निर्वाचन ऐन संशोधन प्रस्ताव संसद्‌मा पेस गर्ने तयारीमा आयोग

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेस गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानुन लिएर संसद्मा जाने तयारी गरिएको बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औँल्याउँदै त्यसको संशोधनलाई आयोगले अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

२०७४ सालको निर्वाचनपछि (पाँच वर्षअघि) आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटामा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभारको रूपमा रहेको स्पष्ट पार्नुभयो । त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरूको योजना रहेको उहाँको भनाइ थियो ।

आयुक्त थपलियाले भन्नुभयो, ‘हामी यही संसद्मा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौँ । त्यसकारण तपाईंहरूसँगको यो बसाइ र त्यसपछिका सुधारका कुराहरू पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौँ । लिएर गएका कुराहरू ल्याउनका निम्ति पनि फेरि प्रयत्न गर्छौं । पहिला पठाउने हो । अनि ल्याउन पनि प्रयत्न गर्नुपर्छ । त्यसका निम्ति पनि हामी साझा प्रयत्न गर्छौैं । र, ऐन, नियममा आइसकेका कुराहरूलाई पनि व्यवस्थित गर्दै जान्छौँ । हामी अब तपाईंहरूसँगै बसेर अबको साढे दुई वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईंहरूलाई बताउन चाहन्छु । निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कतिवटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ । तीमध्ये ८२ वटा कुरा चाहिँ ऐनमै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दाबी गर्दै विभिन्न संस्थाहरूले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औँल्याएकोे आधारमा सुधारका अन्य कार्ययोजनाहरू पनि तय हुँदै जाने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?