‘सन्दीप लामिछानेलाई टोलीमा फर्काउने बारे कानून अनुसार अघि बढ्ने’

Read Time = 5 mins

काठमाडौं । साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटीपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ ।

बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटीपूर्ण रहेको बताउनुभएको हो । चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गर्नुभयो । तर क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पस्टोक्तिसमेत उहाँले दिनुभयो ।

अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौता अनुरुप काम नहुनु दुखद् भएको बताउनु भयो । सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि स्वीकार गर्नुभयो । सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरामा विभिन्न कारण विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताउनु भयो ।

अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक/दुई महिना भित्र नै पाउने जानकारी दिनुभयो । उहाँले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताउनु भयो । यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोटसले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताउनु भयो । प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनैपनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताउनु भयो । उहाँले टि–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताउनु भयो । नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरुसहित १० जनाबिरुद्ध मुद्दा अगाडि बढाएको छ ।

यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने टोलीमा फर्किने विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताउनु भयो । अध्यक्ष चन्दले आईसिसीसँग सन्दीपको बारेमा छलफल भएको र नेपालको विद्यमान कानून अनुसार अगाडि बढ्न सुुझाव दिएको बताउनु भयो ।

सन्दीपबिरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्वन गरेको थियो । सन्दीप गत असोज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर पुस २९ मा रिहा भएका थिए । थुनामुक्त भएपनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन । उनीबिरुद्धको मुद्दा अझै विचारधिन छ । यद्यपि सन्दीप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अभ्यास गर्न थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?