कोहलपुरमा खुल्ला मञ्च निर्माण गरिने

हिमालय टाइम्स
Read Time = 7 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर–११ न्युरोडस्थित मैदानमा खुल्ला मञ्च निर्माण गरिने भएको छ । नगर विकास समितिले ठेक्का प्रक्रियामार्फत मञ्च निर्माण गरिने भएको हो ।

मञ्च निर्माणका लागि ठेक्का आव्हान भएर सम्झौतासमेत भइसकेको छ । नगर विकास समितिका अनुसार ९९ लाख रुपैयाँ लागतमा भन्ने मञ्च निर्माणको लागि गत मंसिर ११ गते नगर विकास समिति र ठेकदार कम्पनीबीच सम्झौता भएको थिो । इन्जिनियर विराज अर्यालले मञ्च निर्माणका लागि गत भदौ महिनामा ठेक्का आह्वान गरिएको बताउनुभयो । ठेक्का प्रक्रियामार्फत मञ्च निर्माण जिम्मा सुप्रिम निर्माण सेवा वीरेन्द्रनगर ११, सुर्खेतले पाएको छ ।

निर्माण कम्पनीका साइड इन्चार्ज चन्द्र प्रकाश खड्का सम्झौता भएपनि विवादका कारण अझै काम सुरु हुन नसकेको बताउँछन् । असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर मञ्च निर्माण गर्ने जग्गा विवादका कारण सम्झौता भएको दुईमहिना बितिसक्दासमेत काम सुरु सकेको छैन । डिभिजन वन कार्यालयले लामो समयदेखि भोगचलन गरिरहेको जग्गामा निर्माण कार्य सुरु गर्न लाग्दा अवरोध सिर्जना भएको छ । लामो समयदेखि कार्यालयले भोगचलन गर्दै आएको भन्दै कार्यालयले निर्माण कार्यमा अवरोध सिर्जना गरेको हो । बुधबार निर्माण कार्य सुरु गर्नका लागि निर्माण व्यवसायी र नगर विकास समिति डोजरसहित त्यहाँ पुगेका थिए । तर, वन कार्यालयका कर्मचारीहरुले निर्माण कार्यमा अवरोध पु¥याए । सोही कोहलपुर नगर प्रहरीले बल प्रयोग गरेर काम गर्न खोजेपनि सफल हुन सकेन ।

डिभिजन वन कार्यालय कोहलपुरका प्रमुख लालबहादुर चौधरीका अनुसार उक्त जग्गा वन कार्यालयले २०२२ सालदेखि भोगचलन र संरक्षण गर्दै आएको छ । वन कार्यालयले उक्त जग्गा नगर विकासको मातहतमा रहेको कागज उपलब्ध गराउन भनेपनि उपलब्ध नभएको उहाँले बताउनुभयो । उहाँले उल्टै कोहलपुर नगरपालिकाले अहिले निर्माण गरिरहेको प्रशासनिक जमिनमा जंगल क्षेत्र र ऐलानी जग्गामा निर्माण भइरहेको भन्दै त्यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

‘हामी २०२२ सालदेखि यहाँ बस्दै आएका छौँ । हामी दुवै सरकारी निकाय हो । विवाद नगरौ । समन्वयमा काम गरौ भनेको छु । तर मेयर साबले समन्वय गर्नुभएन ।’, उहाँले भन्नुभयो । उक्त जग्गा १० धुर क्षेत्रफलमा फैलिएको छ । सरकारी कागजातमा गोबरमेन्ट सेक्टर उल्लेख गरिएको उनको दाबी छ । त्यहाँ रहेका रुखहरु काट्न समेत इलाका वन कार्यालयले अवरोध गरिरहेको छ । नगर विकास समितिले आफ्नो नाममा भएको जग्गाको कित्ता नम्बर र क्षेत्रफल खुलाउनुपर्ने उहाँको माग थियो ।

इता नगर विकास समितिले त्यहाँ रहेको जग्गा खाली गर्नको लागि वन कार्यालयलाई पटकपटक लिखित रुपमा पत्र लेखेको पाइएको छ । जग्गा खाली गर्नको लागि पछिल्लो पटक पुष ९ गते नगर विकास समितिले पत्र लेखेको थियो । नगर प्रमुख एंव नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत एंव नगर विकास समितिका सदस्य सचिव टीकाराम ढकालद्धारा हस्ताक्षरित पत्रमा नगर विकास समितिको नाममा दर्ता श्रेस्ता कायम भएको र नियमित मालपोत कर तिरिरहेको कित्ता नम्बर ३९६ प्लट नम्बर ८७३ को खुल्ला क्षेत्र ( गोवरमेन्ट सेक्टर २) मा जग्गा लामो समयदेखि प्रयोग÷ अतिक्रमण गरेको पाइएको उल्लेख गरिएको छ ।

नगर विकास समितिले उक्त स्थानमा खुल्ला मञ्च निर्माण गर्ने र सोको लागि प्रक्रिया समेत अघि बढिसकेकोले उक्त तारबार गरेको जग्गा नगर विकाससँग समन्वय गरी सात दिनभित्र खाली गराउन अनुरोध गरिएको छ । उक्त पत्रमै डिभिजन वन कार्यालयलाई आफ्नो नाममा दर्ता श्रेस्ता वा भोगाधिकार प्रमाणपत्र पेश गर्न पत्रचार गरिएकोमा प्राप्त नभएको दाबी गरिएको छ । साथै उक्त पत्र समन्वय र सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँके र सव डिभिजन कार्यालयलाई बोधार्थ दिइएको छ । ढकालले नगर विकास समिति जग्गा खाली गर्नको लागि दुईपटक लिखित पत्राचार गरिएको बताउनुभयो । नगर विकास समितिको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जामा कित्ता नम्बर ३९६ मा वि.स.२०५३ असार ९ गते अदालतबाट फैसला भएको उल्लेख छ । त्यसमा जग्गाधनीको एकलौटी हिस्सा हुनेसमेत उल्लेख छ । उक्त जग्गाको क्षेत्रफल २३–१८–१८० (विघा ०.२० –२० –४) रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?