खोटाङ । खोटाङको साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता शिविरमार्फत् वितरण गरेको छ । बैंकिङ प्रणालीमार्फत् वितरण गरिएको सामाजिक सुरक्षा भत्ता ४८१ जनाले ५५ लाख २९ हजार पाँच सय रुपैयाँ बुझेका छन् । गाउँपालिकाले वर्षको तीनपटक शिविरमार्फत् प्रत्येक वडा र टोलहरूमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । शारीरिकरूपमा अशक्त भई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीको सहजताका लागि साकेला गाउँपालिका र नेपाल एसबिआई बैंकबीच भएको सम्झौताअनुसार वडा–वडामा शिविर सञ्चालन गरेर रकम वितरण गर्ने गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण शिविर माघ ३ गतेदेखि खिदिमाबाट सुरु गरिएको थियो । उक्त दिन खिदिमाका ७६ जना लाभग्राहीलाई सात लाख पाँच सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । माघ ४ गते मात्तिम ४ नम्बर वडा कार्यालयमा ६१ जना लाभग्राहीहरूका लागि ६ लाख ५४ हजार र माघ ५ गते ५ नम्बर वडा मात्तिमबिताबाट ९६ जना लाभग्राहीहरूका लागि १० लाख ९४ हजार रुपैयाँ भत्ता वितरण गरिएको थियो ।
माघ ६ गते रतन्छामा १०९ जना लाभग्राहीहरूका लागि १२ लाख ५९ हजार, माघ ९ गते बाँझेच्यानडाँडाका ७७ जना लाभग्राहीहरूका लागि आठ लाख ७१ हजार र सोही वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा माघ १० गते सञ्चालन गरिएको शिविरमा ७१ जना लाभग्राहीहरूका लागि सात लाख ५१ हजार रुपैयाँ भत्ता बाँडिएको थियो ।
शिविरस्थलमा उपस्थित हुन नसक्ने लाभग्राहीहरूका लागि भने नजिकै रहेको नेपाल एसबिआई बैंकबाटै भत्ता झिक्न सकिने व्यवस्था मिलाइएको छ । उनीहरूले देशभरिका कुनै पनि शाखाबाट आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता रकम बुझ्न सक्नेछन् । वडाबाटै सामाजिक सुरक्षा भत्ता सहजरूपमा प्राप्त हुने भएपछि लाभग्राहीहरू खुसी छन् । यसो गर्दा घण्टौं लगाएर बैंक पुगेर लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने गाउँमै सेवा लिन पाएपछि वृद्ध अवस्थाका नागरिकलाई सहज भएको बाँझेच्यानडाँडाका ज्येष्ठ नागरिक ललितबहादुर देउजाले बताउनुभयो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बुझ्ने साकेलाका लाभग्राहीहरू एक हजार ३०३ जना छन् । उनीहरूका लागि एक करोड ३० लाख २८ हजार ६२६ रुपैयाँ निकासा भएको थियो । साकेला गाउँपालिकाले आव २०७७/०७८ को दोस्रो चौमासिकबाट पूर्णरूपमा बैंकिङ प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको