मधेश प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाइने : मुख्यमन्त्री यादव

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने बताउनु भएको छ ।

प्रदेशमा रहेको भ्रष्टाचारलाई निर्मूल नगरेसम्म प्रदेशको विकास हुन नसक्ने भएको भ्रष्टाचार निर्मूल गर्ने आफनो पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

बाराको सदरमुकाम कलैया १ मा विहिवार कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै उहाँले मधेश प्रदेशको विकासमा भ्रष्टाचार नै सबैभन्दा ठूलो बाधक रहेकोले यसलाई निर्मूल नगरेसम्म सोचे जस्तो विकास हुन नसक्ने बताउनुभयो ।

नगरसभागृह शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री यादवले प्रदेशको समग्र र एकरुपता विकासको लागि हरेक जिल्लाको सदरमुकाम भएको पालिकालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माण कार्य अगाडी बढाइने बताउनुभयो । विकास निर्माणको काममा भ्रष्टकर्मचारीहरु बाधक हुँदै आएका छन् । त्यसता कर्मचारीहरुलाई समेत दण्डित गर्न आफू पछि नहटने उहाँले बताउनु भयो ।

सदरमुकामको विकास भएसँगै हरेक जिल्लाका अरु पालिकाहरुलाई समेत सदरमुकामसँग जोड्दै क्रमिक रुपमा विकास गरिने उहाँले बताउनु भयाे । सबै कर्मचारीहरु भ्रष्ट नहुने भ्रष्टलाई सजाय र राम्रो काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।

प्रदेशमा हुने हरेक कामको गतिविधि जान्नको लागि आफूले सचिव स्तरीय पाँच सदस्यीय टोली गठन गरेको उहाँले भन्नुभयो,‘जुन टोलीले कामको बारेमा मलाई जानकारी गराउने छन् । कलैयामा निर्माण हुन लागेको नगरसभागृहमा आफूले प्रदेशबाट सक्दो सहयोग गर्ने र आफू कुनै एकदलको मुख्यमन्त्री नभई सबैको साझा मुख्यमन्त्री भएको र यो प्रदेशमा विपक्षी कोही पनि नरहेको उहाँले जानकारी दिनुभयो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै बारा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद अच्युत मैनालीले बाराको सदरमुकाम कलैया सुख्खामा धुलाम्य र वर्षामा हिलाम्य रहने गरेको बताउनुभयो । कलैया मानमत मटिअर्वा सडकखण्डको ३ किलोमीटर सडक अहिलेसम्म निर्माण हुन नसकेको र यसको बारेमा आफूले पहल गर्ने बताउनुभयो ।

उपमहानगरपालिकाले भ्याट सहित ५ करोड ६० लाख ९५ हजार ३ सय ८८ रुपैयाँको लागतमा साहु कन्स्ट्रक्सन रौतहटलाई ठेक्का दिएको जानकारी गराइएको छ । यो भवनको निर्माण २०८० जेठ मसान्त भित्रमा सम्पन्न हुने गरि जिम्मा दिइएको कलैया उपमहानगरपालिकाले जानकारी दिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद कृष्ण श्रेष्ठा (किसान), संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वसभासद पारस साह, बारा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य महम्मद समिर, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, १६ वटै पालिकाका पालिका प्रमुखहरु लगायतकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नाथु साहको रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?