भारतले गहुँ रोक्दा नेपालमा मैदा र आँटा अभाव

Read Time = 3 mins

काठमाडौं । नेपाल मैदा उद्योग संघले भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण नेपाली बजारमा मैदा/आँटाको चरम अभाव भएको जनाएको छ । मैदा/आँटा कच्चा पदार्थका रूपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी÷नान, भोजनालय, रेष्टुरेण्टलगायत ठूला–साना सबै होटललाई मागअनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएको हो । आमउपभोक्ताको दैनिक खाद्यान्नका रूपमा चामलको सट्टा स्वास्थ्यलाई ध्यानमा राखी रोटी खाने बानी विकास भएकाले धेरै उपभोक्ता प्रभावित भएको संघको भनाइ छ ।

भारत सरकारको प्रतिबन्धपछि मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेकाले मैदा/आँटाको मूल्य बढ्दा उपभोक्तालगायत सबै क्षेत्र प्रभावित भएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । संघका अनुसार हाल बजारमा गहुँ नै छैन, जसका कारण देशभरका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योग पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्था छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन ।

विद्यमान विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने संघको माग छ । मैदा उद्योग कृषिमा आधारित उद्योगमध्ये नेपालमा आत्मनिर्भर भइसकेको उद्योग भन्दै संघले भारत सरकारसँग कुरा गरी चाँडोभन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन आग्रह गरेको छ । अहिले प्राप्त ५० हजार मेट्रिकटन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्ने र त्यसपछि फेरि हाहाकार मच्चिन सक्ने संघले जनाएको छ । नेपालमा गहुँको सिजन आउन अझ तीन महिना बाँकी छ ।

संघका अनुसार बाँकी तीन महिनामा ३८ उद्योगका लागि करिब दुई लाख मेट्रिकटन गहुँ आवश्यक पर्छ । गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाइदा पुग्ने भन्दै संघतर्फबाट महासचिव राधेश्याम अग्रवालले मैदा आयातको सट्टा गहुँ आयात गर्न तत्काल प्रक्रिया अघि बढाइदिनसमेत सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?