नेपाली सेनामा कार्यरत अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्रको पदोन्नति

रासस
Read Time = 3 mins

काठमाडौं । नेपाली सेनामा कार्यरत तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा पदोन्नति हुनुभएको छ । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई पदोन्नतिको प्रमाणपत्र पठाएको हो । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको समय लागेको उहाँले जानकारी दिनुभयो ।

तेक्वान्दोको र्‍यांकिङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाई प्राप्त गरेको अंकका आधारमा ढकालको पदोन्नति भएको हो । तेस्रोबाट दोस्रो र्‍यांकिङमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्छ । चार वर्षको अवधिमा उहाँले आठवटा वल्र्ड ¥यांकिङ प्रतियोगिता र दुई रिफ्रेसर कोर्समा सहभागिता जनाई १० अंक प्राप्त गर्नुभएको छ ।

नेपाली तेक्वान्दो खेलाडी ढकालले चीनको युसी शहरमा सम्पन्न १०४औँ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारबाट अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउनुभएको थियो । त्रिभुवन आर्मीमा आबद्ध उहाँले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थाल्नुभएका ढकाल चौथो डान हुनुहुन्छ । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उहाँ पहिलो हुनुहुन्छ ।

अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्छ । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।
ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकसमेत घोषित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?