ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रतिपक्षले सरकार ढाल्ने बनाउने खेल विश्वमै हुने स्वाभाविक खेल भएको टिप्पणी गर्नुभयो । ‘हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षकै भूमिका हामी खेल्छौँ र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो,’ उहाँले भन्नुभयो, ‘हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ । विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको ।’ कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताउनुभयो । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवार दिने र त्यसलाई सर्वस्वीकार्य बनाउने आफूहरूको प्रयास रहने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?