काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिको निर्वाचनमा सर्वसहमति खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबारदेखि बसेको स्थायी समिति बैठकमा नेताहरूले राष्ट्रपति पदमा सबै दललाई स्वीकार हुने साझा उम्मेदवार अघि सार्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने मत राखेका छन् । संसद्लाई पाँच वर्ष टिकाउन र संविधानको रक्षा गर्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको सचिव देवेन्द्र पौडेलले बताउनुभयो । राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरूप साझा व्यक्तित्वलाई अघि सार्न कोसिस हुने उहाँको भनाइ छ ।
‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित जाने भनेका छौँ । राष्ट्रपति साझा पद हो । साझा पदमा सबैले सम्मान गर्ने साझा व्यक्तित्व आएको राम्रो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति कांग्रेस वा एमाले कसैलाई बाइपास गरेर हुँदैन । साझा व्यक्ति छानौँ भन्ने हो । प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै साझा रूपमा चुन्नुपर्छ । संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता छ ।’
ओलीसँग अध्यक्ष प्रचण्डको असन्तुष्टि
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टिसमेत जनाउनुभयो । बैठकमा बिफ्रिङ गर्ने क्रममा उहाँले ओलीप्रति असहमति प्रकट गर्नुभएको हो । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ओलीले संसद् विघटनको विषय संसद् प्रवेश गराएर सहमति पालना नगरेको अध्यक्ष प्रचण्डको असन्तुष्टि थियो । ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ । विगतका कुरा सार्वजनिक रूपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन,’ अध्यक्ष प्रचण्डको बिफ्रिङ उद्धृत गर्दै ती पदाधिकारीले भन्नुभयो, ‘हामीले संसद् विघटनको विषयमा नबोल्ने भनेका थियौँ ।’ उहाँले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने बताउनुभएको थियो । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गर्नुभएको थियो ।
राष्ट्रपतिमा एमालेले दाबी गर्दै आएको छ भने कांग्रेस पनि आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चुनावका विषयमा नेताहरूको धारणा माग गर्नुभएको छ । राष्ट्रपति निर्वाचनमा पार्टीले लिने निर्णयबारे अध्यक्ष प्रचण्डले नेताहरूको धारणा माग्नुभएको हो ।
नेसपासँग छिट्टै एकता
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच छिट्टै एकता हुने भएको छ । पार्टीको नाम र चुनाव चिन्हमा सहमति भएसँगै दुई पार्टीबीच एकता हुने माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । बिहीबारको स्थायी समिति बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । ‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अब धेरै लामो समयसम्म लम्ब्याउनु हुँदैन भन्ने छ । धेरै कुरा अघि बढाइसकेका छौँ । पार्टीको नाम र चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ । छिट्टै एकता हुन्छ ।’ तर, नेकपा (एकीकृत समाजवादी)सँगको एकता अगाडि बढी नसकेको पौडेलले बताउनुभयो । विचार मिल्नेहरू एकतामा जानुको विकल्प नरहेको उहाँको भनाइ छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको