प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन

नारायण भण्डारी
Read Time = 4 mins

काठमाडौं । गृह मन्त्रालयले आत्मदाहबाट मृत्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको हो ।

आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिएको मन्त्रालयले जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । आचार्यको निधनपछि कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर बुधबार अपरान्ह उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उहाँका परिवारका सदस्यहरूलाई भेट्नुभएको थियो ।

भेटका क्रममा परिवारका समस्यामा सरकारसँगै गरेको र सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने बताउनुभएको थियो । इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गर्नुभएको थियो । लगत्तै कीर्तिपुर बर्न अस्पताल पु¥याइएका उहाँको बुधबार बिहान मृत्यु भएको थियो ।

आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी
मंगलबार संसद् भवनअगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । इलाम सूर्योदय नगरपालिका–११ का आचार्यले मंगलबार आत्मदाह गर्नुअगाडि फेसबुक स्टाटस लेख्नुभएको थियो । उहाँले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्थाविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ । आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिनुभएको हो ।

आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी आइपुगेको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रूपमा डुबेको स्टाटसमा आरोप लगाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?